बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन

बिहीबार, २५ मङ्सिर २०८२, ०० : ३४
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • कुलमान घिसिङले जेनजी आन्दोलनबाट क्षति भएका संरचना बनाउन निर्देशन दिएका छन्।
  • उनले रुग्ण आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न पनि भने।
  • सचिव सिग्देलले निर्माणस्थलको नियमित अनुगमन गर्न आग्रह गरे।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

सहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा उनले भने, “भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको निर्माण र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुहोला ।”

मन्त्री घिसिङले वर्षौँदेखि ठेक्का लिएर रुग्ण बनाइएका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिए । उनले भने, “अनावश्यक विवाद नगरौँ, निर्माण व्यवसायी सम्पर्कमा आएको भन्दै नबसौँ, काम गर्ने सुनिश्चितता खोजौँ, हाम्रो तर्फबाट गर्नुपर्ने निर्णय नगर्ने अनि निर्माण व्यवसायीले काम गरेन भनेर बस्ने छुट कसैलाई छैन ।”

मन्त्रालयका सचिव गोपाल सिग्देलले रुग्ण ठेक्काका निर्माण व्यवसायी काममा फर्किएको बताइए पनि निर्माणस्थलमा काम भए नभएको नियमित अनुगमन गर्न अनुरोध गरे । बैठकमा सहरी विकास मातहत रहेका दुई विभाग र पाँच निकायका चालु आवको चार महिनामा बजेट कार्यान्वयनको अवस्था, समस्यालगायतका विषयमा समीक्षा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप