धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’
सारांश
- बाँकेको डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह मजार धार्मिक सद्भावको केन्द्र बनेको छ।
- यहाँ हिन्दू र मुस्लिम समुदायका मानिसहरू मिलेर बाबाको सम्झनामा मनाइने मेलामा सहभागी हुन्छन्।
- स्थानीय नेताहरूका अनुसार, यो मेला सबै धर्म र जातजातिका मानिसहरूको साझा आस्थाको केन्द्र हो।
बाँके। यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ ।
कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दु र मुस्लिम समुदायका हजारौँ मानिसले एकसाथ मनोकाङ्क्षा पूरा होस् भनी वर माग्ने गरेका छन् ।
डुडुवा गाउँपालिकामा हिन्दु र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । धार्मिक आस्था फरक भए पनि दुवै समुदायका मानिसले मजारमा सँगसँगै पूजाआजा गर्नु र मनोकाङ्क्षासहित वर माग्नु यहाँको विशेष परम्परा बनेको गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले बताए ।
“कम्मर शाह मजारमा हिन्दु–मुस्लिमलगायत सबै धर्म र जातजातिका मानिसले आआफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यो मेला धार्मिक सद्भावको नमुना बन्दै आएको छ”, उहाँले भने, “यहाँ धार्मिक र जातीयलगायत कुनै किसिमको भेदभाव छैन, संरक्षण समिति र व्यवस्थापन समितिमा सबै धर्म र जातजातिका स्थानीयको प्रतिनिधित्व छ ।”
मेलामा सबै धर्ममा आस्था राख्नेले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्त्व रहेको छ । मजार ब्यवस्थापन समितिका अध्यक्ष सगिर खाँले हिन्दु, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेको बताए । “कम्मर बाबा सिद्धिप्राप्त मुस्लिम बाबा हुनुहुन्छ । उहाँको सम्झनामा बनाइएको मजारमा आशीर्वाद मागेमा प्राप्त हुन्छ भन्ने जनविश्वास छ । त्यसैले हिन्दु, मुस्लिमलगायत सबै धर्मावलम्बीहरूको मेलामा उत्तिकै भीड छ”, उनले भने ।
कम्मर शाह बाबाले जीवित हुँदासम्म सबै मानव जातिको कल्याणका लागि काम गरेको र कुनै धर्म तथा सम्प्रदाय विशेष नहेरेका कारण वर्षौँदेखि सबैको साझा आस्थाको केन्द्र बन्दै आएको स्थानीय अगुवा शकील खानले बताए ।
जिल्लाका सबै धर्ममा आस्था राख्नेहरूले सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा डम्बर बुढाथोकीले बताए । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि मेला महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण