शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पूर्वाधार

दैनिक पाँच घण्टा बन्द गरेर विस्तार भइरहेको नागढुंगा–मुग्लिन सडक, कहिले बन्छ ?

सोमबार, २९ मङ्सिर २०८२, ०७ : ३०
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • नागढुंगा-मुग्लिन सडक विस्तारको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन, तर केही खण्डमा प्रगति देखिएको छ।
  • सडक विस्तार तीन प्याकेजमा विभाजन गरिएको छ, जसमा नागढुंगा-नौबिसे खण्डमा ८० प्रतिशत प्रगति भएको छ।
  • नौबिसे-मलेखु खण्डमा ४६ प्रतिशत र मलेखु-मुग्लिन खण्डमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ, म्याद थपिने सम्भावना।

काठमाडौँ । संघीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य ‘लाइफलाइन’ नागढुंगा–मुग्लिन सडक विस्तारको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । 

विश्व बैंकको सहुलियतपूर्ण ऋणमा तीन प्याकेजमा भइरहेको निर्माणमध्ये नागढुंगा–नौबिसे खण्डमा ८० प्रतिशत प्रगति देखिए पनि अन्य दुई प्याकेजको काम सुस्त छ । 

नागढुंगा मुग्लिन सडक करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन वटा प्याकेज छुट्ट्याएर स्तरोन्नति गरिँदै छ । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन भनी छुट्ट्याइएको छ । 

पहिलो प्याकेज नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ । तीन प्याकेजमध्ये पहिलो र दोस्रो नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्ड गजुरी धादिङअन्तर्गत निर्माणको चरणमा छ । तेस्रो प्याकेज नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनअन्तर्गत निर्माणाधीन छ ।

यो सडकका तीनवटै प्याकेज लक्ष्यअनुसार निर्माण सम्पन्न हुन सकेका छैनन् । यसमध्ये पनि तेस्रो प्याकेज अर्थात् पश्चिम खण्डको म्याद थप गर्ने तयारी भइरहेको छ । दैनिक १५ हजारभन्दा बढी सवारी ओहोरदोहोर गर्ने यो सडक समयमा निर्माण हुन नसक्दा वर्षौँदेखि यात्रुलाई सास्ती भइरहेको छ । सरकार भने सडक निर्माणमा ढिलासुस्ती गरिरहेको छ । 

  • नागढुंगा–नौबिसे ८० प्रतिशत

नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको पहिलो प्याकेजमा कामले गति लिए पनि झ्याप्ले खोलाको समस्याले काम थपिएको नागढुंगा–मुग्लिन सडक योजन पूर्वी खण्डले जनाएको छ । यसअघि नै ८५ प्रतिशत भौतिक प्रगति पुगेको यो प्याकेज झ्याप्ले खोलाको काम थप भए पछि हाल भौति प्रगति ८० प्रतिशत मानिएको छ । 

अहिले निर्माण सिजन सुरु भएसँगै आयोजनाले कामलाई तीव्रता दिएको छ । निर्माण कार्यलाई सहज बनाउन हाल सडकमा निश्चित समय सवारी रोकेर काम गरिरहेको छ । पुस १ गतेसम्मका लागि दुई ठाउँमा सडक बन्द गरेर काम भइरहेको छ ।

यो े प्याकेज १२.२६ किलोमिटर सडक हो । यो खण्ड १ अर्ब ३० करोड रुपैयाँ लागतमा जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते २४ महिनाभित्र स्तरोन्नति सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर डेढ वर्षपछि मात्रै निर्माण थालिएको थियो । २०८१ जेठ २८ गते सक्नुपर्नेमा नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो । उक्त म्यादमा नसकिएपछि दोस्रोपटक २०८२ साउन १० गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर सो अवधिमा सम्पन्न हुन सकेन र आगामी फागुनसम्म म्याद थप गरिएको थियो । 

यो प्याकेजमा शतप्रतिशत सडकमा पहिलो लेयरको कालोपत्र सकिएको र दोस्रो लेयरको कालोपत्रे काम भइरहेको पूर्वी खण्डका आयोजना प्रमुख केशव ओझाले बताएका छन् । उनका अनुसार एक/दुई दिनभित्र दोस्रो तहको कालोपत्रेको काम पूर्ण रूपमा सम्पन्न हुने उनले बताए । 

‘अहिले सिजनको काम सुरु भएको छ, मङ्सिर भरिमा दोस्रो तहको कालोपत्रे सकिन्छ,’ ओझाले भने, ‘त्यसपछि तेस्रो तहको कालोपत्रे, सडक सुरक्षा र रङरोगनको काम मात्र बाँकी रहनेछ ।’ यसका साथै खानी खोलामा निर्माणाधीन आकासे पुल सम्पन्न भएपछि यो प्याकेजको मुख्य काम सकिनेछ । माथिल्लो प्याकेजको म्याद आगामी फागुनसम्म रहेको र अहिलेकै गतिमा काम भए तोकिएको समयमै सम्पन्न हुने ओझाको दाबी छ ।

  • नौबिसे–मलेखुसम्म खण्ड ४६ प्रतिशत प्रगति

नौबिसेदेखि मलेखुसम्म दोस्रो प्याकेजमा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको छ । 

प्रमुख ओझाका अनुसार गत असारसम्म यो खण्डमा १५ किलोमिटर सडकको पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । अहिले तल्लो खण्डमा कालोपत्रेका लागि बेस तयार गर्ने, ग्राभेल गर्ने, टेवा पर्खाल लगाउने र भिर काट्ने कामहरू सँगसँगै भइरहेका छन् । गल्छी आसपासमा थोरै कालोपत्रे सुरु भए पनि मुख्य रूपमा अहिले स्ट्रक्चर निर्माणमै जोड दिइएको छ ।

सडक विस्तारसँगै पुल निर्माणको काम पनि भइरहेको छ । यो खण्डमा पर्ने १३ वटा पुलमध्ये ८ देखि ९ वटा पुलबाट सवारी साधन सञ्चालनमा आइसकेका छन् । यद्यपि, ती पुलहरूमा अन्तिम रङरोगन र वेरिङ कोर्स को काम बाँकी नै छ ।

तर, दुईवटा पुलको निर्माण भने जग्गा विवादका कारण गम्भीर मोडमा पुगेको छ । प्रमुख ओझाका अनुसार फेदी खोला र सोप्याङ खोला को पुल निर्माणमा समस्या देखिएको छ । फेदी खोलामा सामाजिक विवादका कारण काम रोकिएको छ भने सोप्याङ खोलाको जग्गा विवाद सर्वोच्च अदालतसम्म पुगेको छ ।

‘यी दुई पुल बाहेक अन्यत्र काम भइरहेको छ । यदि विवाद समयमै मिल्यो भने यो आर्थिक वर्षको अन्त्य (असार) सम्ममा १३ वटै पुलबाट गाडी गुड्ने बनाउन सकिन्छ,’ ओझाले भने । 

पूर्वी खण्डको दोस्रो प्याकेज नौविसे –मलेखु खण्डको ४३.५४ किलोमिटर विस्तारका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा जेडआईसीजी–शर्मा–लामा जेभीले २०७९ वैशाख १४ गते ३ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर सो अवधिमा नसकिएपछि २०८२ कत्तिकसम्म म्याद थपिएको थियो ।

  • मलेखु-मुग्लिन खण्ड ३५ प्रतिशत, १४ दिनमा म्याद सकिँदै  

नागढुंगा–मुग्लिन सडक योजनाको पश्चिम खण्ड (मलेखु–मुग्लिन) को भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । मलेखुदेखि मुग्लिनसम्म ३८.८६ किलोमिटर लम्बाइको यो सडक आयोजनाको निर्धारित म्याद सकिन लाग्दा निर्माण कार्यलाई तीव्रता दिइएको छ भने म्याद थपको प्रक्रिया पनि अघि बढाइएको जनाएको छ । २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको यो खण्ड कुल ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा शर्मा–जेडआईसीजीले निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ भित्र सक्नुपर्ने म्याद छ ।

तर हालसम्म समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताएका छन् । सुरुवाती चरणमा वन, बिजुलीका पोल सार्ने र डिजाइनमा देखिएका समस्याका कारण काममा केही ढिलाइ भए पनि अहिले निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको उनको भनाइ छ । यी विविध कारण समयमा सम्पन्न हुन नसकेकाले म्याद थपका लागि प्रक्रिया चालेको बताए । 

‘यो खण्डको ठेक्का सम्झौता अनुसारको म्याद यही डिसेम्बर २८ मा सकिँदै छ । तर, सुरुवाती समयमा देखिएका विभिन्न अवरोधहरूका कारण काम समयमै नसकिने भएपछि परामर्शदाताले एक वर्ष म्याद थप गर्न सकिने सुझाव दिएको छ,’ मिश्रले भने, ‘सोहीअनुसार म्याद थपको प्रक्रिया अघि बढेको र करिब एक वर्ष समय थपिने मिश्रले जानकारी दिए ।’

यस खण्डमा निर्माणाधीन ६ वटा पुलमध्ये ४ वटाको ‘डेक स्ल्याब’ ढलानको काम सकिएको छ भने ती पुलमा अब ‘एप्रोच सडक’ (पुल जोड्ने बाटो) को निर्माणको काम मात्र बाँकी छ । बाँकी २ वटा पुलमा पनि पाइल र अबुटमेन्टको काम सुरु भइसकेको उनको भनाइ छ ।

सडक खण्डको करिब डेढ किलोमिटर क्षेत्रमा कालोपत्रे (डीबीएम) को बेस निर्माणको काम भइरहेको छ भने नाला निर्माण, पर्खाल लगाउने तथा स्ट्रक्चरको काम पनि तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ ।

पहिरोको उच्च जोखिम भएको कृष्णभीर क्षेत्रमा सडक सुरक्षा र मर्मतको काम विशेष प्रविधिबाट भइरहेको छ । इन्जिनियर मिश्रका अनुसार वर्षाअघि नै त्यहाँ ‘भर्टिकल एङ्करिङ’ को काम गरिएको थियो । अब ‘स्टपर प्लेट’ लगाएर ‘होराइजन्टल एङ्करिङ’ र टेन्डन फिट गर्ने काम सुरु गर्ने तयारी छ ।

इन्जिनियर मिश्रले भने, ‘अहिलेको भर्टिकल र होराइजन्टल एङ्करिङसहितको नयाँ पर्खाल निर्माण सम्पन्न भएपछि त्यहाँ ‘डेडिकेटेड टु लेन’ सडक बन्नेछ । यो भनेको हालको सडक भन्दा करिब डेढ मिटर फराकिलो हुनेछ ।’ हाल त्यहाँ कंक्रिट ब्लक राखेर यातायात सहज बनाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप