हाम्रो गौरवमय विगतका पदचाप मेटिएर जानु हुँदैन
सारांश
- आधुनिकताको प्रभावले नेपाली समाजमा परम्परा, संस्कृति र मूल्यमान्यताहरूमा ह्रास आएको छ।
- देशप्रेम र आत्मसम्मानका भावनाहरू घट्दै गएको र सामाजिक सद्भावमा कमी आएको देखिन्छ।
- लेखकका अनुसार, पुरानो पुस्ताका पदचापलाई सम्झनामा सीमित नगरी जीवनशैलीको हिस्सा बनाउनुपर्छ।
पदचापका अनेक अर्थ हुन सक्छन् । यसको व्यापक अर्थ पनि लाग्छ । काल परिस्थितिले जन्माएका युगान्तकारी पदचापहरू हुरीले उडाएको धुलोले छोप्दै गएको छ । पिढी–पिढीले टेकेका पाइलाहरू डोबविहीन बन्दै गएका छन् । आस्थाको जाज्वल्यमान संस्कृति,रीतिरिवाजहरू कुहिरोमा मार्गबिहीन भएको कागझैँ भएका छन् ।
कालक्रममा सिर्जना भएका संस्कृति र संस्कारहरू आधुनिकताको भूकम्पले थर्काएर जीर्ण बनेका छन् । धर्म,संस्कृति र आस्थाका दीपहरू हावाले उडाउने झिल्का जस्तै भएको आभास हुन्छ। मूल्य मान्यताका प्रबल खम्बाहरू क्रमिक रूपमा धराशायी हुँदै गएका छन् ।
हाम्रा इतिहासका बाटामा दौडिएका वीरता, साहस र बलिदानका अजम्मरी गाथाहरू कुनै समय गाउँघर, देश तथा परदेशमा गुञ्जायमान थिए । आत्मगौरवका भावनाहरूले मृत भावनाहरूलाई समेत सुषुप्त बनाउँथे । पुर्खाले छोडेका अग्निपथहरू रापिला थिए । तर अहिले ती प्रसङ्गहरू दिनानुदिन गर्दै छायाँमा पर्दै गएका छन्। आत्मगौरवका भावनाहरू निभ्दै गएको दियो जस्तै भएका छन् ।
हाम्रो इतिहास पुस्तकको पानामा कैद भएको केवल काल्पनिक कथा मात्रै होइन । जीवित पदचाप हो । जसले विगतलाई आजसँग र आजलाई भोलिसँग बाँधेर राखेको छ । तर यस्ता पदचापहरू अहिले बिस्तारै मेटिँदै गएका छन् । धर्म, संस्कृति, परम्परा, सहिष्णुता र सद्भाव हाम्रो अस्तित्वका मेरुदण्ड हुन । ती आधारहरू पनि आधुनिकताको अन्धाधुन्ध दौडमा क्षीण हुँदै गएका छन् ।
उत्साहको सारङ्गीमा रम्ने देउरालीहरू न्याउली चरीझैँ बनेका छन् । कुनै समयमा चुलो र दैलोसँगै बाँच्ने संस्कृतिले मानवता सिकाउँथ्यो। हाम्रा चाडपर्वहरूले सामूहिकता र सद्भाव जगाउँथे । आज त्यस्ता विषय र सन्दर्भहरू सामाजिक सञ्जालका खुराक बन्न पुगेका छन् । पुर्खाले देखे जानेका,सुनेका र भोगेका देवी देवताका कथा,मिथक बिर्सिँदै जाँदा हामी संस्कृतिको मूलधारबाट खस्कँदै गइरहेका छौँ ।
हाम्रा गाउँघरमा कुनै समय पाहुनालाई देवता मान्ने चलन थियो ।अपरिचितलाई सत्कारका साथ भान्सामा गच्छे अनुसारको भोजन गराई आश्रय दिइन्थ्यो । आज विश्वासका टेकाहरू भाँचिएका छन् । सहिष्णुताका भावहरू आक्रोशमा रूपान्तरण भएर विभाजन र द्वेषको सङ्घारमा पुग्न थालेको छ । समाजमा संवाद भन्दा विवाद र सहकार्य भन्दा आपसी स्पर्धा बढ्दै गएको छ ।
कुनै समयमा देशप्रेमका भावहरू अविरल नदीझैँ नसा नसामा दौडिएको हुन्थ्यो । वीरयोद्धाका गाथा र बलिदानका घटनाले आत्मगौरव वृद्धि गराउँथ्यो । आज देशप्रेमलाई राजनीतिको नारा बनाइएको छ । जसले गर्दा आत्मगौरवमा ह्रास आएको छ । कर्तव्यको साटो आफ्नो स्वार्थलाई सर्वोपरि ठान्ने व्यवहार देखिन थालेको छ । यसले इतिहासको पदचापलाई मेट्दै आएको आभास हुन्छ ।
धर्मले विश्वास गर्न सिकाउँछ। सहिष्णुताका पालुवा हुर्काउँछ । अनुशासनका दर्बिला खम्बाहरू गाड्छ । आज धर्मलाई प्रदर्शनको विषय बनाइएको छ। आस्था केवल शाब्दिक आवरणमा सीमित भएको छ । मन्दिर जानेहरूको भीड बढे तापनि मनमा विराजमान इमानमा ह्रास आइरहेको छ । संस्कार बाहिरी औपचारिकताको शृङ्गार बनेको छ। यसरी धर्म प्रतिको आस्था हराउँदै गएपछि समाजले बाटो बिराउँदै छ ।
आध्यात्मिकता र व्यवहारिकताको कसीमा घोटिएका पुर्खाले सिकाउने जीवन र जगतका कुरा आज हराएर जाँदैछन् । उनीहरुले सिकाएका मूल्य मान्यता वास्तवमा जीवनका पाठशाला थिए। आज ती पुस्ताबिच संवादको कमी छ । मोबाइलको पर्दाले दूरी बढाउँदै लगेको छ ।
अग्रजको अनुभवलाई वेवास्ता र बालकका भावनाहरूलाई उपेक्षा गर्नाले सामाजिक साँस्कृतिक हाम्रो धरोहरकै क्षयीकरण हुँदै गएको छ । यसबारे चिन्तन मनन हुन अनिवार्य देखिएको छ । भौतिकवादले सिर्जना गरेको कृत्रिम जीवनशैली स्वार्थ, प्रतिस्पर्धा र विभाजनलाई सहि बाटोमा ल्याउन परिवारबाट नै मूल्य मान्यता,स्थानीय परम्परा, सहिष्णुता तथा सांस्कृतिक सम्पतिको अभिलेखिकरण र देशभक्तिलाई व्यवहारमा ल्याउनुपर्छ ।
तब मात्र हामीले यी पदचापहरू पुनः देख्न थाल्नेछौँ । हिजोका पदचापहरु आजका पहिचान हुन । भोलिका विश्वासिला मार्गदर्शन हुन्। त्यस्ता पदाचापहरू मेटिएर गए भने हामीले आफ्नो अस्तित्व खोज्न अरुलाई गुहार्ने अवस्था आउँछ । हामीले पुर्खाले छोडेर गएका पदचापलाई सम्झनामा सीमित गर्दै जाने होइन। जीवनशैलीको हिस्सा बनाउनुपर्छ । यही बाटोबाट नै नेपालीहरुले आफ्नो पहिचान बनाउन सक्नेछन् ।
बल्ल भावी पुस्ताले भन्नेछ ’हाम्रा पदचाप कहिले मेटिएनन्’ ! मौलिकता भनेको जरा हो । जरा काटियो भने रुख उभिन सक्दैन । जीवित पनि रहँदैन। त्यसैले पहिचान गुम्यो भने अस्तित्व पनि हराएर जान्छ । विश्वका महान् शक्तिशाली ठानिएका हरेक देशले आफ्नो मौलिकता कायम राख्दै विश्व नेतृत्व गरिरहेका छन् ।
इजिप्ट, ग्रिस, जापान,चीन, थाइल्याण्ड लगायत युरोपका कयौं देशले आफ्नो पहिचान र मौलिकतालाई प्राथमिकताको पहिलो श्रेणीमा राखेका छन् । हामी सामाजिक सञ्जालमा रमाउँछौं। नयाँ ज्ञान सिक्छौ।। तर आफ्नो भाषा, संस्कार, परम्परा,गीत, नृत्य पहिरन आदिका मौलिकपनलाई जोगाउनु पर्छ। यदि यो गर्न सकिएन भने भावी पुस्ताले हामी को थियौँ भन्नेबारेर पराईले पढाएको कथा पढेर बाँच्नुपर्ने हुन्छ । योभन्दा पीडादायी क्षण कुनै हुँदैन ।
पदचाप भनेको केबल पाइला टेकेको ठाउँ मात्र होइन । यो हाम्रो पहिचान मूल्य, मान्यता, परम्परा, इतिहास र आत्माको छाप हो। व्यक्ति, समाज र राष्ट्रको अस्तित्वलाई यिनै पदचापहरूले जोगाएर राख्दछन्। त्यसैले मौलिकता छोड्नु भनेको भावी पुस्तासँग विश्वासघात गर्नु हो ।
हामी यहि कर्ममा हरेक पल चुक्दै गएका छौँ । हाम्रो वाटो आशाको उज्यालो तिर छैन । आधुनिकताको चमकमा हामी आफैँले आफ्नो बाटोको पदरेखा मेटायौँ। पुर्खाले बालेको दियोमा तेल थप्नुको सट्टा कृत्रिम उज्यालोलाई पछ्यायौं। सहरको कोलाहलमा गाउँको धड्कन बिर्सियौँ। भाषाको मिठासलाई पराई भाषाको चास्नीमा घुलाउने प्रयास गर्यौँ ।
रीतिथिति र र मान्यताका वलिया थामको सट्टा भोगवादका पर्खाल बनायौँ। वीरताको इतिहास पल्टाएर पढ्ने हातहरु मनोरञ्जनतिर लम्कायौँ । भातृत्वको बगैँचामा झाडीहरु उम्रिन थाले अनि पहिचानका ढुङ्गे थामहरु हामीले ढालिदियौँ । यहाँबाट नै मौलिकपनमा ह्रास आउँदै गयो । यी पदचापहरू पछ्याउन हामीले समय, समर्पण र सरोकार राखेनौँ जसले गर्दा इतिहासको नाभी कमजोर हुँदै गयो ।
धुलोले ढाक्न खोजे पनि ती हाम्रा पदचापहरु पत्थरको छातीमा कुँदिएको छाप जस्तै अमिट रहनुपर्छ । जस्तोसुकै कालचक्रले घुमाए पनि झनै प्रगाढ बनेर ज्वलन्त विश्वासले जीवन्त हुनुपर्छ । पहाडको गर्जन झैं हाम्रो संकल्प गुन्जिनु पर्छ ।
इतिहासमा तरवारले चम्काएको पदचाप युग युगान्तरसम्म ज्योतिमय बनेर प्रज्वलित हुनुपर्छ। मेटिने बाटोमा लाग्नुको साटो अझ सशक्त भएर भविष्यको मुटुमा गाडिनु पर्दछ् । अटल जिजीविषा लिएर उभिनु पर्दछ ।
(लेखक काठमाडौं,शंखरापुर नगरपालिका अन्तर्गत माध्यमिक तहमा अध्यापनरत छन्।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण