शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सीआईबी अनुसन्धान

दरबारमार्ग जग्गा लिज प्रकरणः सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

सोमबार, २९ मङ्सिर २०८२, १७ : ४३
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • सीआईबीले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणको अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझायो।
  • अनुसन्धानले तत्कालीन सचिव अर्जुन कार्की र सहसचिव लेखबहादुर कार्कीले आर्थिक लाभ लिएको निष्कर्ष निकाल्यो।
  • प्रहरीले ६ अर्ब ३४ करोड रुपैयाँ बिगो मागदाबी लिन र थामशेर्कु ट्रेकिङका अध्यक्ष सोनाम शेर्पालाई पनि प्रतिवादी बनाउनुपर्ने राय दियो।

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणको अनुसन्धान सकेको छ । अनुसन्धान पूरा गरेर ब्युरोले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको हो । 

सीआईबीको अनुसन्धानले नेपाल ट्रस्टको जग्गा थामशेर्कु ट्रेकिङलाई भाडामा दिँदा त्रुटिपूर्ण सम्झौता गरी तत्कालीन सचिव अर्जुन कार्की र सहसचिव लेखबहादुर कार्कीले आर्थिक लाभ लिएको निष्कर्ष निकालेको छ ।

ब्युरोले कार्कीद्वयसहित थामशेर्कु ट्रेकिङका अध्यक्ष सोनाम शेर्पालाई पनि प्रतिवादी बनाउनुपर्ने राय दिएको छ । प्रहरीले उनीहरूविरुद्ध ठगी, संगठित अपराध र आपराधिक लाभसम्बन्धी कसुरमा अभियोगपत्र दायर गर्न सिफारिस गरेको छ । 

थामशेर्कुसँग करार सम्झौतामा हस्ताक्षर गर्ने लेखबहादुर कार्की र पूर्वसचिव अर्जुन कार्की पक्राउ परिसकेका छन् । यद्यपि, थामशेर्कुका अध्यक्ष शेर्पा भने अझै पक्राउ परेका छैनन् । ब्युरोले प्रतिवादीहरूविरुद्ध ६ अर्ब ३४ करोड १२ लाख ८८ हजार रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ । 

अनुसन्धानबाट खुलेअनुसार, पूर्वसचिव कार्कीले सार्वजनिक खरिद नियमावलीअनुसार ७ करोडभन्दा माथिको सम्झौता विभागीय प्रमुखले गर्नुपर्ने भए पनि सहसचिव लेखबहादुरलाई अख्तियारी दिएका थिए । कानुनले उनलाई नै जिम्मेवार बनाए पनि लेखबहादुरलाई सरुवा गरिदिने त्रास देखाएर सम्झौतामा हस्ताक्षर गर्न लगाएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए । 

त्रुटिपूर्ण सम्झौतामा संलग्न सरकारी कर्मचारीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि अनुसन्धानका लागि अख्तियारमा लेखी पठाउनुपर्ने प्रहरीको राय छ । 

करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ताभन्दा थप कित्ता जग्गा थामशेर्कुलाई दिइएको भेटिएको छ । दरबारमार्गमा रहेको कित्ता नम्बर ४६०६ को जग्गा मात्र दिने सूचना प्रकाशित गरिए पनि सम्झौतामा अर्को कित्ता ४६०५ समेत थपेर करार गरिएको अनुसन्धानबाट थाहा भएको छ । 

आरोपीहरूले निर्माण अवधि ३ वर्षसमेत गरेर ३० वर्षका लागि उक्त जग्गा लिजमा दिएका थिए । सम्झौता भएको ८ वर्ष पूरा भइसकेको छ । लिज अवधि बाँकी रहेको २२ वर्षको ३ अर्ब ९३ करोड, भवन बनाउँदा सम्झौताविपरीत चार र पाँच तला थप गरेकोमा १ अर्ब ६ करोड र कित्ता नम्बर थपेकोमा २ करोड बिगो मागदाबी लिनुपर्ने प्रहरीको राय छ । 

नेपाल ट्रस्टको जग्गा लिजमा लिएबापत थामशेर्कु ट्रेकिङले सुरुमा ६ अर्ब तिर्ने गरी टिप्पणी उठाइएको अनुसन्धानबाट खुलेको छ । तर पछि त्यति धेरै रकम तिर्न असमर्थ भएको भन्ने थामशेर्कुको निवेदनका आधारमा कुल १ अर्ब ४० करोड रुपैयाँ लेनदेन गर्ने सम्झौता भएको भेटिएको छ । 

थामशेर्कु र नेपाल ट्रस्टबिच २०७४ जेठमा भएको सम्झौताअनुसार दरबारमार्ग चोकमा रहेको जग्गामा ३ तले भवन बनाउने उल्लेख थियो । तर, थामशेर्कुले हाल त्यहाँ ५ तले भवन निर्माण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप