बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ओलीको राजनीतिक इतिवृत्ति

अध्यक्षमा ह्याट्रिक प्रयास

सोमबार, २९ मङ्सिर २०८२, २० : ४६
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन्।
  • ओलीले यसअघि माधवकुमार नेपाललाई हराएर नवौँ महाधिवेशनमा अध्यक्ष जितेका थिए र नेकपा विभाजनपछि दोस्रो पटक अध्यक्षमा निर्वाचित भए।
  • २००८ सालमा जन्मिएका ओली लामो समय जेल जीवन बिताएर विभिन्न राजनीतिक जिम्मेवारी सम्हालेका नेता हुन्।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकाल पनि अध्यक्ष पदका लागि भिड्ने भएका छन् । अर्थात् उम्मेदवारी दिएर चुनाव लड्ने पक्कापक्की गरिसकेका छन् ।

११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र हलमा केन्द्रीय निर्वाचन आयोगमा सोमबार दिउँसो ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । 

२०७१ साल असारमा भएको नवौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले हराएका ओली त्यसयता निरन्तर अध्यक्ष नै छन् । 

२०७४ सालमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत भएका थिए । तर, अर्का अध्यक्ष प्रचण्डसँग नेतृत्व टकराव हुँदा नेकपा विभाजन भयो र उनी साविक पार्टीका अध्यक्ष भए । २०७८ सालमा एमाले विभाजन भएपछि मंसिरमा चितवनको सौराहमा भएको १०औँ महाधिवेशनमा दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए । 

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबाट सत्ताच्युत भएका ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो हुँदै गएपछि नियमित महाधिवेशनलाई एक वर्षअगाडि नै सारेका हुन् । अघिल्लो महाधिवेशनमा सर्वसम्मत हुनबाट पूर्व उपाध्यक्ष डा. भीम रावलले रोकेका थिए । यसपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । दुवै पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

को हुन् ओली ?

२००८ फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मेका हुन्, ओली । सामान्य पारिवारिक अवस्थामा जन्मेका उनका बुबा मोहनप्रसाद ओली ज्योतिषी हुन् । हजुरबुबा स्व. मनरथ ओली र हजुरआमा स्व. राममाया ओलीका छोरा मोहनप्रसादकी श्रीमती मधु ओलीको निधन भइसकेको छ । श्रीमती राधिका शाक्यसाथ बालकोटमा बस्दै आएका ओलीका भाइ जयप्रसाद ओली र बुहारी इन्दिरा ओली छन् । त्यस्तै दिदी र बहिनीहरू विष्णुमाया, कौशिला र राजु रहेका छन् । 

स्थायी निवास अनन्तलिङ्गेश्वर– २ बालकोट भक्तपुर भएका ओलीको अस्थायी बसोबास भने शरणामती– ६ झापा हो । ओलीको शैक्षिक योग्यता सामान्य छ । नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा चिनिने ओली नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा दक्खल राख्छन् । कतिपयले उनलाई रुखो बोली बोल्ने नेताका रूपमा समेत चिन्छन् । 

ओलीको विदेश यात्रा

ओलीले विभिन्न चरणमा दुई दर्जनभन्दा बढी देशको यात्रा गरिसकेका छन् । उनले चीन, भारत, बङ्गलादेश, भुटान, श्रीलंका, जापान, सिङ्गापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजाकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदिको भ्रमण गरिसकेका छन् । 

ओलीको आबद्धता 

हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का अध्यक्ष छन् केपी ओली । जसमा उनी २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट चुनिएका थिए । २०७० माघ २१ मा सम्पन्न निर्वाचनपछि एमाले संसदीय दलको नेता बनेका ओली संविधानसभा सदस्यमा झापा क्षेत्र नं ७ बाट विजयी भए पनि पछि निर्वाचन क्षेत्र घट्दा झापा–५ बाट निर्वाचित भए । 

राजनीतिक यात्रा

–२०२३ सालमा मार्क्सवादी अध्ययन दलमा सङ्गठित भई प्रशिक्षण प्राप्त ।
–२०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबद्ध हुँदै नेतृत्व गर्न सफल ।
–नेपाल कम्युनिस्ट पार्टीको सदस्यता २०२६ सालमा पाएपछि उनले २०२६ सालमै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी बहन गरे ।
–२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण।
–२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएको थियो ।
–२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी बहन, पटक–पटक जेल जीवन ।

ओलीको जेल जीवन

तत्कालीन शासनसत्ताको विरोधमा उत्रिएका उनी पहिलो पटक २०२७ फागुन १६ गते आइतबार झापाबाट गिरफ्तार भए । पहिलो गिरफ्तारीमा झापा पुलिस थानामा बसेका उनी २०२७ र २०३० का बिचमा पटक–पटक गरी १० पटकभन्दा बढी गिरफ्तार भएका थिए । 

जेल यात्राको १४ बर्से अध्याय

–२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
–पहिलो पटक रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
–त्यसपछि वीरगञ्ज थाना, वीरगञ्ज जेलमा चलान ।
–२०३० मंसिर ८ गते भद्रगोल जेल काठमाडौँमा चलान ।
–३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
–२०३० मंसिर ११ देखि २०३२ वैशाख १६ सम्म सेन्ट्रल जेल गोलघरमा, र त्यसपछि गोलघर बाहिर ।
–२०३३ साउनमा नख्खु जेल चलान ।
–२०३३ मंसिरमा केन्द्रीय कारागार गोलघरमै ।
–२०३६ जेठमा गोलघर बाहिर ।
–२०३७ चैतमा पुनः नख्खु जेल चलान ।
–२०३९ माघ ३ मा पोखरा जेल चलान ।
–२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
–२०४३ मंसिर ८ मा हनुमान ढोका जेल चलान ।
–२०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
–२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।

तत्कालीन राजा ज्ञानेन्द्रले चालेको २०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दमा परेका ओलीले जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी निरन्तर बहन गर्न थाले । २०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी हुँदै २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्न पुगे । 

२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालका संस्थापक अध्यक्ष भएका ओली २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य भए । उनी पटक–पटक गरी पाँच वर्ष तीन महिना देशका प्रधानमन्त्री बने । राज्य तहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारीमा २०४८ मा सम्पन्न आम निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित बन्न सफल भएका थिए । 

कहाँबाट कहिले कहिले निर्वाचित भए ओली ? 

–२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित ।
–२०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
–२०५६ मा सम्पन्न आम निर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।
–२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी बहन ।
–२०७० मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रूपमा निर्वाचित ।
–२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट विजयी ।
विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेका उनले विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा महत्त्वपूर्ण भूमिकाहरू खेलेका छन् । 

२०२७ सालको झापा विद्रोह

२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएका उनी २०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे लिखित पत्रका माध्यमद्वारा सुझावहरू पठाउने गर्थे । 

२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए । 

२०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलामा मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न समेत अहम् भूमिका निर्वाह गरेका थिए । 

२०५९ सालमा भएको नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा ओलीले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरूले समेत मूल नीतिका रूपमा अवलम्बन गरेको ओली आफै दाबी गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप