मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन अनुशिक्षण कार्यक्रम सम्पन्न

मङ्गलबार, ०१ पुस २०८२, ०१ : ०१
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • प्रहरी प्रधान कार्यालयमा कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन अनुशिक्षण कार्यक्रम सम्पन्न भयो ।
  • अनुशिक्षणले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र सङ्गठनलाई योजना बनाउन मद्दत गर्ने बताइएको छ ।
  • कार्यक्रममा विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो, र यो प्रणाली मंगलबारबाट लागू हुनेछ ।

काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा सोमबार कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयनसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरीका विभिन्न एकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यलाई मार्ग निर्देश गर्न तथा सोअनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य–प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्याङ्कन गर्ने प्रयोजनका लागि यही मङ्सिर २५ गतेको बैठकबाट पारित ढाँचा सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले अनुशिक्षण दिइएको विषयले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र सङ्गठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने बताए । उनले मूल्याङ्कन ढाँचाले विभिन्न प्रहरी एकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफूले गरेको कामबारे विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले अनुशिक्षणको उद्देश्य एवं प्रभावकारिताबारे जानकारी दिएका थिए ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, औचित्य, प्रतिवेदनको ढाँचा, सूचकहरूको सङ्ख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्रहरू, प्रतिवेदन प्रणाली, मूल्याङ्कन प्रणाली, मूल्याङ्कन भार, उत्प्रेरणा र सुधार एवं अपेक्षित उपलब्धिसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै सात वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

उक्त प्रणाली मङ्गलबारदेखि कार्यान्वयन हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप