बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहलगाम आक्रमणको आरोपमा दुई पाकिस्तानी आतङ्कवादी समूह र ६ जनाविरुद्ध भारतमा मुद्दा दायर

मङ्गलबार, ०१ पुस २०८२, १४ : ५५
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • एनआईएले जम्मु-कश्मीरमा पर्यटकमाथि भएको आक्रमणमा संलग्न रहेको आरोपमा पाकिस्तानका दुई आतङ्कवादी समूह र ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो र यसले भारत र पाकिस्तानलाई युद्धको संघारमा पुर्याएको थियो।
  • आक्रमणको योजना बनाउने, सहजीकरण गर्ने र कार्यान्वयन गर्ने आरोप लश्कर-ए-तैयबा र द रेसिस्टेन्स फ्रन्टलाई लगाइएको छ।

नयाँ दिल्ली । भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले यस वर्षको अप्रिलमा भारत-प्रशासित कश्मीरमा पर्यटकमाथि भएको आक्रमणमा संलग्न रहेको आरोपमा पाकिस्तानस्थित दुई आतङ्कवादी समूह र ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

कश्मीरको पर्यटकीय सहर पहलगाममा भएको यो नरसंहारले आणविक हतियार भएका भारत र पाकिस्तानलाई युद्धको सङ्घारमा पुर्‍याएको थियो। भारतले आक्रमणका लागि पाकिस्तानलाई दोष लगाएको थियो, यद्यपि इस्लामाबादले सो आरोप अस्वीकार गरेको थियो।

संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्ककारी सङ्गठन घोषणा गरिएको पाकिस्तानस्थित लश्कर-ए-तैयबा (एलईटी) र द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई आक्रमणको ‘योजना बनाउने, सहजीकरण गर्ने र कार्यान्वयन गर्ने’ आरोप लगाइएको छ।

एनआईएले जम्मुस्थित एक विशेष अदालतमा सोमबार दायर गरेको १ हजार ५९७ पृष्ठ लामो आरोपपत्रमा यी आतङ्ककारी समूह र अन्य ६ जनालाई नाम उल्लेख गरिएको छ। ६ जनामध्ये तीन जनालाई आक्रमणको केही दिनपछि सुरक्षा बलले मारेको थियो।

एनआईएले ‘पाकिस्तानी आतङ्ककारी ह्यान्डलर’ भनिएका साजिद जट्ट र जुन महिनादेखि एनआईए हिरासतमा रहेका अन्य दुई जनाको नाम पनि आरोपपत्रमा समावेश छ।

एनआईएले एक वक्तव्यमा भनेको छ, ‘सोधपुछका क्रममा ती दुई व्यक्तिले आक्रमणमा संलग्न तीन सशस्त्र आतङ्ककारीहरूको पहिचान खुलासा गरेका थिए, र उनीहरू प्रतिबन्धित लश्कर-ए-तैयबा आतङ्ककारी सङ्गठनसँग आबद्ध पाकिस्तानी नागरिक भएको पुष्टि पनि गरेका थिए।’

ती आरोपितहरूलाई भारतको फौजदारी संहिता र कडा आतङ्कवाद विरोधी कानुनअन्तर्गतका सम्बन्धित धाराहरूमा मुद्दा चलाइएको छ। उनीहरूमाथि भारतविरुद्ध युद्ध छेडेको आरोप पनि लगाइएको एनआईएको वक्तव्यमा उल्लेख छ।

एनआईएले करिब आठ महिना लामो अनुसन्धानले षड्यन्त्रको जड पाकिस्तानसम्म पुगेको र थप अनुसन्धान जारी रहेको जनाएको छ।

अप्रिल २२ मा पहलगामबाट करिब ७ किलोमिटर टाढा बैसरनको लोकप्रिय पर्यटकीय मैदानमा आतङ्ककारीहरूले २५ जना पुरुष हिन्दू पर्यटकलाई छानीछानी गोली हानेर हत्या गरेका थिए। सहयोग गर्ने प्रयास गरेका एक स्थानीय मुस्लिम घोडावालको पनि हत्या भएको थियो।

यो आक्रमण सन् २०१९ यता भारत-प्रशासित कश्मीरमा भएको सबैभन्दा घातक आतङ्ककारी हमलामध्ये एक थियो।

यो आक्रमण भएको केही दिनभित्रै भारतले सन् १९६० को सिन्धु जल सन्धि खारेज गरेको थियो, भने पाकिस्तानले द्विपक्षीय विवाद समाधानसम्बन्धी सन् १९७२ को शिमला सम्झौताबाट पछि हटेर जवाफ फर्काएको थियो। 

त्यसपछिका हप्ताहरूमा, दुई देशहरूले चार दिने द्वन्द्वका क्रममा मिसाइल र ड्रोन हमला आदानप्रदान गरेका थिए, जुन एक कमजोर युद्धविरामसँगै टुङ्गिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप