बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एउटै वडाका ५३८ घरमा खानेपानीको धारा

बिहीबार, ०३ पुस २०८२, ०३ : ५६
बिहीबार, ०३ पुस २०८२

सारांश

  • ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भयो।
  • गण्डकी प्रदेश सरकारको २ करोड लगानीमा १८ मुहानको पानी घरघरमा पुर्‍याइएको छ।
  • स्थानीयका अनुसार घरमै धारा आएपछि पानी लिन टाढा जानुपर्ने बाध्यता हटेको छ।

बागलुङ। गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पुर्‍याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् ।

हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् । गण्डकी प्रदेश सरकारको रु दुई करोड लागतमा १८ वटा मुहानको पानी घरघरमा पुर्‍याएको हो । वडाध्यक्ष मनबहादुर रोकाले वडाको अब वडा क्षेत्रका २२ घरमा मात्रै पानी पुर्‍याउन बाँकी रहेको बताए ।

“विकासको पहिलो आधार शुद्ध खानेपानी हो, वडाभर खानेपानी पुर्‍याउने लक्ष्य पूरा हुँदैछ, वडाका ५३८ घरमा निजी धारा जडान गरिएका छन्”, उनले भने, “सबै घरमा खानेपानी पुर्‍याउनु हाम्रा लागि सुखद् कुरा हो, गण्डकी प्रदेश सरकारको लगानीमा १८ मुहानलाई एकीकृत प्रणालीबाट एक घर–एक धारा निर्माण गरिएको हो ।”

रोकाका अनुसार वडा नं ५ को करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठुलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका घरमा धारा जडान गरिएका छन् । खानेपानीको पहुँच पुगेपछि यहाँका स्थानीयको दैनिकी फेरिएको छ भने समयको बचतसमेत भएको छ । खानेपानीको धारा घरमै आएपछि सरसफाइमा समेत सुधार भइरहेको छ ।

विसं २०७५ बाट सुरु भएको एक घर–एक धारा अभियानले सार्थकता पाएकामा स्थानीय खुसी छन् । स्थानीय कुलबहादुर रोकाले घरमै खानेपानीको धारा भएपछि पानीकै लागि टाढा रहेका सामुदायिक धारा, कुँवालगायत स्थानमा जाने बाध्यता अन्त्य भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप