एमाले नेता गुरु बराल अर्थात् ‘पराजित ब्रान्ड’
सारांश
- नेकपा एमालेको महाधिवेशनमा मोरङका गुरुप्रसाद बराल उपाध्यक्षको निर्वाचनमा पराजित भए।
- बरालले केन्द्रीय सदस्य र उपाध्यक्ष दुवै पदमा हार बेहोरे, तर उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट छन्।
- पार्टीभित्र प्रभाव जमाएका बरालको संसदीय यात्रा भने उतारचढावपूर्ण रह्यो र उनी धेरै चुनावमा पराजित भए।
विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ५ जना उपाध्यक्षको कोटामा मोरङका गुरुप्रसाद बराल पनि उम्मेदवार थिए ।
अध्यक्ष केपी शर्मा ओलीको समूहमै रहेका बराल पार्टीको निर्वाचित उपाध्यक्ष बन्न सकेनन् । अर्थात् उनी पराजित भए । उनले उपाध्यक्षमा मात्रै होइन, केन्द्रीय सदस्यमा पनि हारे ।
एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार बरालले केन्द्रीय सदस्यमा ७५४ मत मात्रै पाए । उपाध्यक्षमा बरालले १ हजार १३७ मत मात्रै पाएका छन् । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (१३६८) र रघुजी पन्त (१२५८) निर्वाचित भए ।
बराल महाधिवेशनमा उम्मेदवार बन्दा उनी मनोनित उपाध्यक्ष थिए । १०औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उनलाई मनोनित गरिएको थियो । उनले पार्टीको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
तर बराललाई खासै निर्वाचन फापेको छैन । पार्टीको आन्तरिक निर्वाचनमा मात्रै होइन, आफ्नो बलियो सम्भावना हुँदा पनि झिना मसिना विषय व्यवस्थापन गर्न नसक्दा उनी पराजित भइरहने गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचौँ महाधिवेशनदेखि नै निकट सम्बन्ध बनाएका मोरङका नेता बरालको संसदीय राजनीति उतारचढावपूर्ण छ । २०५१ सालको उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट जित हासिल गरेयता उनी निरन्तर चुनावी मैदानमा पराजित हुँदै आएका छन् ।
बराल ती सीमित एमाले नेताहरूमा पर्छन्, जो पटक–पटक टिकट पाउँछन् तर नतिजा आफ्नो पक्षमा पार्न सक्दैनन् । ०५१ सालसहित हालसम्म पाँचपटक उम्मेदवार बनेका उनी ०५६ मा मोरङ–६, ०६४ को संविधानसभामा मोरङ–४ र ०७० मा मोरङ–३ बाट पराजित भए ।
२०७४ को चुनावमा मोरङ–३ बाट आकांक्षी भए पनि टिकट भानुभक्त ढकालले पाएका थिए ।
पछिल्लो पटक ०७८ माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि उनको हार निकै चर्चामा रह्यो । पार्टीकै दुई प्रदेश सांसदको ‘अन्तरघात’का कारण उनको मतभार नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबर भएको थियो । अन्ततः गोलाप्रथाद्वारा निर्णय लिँदा उनलाई भाग्यले साथ दिएन ।
चुनावी असफलताका बाबजुद अध्यक्ष ओलीसँगको विश्वासिलो सम्बन्धका कारण पार्टीभित्र उनको प्रभाव लोभलाग्दो छ । कोशी प्रदेशमा ओली सहभागी हुने कार्यक्रमहरूको अन्तिम रूपरेखा बरालले नै तय गर्ने गर्छन् । ०५४ सालको स्थानीय निर्वाचनमा जस्तै हालका स्थानीय निर्वाचनहरूमा पनि टिकट वितरणमा उनको भूमिका निर्णायक रहने गरेको छ ।
पार्टी विभाजनपछि उनी पुनः शक्ति केन्द्रमा आएका हुन् ।
करिब ५५ वर्षदेखि एमालेको राजनीतिमा अनवरत सक्रिय बराललाई त्याग, निष्ठा र इमानदारिताको पर्यायका रूपमा भने चिनिन्छ । विकास राजनीति र नीतिगत अनुसन्धानमा दक्खल राख्ने बरालले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण