अमेरिकाको ब्राउन युनिभर्सिटी गोलीकाण्ड : एक हप्ताको खोजीपछि आरोपी मृत फेला
सारांश
- अमेरिकाको ब्राउन युनिभर्सिटी गोलीकाण्डका मुख्य आरोपी न्यु ह्याम्पसायरमा मृत फेला परेका छन्।
- आरोपीले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ, र उनी एमआईटीका प्राध्यापकको हत्यामा पनि संलग्न थिए।
- गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको थियो र एफबीआईले आरोपीको खोजी गरेको थियो।
न्यु ह्याम्पसायर । अमेरिकाको ब्राउन युनिभर्सिटीमा गत हप्ता भएको गोलीकाण्डका मुख्य आरोपी मृत अवस्थामा फेला परेका छन् । ६ दिन लामो खोजी अभियानपछि प्रहरीले न्यु ह्याम्पसायरको सालेमस्थित एक गोदाम (स्टोरेज फ्यासिलिटी) मा आरोपीलाई मृत फेला पारेको हो ।
प्रहरीले आरोपीको पहिचान ४८ वर्षीय क्लाउडियो नेभस भ्यालेन्टेका रूपमा गरेको छ । पोर्चुगिज नागरिक भ्यालेन्टेले करिब २५ वर्षअघि सोही युनिभर्सिटीमा अध्ययन गरेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार भ्यालेन्टेले आफैँलाई गोली हानेर आत्महत्या गरेको देखिन्छ ।
उनको शव नजिकै दुईवटा बन्दुक र एउटा झोला फेला परेको छ । नजिकै रहेको कार र अन्य प्रमाणहरू ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डको घटनास्थलसँग मेल खाएको रोड आइल्याण्डका महान्यायाधिवक्ताले जानकारी दिए ।
अनुसन्धान अधिकारीहरूका अनुसार भ्यालेन्टे ब्राउन युनिभर्सिटीको घटना मात्र नभई म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापकको हत्यामा समेत संलग्न भएको पाइएको छ । ब्राउनको घटना भएको दुई दिनपछि उनले एमआईटीका ४७ वर्षीय प्राध्यापक नुनो एफ गोम्स लौरेरोको ब्रुकलाइनस्थित घरमै गएर हत्या गरेको आशंका गरिएको छ ।
मारिएका प्राध्यापक र आरोपी भ्यालेन्टेले सन् ९० को दशकको अन्त्यतिर पोर्चुगलको एउटै विश्वविद्यालयमा अध्ययन गरेका थिए । सीसीटीभी फुटेज र आरोपीले प्रयोग गरेको कार दुवै घटनास्थल वरपर देखिएपछि प्रहरीले यी दुई घटनालाई जोडेर हेरेको हो ।
ब्राउन युनिभर्सिटीकी प्रेसिडेन्ट क्रिस्टिना प्याक्सनका अनुसार भ्यालेन्टे सन् २००० देखि २००१ सम्म उक्त आइभी लिग स्कुलमा भौतिक शास्त्रमा पीएचडी गर्दै थिए तर हाल उनको युनिभर्सिटीसँग कुनै आधिकारिक सम्बन्ध थिएन ।
प्रहरीले भिडियो प्रमाण र सूचनाका आधारमा कार भाडामा दिने स्थान पत्ता लगाएपछि आरोपीको पहिचान गर्न सफल भएको थियो । म्यासाचुसेट्सका वकिलका अनुसार आरोपीले ट्रयाक गर्न नमिल्ने फोन प्रयोग गरेर निकै चलाखीपूर्ण ढंगले आफ्नो लोकेसन लुकाएका थिए ।
गत शनिबार ब्राउन युनिभर्सिटीको इन्जिनियरिङ भवनमा परीक्षा चलिरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । मृत्यु हुनेमा १९ वर्षीया एला कुक र १८ वर्षीय उज्बेकअमेरिकन विद्यार्थी मुखम्मद अजिज उमुरजोकोभ रहेका छन् ।
एफबीआईले आरोपीको खोजीमा ५०० भन्दा बढी एजेन्ट खटाएको थियो । आरोपी मृत भेटिए पनि आक्रमणको उद्देश्य अझै खुल्न नसकेको र धेरै प्रश्नको उत्तर खोज्न बाँकी रहेको एफबीआईले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण