विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा हिंसा भड्कियो, दुई पत्रिकाको कार्यालयमा तोडफोड
सारांश
- बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका युवा नेताको मृत्युपछि हिंसा भड्किएको छ।
- ढाकामा गोली प्रहारबाट घाइते भएका ३२ वर्षीय सरिफ उस्मान हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भयो।
- हादीको मृत्युपछि समर्थकहरूले ढाकास्थित मिडिया कार्यालयहरूमा तोडफोड गर्नुका साथै आगजनी गरे।
ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका एक प्रमुख युवा नेताको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको छ । ३२ वर्षीय सरिफ उस्मान हादीको उपचारका क्रममा सिंगापुरमा बिहीबार मृत्यु भएको हो ।
गत साता ढाकास्थित एक मस्जिदबाट निस्कने क्रममा नकाबधारी समूहले हादीमाथि गोली प्रहार गरेको थियो । बंगलादेशका अधिकारीहरूले सन् २०२४ को जनआन्दोलनपछि पहिलोपटक निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै उनीमाथि गोली प्रहार भएको थियो । हादी उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उठ्ने तयारीमा थिए ।
बिहीबार उनको मृत्युको खबर सार्वजनिक भएलगत्तै राजधानी ढाकामा सयौँ समर्थक जम्मा भएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बंगलादेशका प्रतिष्ठित पत्रिकाहरू ‘द डेली स्टार’ र ‘प्रोथोम आलो’ को कार्यालयमा तोडफोड गरेका छन् भने एउटा भवनमा आगजनी समेत गरेका छन् । कार्यालयभित्र फसेका पत्रकारहरूलाई उद्धार गर्न सेना र अग्निनियन्त्रक टोली परिचालन गरिएको थियो ।
_LmJt7aQe3t.png)
हादी विद्यार्थी संगठन ‘इन्क्लाब मन्चा’ का वरिष्ठ नेता थिए र छिमेकी मुलुक भारतका कट्टर आलोचक मानिन्थे, जहाँ हसिना अहिले निर्वासित जीवन बिताइरहेकी छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हादीको मृत्युलाई राष्ट्रका लागि अपूरणीय क्षति भन्दै शनिबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
युनुसले टेलिभिजन सम्बोधनमार्फत डर, त्रास वा रक्तपातले लोकतन्त्रको यात्रा रोक्न नसकिने बताए । उनले यो गोलीकाण्डलाई सुनियोजित र निर्वाचन बिथोल्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै हिंसा सह्य नहुने चेतावनी दिएका छन् ।
_ctKIMDxPZn.png)
घटनाको अनुसन्धान जारी रहेको र गोलीकाण्डमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । गत वर्ष अगस्ट ५ मा हप्तौँ लामो विद्यार्थी आन्दोलनपछि हसिना भागेर भारत पुगेकी थिइन्, जसले उनको १५ वर्षे शासनको अन्त्य गरेको थियो ।
आन्दोलनका क्रममा १ हजार ४ सय जनाको मृत्यु भएको घटनामा दोषी ठहर गर्दै गत नोभेम्बरमा मात्रै हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण