बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

‘एन्फा नेतृत्व एक्सपायर भइसक्यो, फुटबलमा भोटको राजनीति मात्र भयो’

शुक्रबार, ०४ पुस २०८२, १६ : १२
शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान नेतृत्वले कार्यभार सम्हालेदेखि नेपाली फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग सञ्चालन हुन सकेको छैन । लिग नहुँदा सिङ्गो फुटबल क्षेत्र नै अस्तित्वको सङ्कटमा परेको छ । लिगको अनिश्चितता, खेल तालिका (क्यालेन्डर) को अभाव र एन्फाभित्रको चरम गुटबन्दीको प्रत्यक्ष मारमा क्लब तथा खेलाडीहरू परेका छन् । 

फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाहले नेपाली फुटबलको वर्तमान अवस्था, लिगको अन्योल, एन्फाको कार्यशैली र नेतृत्वको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । 

रातोपाटीसँगको अन्तर्वार्ताको क्रममा शाहले एन्फा नेतृत्वले फुटबल विकासभन्दा भोटको राजनीति र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेको आरोप लगाए । वर्तमान नेतृत्वको ‘म्याद गुज्रिसकेको’ भन्दै उनले नेपाली फुटबलमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याए । 

Bishwas Bikram Shah1

शाहका अनुसार एन्फाको क्यालेन्डर बमोजिम पुस महिनामै सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु हुनुपर्ने बाध्यात्मक अवस्था थियो । तर नेतृत्वको कार्यशैलीका कारण यो सम्भव भएन । क्लबहरूले लिगको तयारीका लागि निकै अगाडिदेखि एन्फालाई ध्यानाकर्षण गराएपनि ‘होम एण्ड अवे’ को रटान लगाएर एन्फाले समय बर्बाद गरेको उनको आरोप छ । नेपालजस्तो देशमा पूर्वाधार अभावका कारण तत्काल ‘होम एण्ड अवे’ पद्धति सम्भव नहुने उनको तर्क छ ।

‘हामीले ११ महिना अगाडि नै गएर झक्झकाएका थियौं । महासचिव किरण राईलाई मल्टिपल भेन्युमा खेल्न गाह्रो हुने भएकाले होम एण्ड अवे सम्भव नहुने बताएका थियौं,’ शाहले भने, ‘मैले १६ वटै क्लबलाई हेटौंडाजस्तो सेन्ट्रल भेन्युमा लगेर परीक्षणका रूपमा लिग गरौं भन्ने सल्लाह दिएको थिएँ, तर सुनुवाइ भएन ।’ उनले एन्फाले मन्त्रीसम्म पुगेर नाटक गरेको तर लिग गराउन नचाहेको आरोप लगाए ।

अहिले एन्फाले राष्ट्रिय लिग गर्ने र त्यसको एक महिनाभित्र ‘ए’ डिभिजन लिग गर्ने भनी गरेको निर्णय विरोधाभासपूर्ण र विधान विपरीत रहेको शाहको तर्क छ । यद्यपि, फुटबललाई पूर्णरूपमा मर्न नदिन र खेलाडीलाई मैदानमा फर्काउन क्लबहरूले बाध्य भएर राष्ट्रिय लिग खेल्ने सहमति जनाएको उनको जिकिर छ । 

Bishwas Bikram Shah2

‘विधान र क्यालेन्डर हेर्ने हो भने अहिलेको अवस्थामा कुनै पनि फुटबल गतिविधि हुन सक्दैन । तर नेपाली फुटबल बचाउन विधानतिर नहेरी फुटबल भएको देखाउनुपर्ने अवस्था आयो,’ शाहले भने, ‘हामी फुटबल खेल्ने क्लब हौं, राजनीति गर्ने होइन । क्लब भइसकेपछि फुटबल त खेल्नैपर्‍यो भनेर मात्रै यसमा सहभागी हुन लागेका हौं ।’

लामो समयदेखि लिग नहुँदा क्लबहरू खेलाडीविहीन अवस्थामा पुगेका छन् । फ्रेन्ड्स क्लबमै अहिले ३ देखि ४ जना मात्र पुराना खेलाडी बाँकी छन् । ‘विगतमा खेलाडी कसले, कहाँबाट र कसरी ल्याउने भन्ने थाहा हुन्थ्यो । अहिले कति खेलाडी विदेश पलायन भए भन्ने कुरा मैले भनिरहनु पर्दैन, अवस्था छर्लङ्ग छ,’ उनले भने ।

राष्ट्रिय लिग सकिएको एक महिनाभित्रै ’ए’ डिभिजन लिग हुन्छ भन्नेमा आफू पूर्ण विश्वस्त नरहेको शाहले बताए । ‘अहिले पनि राष्ट्रिय लिग हुने कुरा सम्भव देख्दिनँ । जबसम्म मैदानमा खेल हुँदैन, तबसम्म मुखको भरमा केही हुँदैन,’ उनले भने ।

शाहले क्लबहरूको व्यावसायिकता र आर्थिक पाटोबारे एन्फाले भ्रम छरेको बताए । क्लबहरूले एन्फासँग माग्ने रकम कुनै सहयोग वा भिक्षा नभई अधिकार र पसिनाको कमाइ भएको उनले स्पष्ट पारे । ‘क्लबले मागेको होइन, त्यो हाम्रो रेभेन्यु हो । हामीले खेलेबापत आउने कुरा हो,’ शाहले भने, ‘त्यो रेभेन्यु पनि हामीले पूरै पाउने होइन, ५० देखि ६० प्रतिशत एन्फामा जान्छ । त्यहाँका कर्मचारी, बोनस र मिटिङ भत्ता सबै त्यसैबाट चल्ने हो ।’ उनले तयारी खर्च क्लबहरूकै खेलबाट उठेको राजस्व भएकाले यसलाई माग्ने र दिनेको रूपमा व्याख्या गर्न नहुने तर्क गरे ।

एन्फाको २१ सदस्यीय कार्यसमिति भएपनि त्यहाँ फुटबलको एजेन्डाभन्दा व्यक्तिगत स्वार्थ र भोटको राजनीति हाबी भएको शाहको आरोप छ । कतिपय सदस्यलाई एन्फाका निर्णयहरूबारे जानकारी नै नहुनु लज्जास्पद भएको उनले बताए । ‘२१ जनाको कमिटी छ, तर कतिपय केन्द्रीय सदस्य र उपाध्यक्षलाई नै महत्त्वपूर्ण निर्णयबारे थाहा हुँदैन । यो कस्तो नेतृत्व हो?’ उनले प्रश्न गरे ।

Bishwas Bikram Shah

शाहले एन्फा पदाधिकारीहरूको विदेश भ्रमणप्रति पनि प्रश्न उठाएका छन् । फुटबल विकासको ज्ञान नभएका व्यक्तिलाई विदेश पठाएर एन्फाको लाखौं रुपैयाँ स्वाहा पारेको उनको आरोप छ । ‘विदेश जाँदा एकजनाको एक लाख खर्च हुन्छ, १४ जना जाँदा १४ लाख सकिन्छ । त्यो रकम ग्रासरुटका १४ क्लबलाई दिएको भए राम्रो हुन्थ्यो,’ शाहले भने, ‘उहाँहरूले विदेश गएर सिकेको भनेको फेसबुकमा फोटो हाल्न मात्रै हो । त्यहाँ देखेको/सिकेको कुरा यहाँ लागु गर्न सक्नुपर्‍यो नि ।’

आगामी एन्फा निर्वाचन र नेतृत्व चयनप्रति पनि शाहले चिन्ता व्यक्त गरे । बजारमा ३ देखि ४ करोड रुपैयाँ खर्च गरेर एन्फा अध्यक्ष बनिन्छ भन्ने हल्ला चल्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए । ‘३–४ करोड खर्च गरेर अध्यक्ष जित्नुभयो भने भोलि के गर्नुहुन्छ ? तपाईं त ८ करोड कमाउनतिर लाग्नुहुन्छ,’ उनले भने ।

अबको निर्वाचनमा क्लब र जिल्लाका प्रतिनिधिहरू सचेत हुनुपर्ने उनले बताए । २०–२५ वर्षदेखि उही अनुहार हाबी हुँदा फुटबलको स्तर खस्किएको र फिफा वरीयता ओरालो लागेको भन्दै शाहले पुराना नेतृत्वको समय सकिएको बताए । ‘सबै कुराको एक्स्पाइरी डेट हुन्छ । एउटै व्यक्तिले फुटबल चलाएको २०–२२ वर्ष भइसक्यो । आज फिफा वरीयता हेर्नुस्, हामी निरन्तर ओरालो लागिरहेका छौं,’ उनले भने, ‘त्यसैले अबको चुनावमा सबै मिलेर काम गर्ने नयाँ व्यक्तिलाई चुनौं ।’

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप