मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

२१औं शताब्दीको नेपालमा लैङ्गिक हिंसा र निरीह राज्य

सोमबार, ०७ पुस २०८२, ११ : ४०
सोमबार, ०७ पुस २०८२

सारांश

  • मानिसलाई महिला र पुरुषमा विभाजन गर्ने लैङ्गिक भिन्नता र यसले महिलामाथि पारेको नकारात्मक प्रभावको विश्लेषण गरिएको छ।
  • नेपालमा लैङ्गिक हिंसाका विभिन्न रूपहरू, जस्तै बोक्सी, विधवा, देउकी, बादी, दाइजो र छाउपडी प्रथाबारे चर्चा गरिएको छ।
  • लैङ्गिक हिंसा कम गर्न राज्य, स्थानीय निकाय र सरोकारवालाहरूले सशक्त कदम चाल्नुपर्ने र महिला सशक्तीकरणमा जोड दिनुपर्ने कुरा उल्लेख छ।

पृथ्वीकै चेतनशील प्राणीको रूपमा रहेको मानिसलाई शारीरिक बनावटको आधारमा सामान्यतः महिला र पुरुष दुई लिङ्गमा स्वीकार गर्दै आइएको छ। मानवको शारीरिक वा जैविक अवस्थाको आधारमा लिङ्ग अर्थात् महिला र पुरुष हुनु प्राकृतिक कुरा नै हो। महिला र पुरुषबिचको शारीरिक भिन्नतालाई कसैले नकार्न सक्दैन। जैविक भिन्नताबाहेक समाजले कोरिदिएको अर्को रेखा वा भूमिका पनि छ, त्यसलाई लैङ्गिकता भनिन्छ। लैङ्गिकताले केवल भूमिकाको सीमा मात्र नभई महिला र पुरुषबिच व्यवहार, सामाजिक दायित्व, अवसर र योग्यतामा दुरीको रेखा समेत निर्धारण गरिदिएको छ। फलस्वरूप महिलाहरूले आफ्नो सामान्य हकका लागि पनि धेरै सङ्घर्ष गर्नुपरेको छ। यस क्रममा आफूलाई हरेक चुनौतीबाट पार लगाउँदै आफ्नो दक्षता र क्षमता प्रदर्शन गर्न सफल पनि भएका छन्। अर्कोतर्फ सोही अवसर पुरुषले विना कुनै सङ्घर्ष हात पारेका छन्। यो सबैको हकमा लागु नहुन पनि सक्छ, तर आम अभ्यास भने यस्तै देखिन्छ।

इतिहासलाई पल्टाएर हेर्दा लैङ्गिकता नै हिंसाको मूल जराको रूपमा रहेको भेटिन्छ। त्यसलाई लैङ्गिक हिंसा पनि भनिन्छ। सामान्यतया हिंसाको अर्थ शक्तिको गलत प्रयोग वा दुरुपयोग हो। विस्तृत रूपमा भन्दा डर, त्रास, भय, नैराश्य, पीडा र दुखाइको अवस्था नै हिंसा हो। व्यक्तिले जानीजानी अरूलाई शारीरिक, मानसिक, यौनजन्य वा अन्य पीडा दिन्छ भने त्यो नै हिंसा हो। हिंसा कुनै व्यक्तिविरुद्ध मात्र नभई कुनै वर्ग, समूह, जात र धार्मिक समूह, समूह-समूहबिच र समूह र व्यक्तिबिच पनि हुन सक्ने कुरा हो।

सबैभन्दा बढी चर्चामा आउने विषय भने लैङ्गिक हिंसा नै हो। लैङ्गिक हिंसाले कुनै लिङ्ग अर्थात् महिला वा पुरुष भएर जन्मिएकै आधारमा गरिने हिंसालाई जनाउँछ। हाम्रो समाजको बनावट र अभ्यासलाई नियालेर हेर्दा यसले महिलाले लामो समयदेखि भोग्दै आउनुपरेको उत्पीडनलाई बुझाउँछ। अझ विस्तृत रूपमा भन्दा प्राकृतिक लिङ्गको आधारमा महिला भएकै कारणले मात्र भएको, भोग्नुपर्ने वा घट्ने विशेष प्रकारको हिंसालाई लैङ्गिक हिंसा भनिन्छ। लैङ्गिक हिंसा महिलाले लामो समयदेखि जीवनको हरेक पक्षमा शारीरिक र मनोवैज्ञानिक पीडाको रूपमा भोग्दै आउनुपरेको छ। यस्ता कार्य गाउँ वा सहर, घरभित्र वा घरबाहिर जुनसुकै स्थानमा तथा बिहान वा साँझ जुनसुकै समयमा घट्ने गरेको पाइन्छ।

विश्वको इतिहासलाई हेर्ने हो भने महिला हिंसाका आततायी रूपको उल्लेख भएको पाइन्छ। १६औँ शताब्दीमा पश्चिमी देशहरूमा टाठाबाठा महिला, जो अधिकारको वकालत गर्थे, तिनीहरूलाई बोक्सीको आरोपमा जिउँदै जलाइएको थियो। अफ्रिकी देशहरूमा महिलाको यौन अङ्ग छेदन गरिन्थ्यो। महिलालाई दासदासीको दर्जा दिइन्थ्यो। ब्रिटिस साम्राज्यमा त महिलालाई कसैसँग यौन सम्पर्क राखे पुरुषले ती महिलाको घाँटीमा दाम्लोले बाँधेर बजारमा लिलाम बिक्री गर्ने र साट्नेसम्मका जघन्य अपराध गर्ने गरेको घटना पनि हुने गरेको पाइन्छ।

नेपालमा हालसम्म पनि दाइजो, बोक्सी, देउकी, झुमा, छाउपडीलगायतका कुप्रथाको नाउँमा र जातीय विभेदको नाउँमा महिलालाई हिंसाको पात्र बनाउने क्रम जारी नै छ। ती बाल अबोध, जसले आफ्नो बोली स्पष्ट हुन नपाउँदै देखि शरीर जीर्ण भई हाड र छालाको अस्थिपञ्जर मात्र बाँकी रहँदासम्म बलात्कार, कुटपिट, यौनजन्य हिंसा, घरेलु हिंसा, शारीरिक यातना र मानसिक पीडा भोग्न बाध्य छन्। यसको मूल कारण भनेकै समाजमा रहेको अन्धविश्वास, विभेद तथा पितृसत्ताको सर्वोच्चता हो।

नेपाल जस्तो सानो राष्ट्र, जहाँ पुरुषको भन्दा महिलाको जनसङ्ख्या बढी छ, त्यहाँ महिला नै दबिएर बस्नु परेको तितो यथार्थ छ। वि.सं. २०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्याको ४८ दशमलव ९८ प्रतिशत पुरुष र ५१ दशमलव ०२ प्रतिशत महिला रहेको देखाइएको छ। वर्तमान समयमा मानव अधिकारको एक महत्त्वपूर्ण भागको रूपमा रहेको महिला अधिकारको स्वतन्त्र रूपमा प्रयोग गर्न नपाउनु र बारम्बार उल्लङ्घन झेल्नुपर्ने स्थितिले हिंसाको अवस्था कस्तो छ भन्ने दर्शाइरहेको छ। यसले सिधै राज्यको आफ्नो नागरिकप्रतिको दायित्वमा प्रश्न खडा गरिरहेको छ।

बिडम्बना नै भन्नुपर्छ, हिन्दु परम्परा अनुसार लक्ष्मी, सरस्वती, सीता, पार्वतीको स्वरूपमा पुजिने नारी अर्कोतर्फ भने आफ्नै भूमिमा शारीरिक, मानसिक, भावनात्मक, यौनिक, आर्थिक हिंसाको सिकार भइरहन विवश छन्। हाम्रो समाजमा महिलाले बारम्बार भोगिरहनु परेको उत्पीडनलाई निम्न शब्दमा केलाउन सकिन्छ:

  • बोक्सी

नेपालमा महिलासँग विभिन्न किसिमका सामाजिक, धार्मिक, सांस्कृतिक विकृतिहरू एवं विसङ्गतिहरू जोड्ने गरिन्छ। कोही मानिस बिरामी हुँदा, कसैको बच्चा मर्दा, गाईवस्तु, पाडाबाच्छा मर्दा वा गाईभैँसीले दूध नदिँदा अन्धविश्वासको आडमा 'फलानो आइमाई बोक्सी छ' भन्ने आरोप लगाइन्छ। यी सबैको दोष उसैमाथि थुपार्दै बोक्सी भगाउने भनेर तातो पन्युले डाम्ने, शरीरमा पिल्ने, मानिसको दिसा वा पिसाब खुवाउने, गाउँबाट निकाला गर्ने जस्ता अनेकौँ यातना दिने अभ्यास केही अघिसम्म थियो। आजपर्यन्त पूर्ण रूपमा निर्मूल भइसकेको छैन। पक्कै पनि यो अशिक्षा, अन्धविश्वास, कुप्रथा र पछौटेपनकै परिणाम पनि हो। शिक्षाको प्रचार भई चेतनाको स्तरमा वृद्धि भएमा यस्ता कुरीतिहरूलाई पक्कै पनि हटाउन सकिन्छ।

  • विधवा

आफ्नो श्रीमान् गुमाएर वियोगमा डुबेकी नारीलाई हाम्रो समाजमा विधवा भनिन्छ। उनीप्रति हाम्रो समाजले गर्ने व्यवहार निकै आपत्तिजनक छ। हाम्रो समाजमा विधवालाई सामाजिक, धार्मिक दृष्टिले दोस्रो दर्जाको नागरिक मानिन्छ। विधवाहरूले अर्को विवाह गर्नु हुँदैन भन्ने रुढीवादी विचार विद्यमान छ। 'कहाँ गई', 'कोसँग बोली', 'के गरी' भन्ने संशय राखेर चियोचर्चा गरिन्छ। मानौँ श्रीमान् गुमाउनु उसैको गल्ती हो तथा श्रीमानको मृत्युपश्चात् उसलाई आफ्नो जीवन जिउने हक नै छैन। विधवा पनि अपमान र थिचोमिचोको अर्को स्वरूप बनेको छ।

  • देउकी प्रथा

सुदूरपश्चिमको पहाडी भेगमा केही मन्दिरमा कन्यालाई चढाउने चलन अद्यापि विद्यमान छ। यसरी चढाइएका कन्या (देउकी) बाल्यकालका मिठा अनुभवबाट मात्र नभई सिङ्गो जीवनको आधारभूत क्रियाकलापबाट समेत वञ्चित हुन बाध्य हुन्छन्। उनीहरूलाई विवाह गर्न वा परिवारका अन्य सदस्यसँग सम्बन्ध राख्न पनि दिइँदैन।

  • बादी

हाल तुलसीपुर, घोराही, राजापुर, नेपालगन्ज आदि स्थलहरूमा छरिएर रहेका बादी समूहलाई गरिने व्यवहार पनि निकै आपत्तिजनक छ। यौन व्यवसायलाई जीविकोपार्जनको रूपमा अँगालेका यी समूह सामाजिक र आर्थिक रूपमै पछि परिरहेका छन्। विज्ञान र प्रविधिको विकासले मानिस चन्द्रमामा बस्ती बसाल्ने ठाउँमा पुग्दा पनि यहाँ भने मानिसलाई उसले गरेको कामको आधारमा तुच्छ व्यवहार हुने क्रम घटेको छैन।

  • दाइजो प्रथा

भारतसँग सिमाना जोडिएको तराई भेगमा अझै पनि दाइजो प्रथा जीवितै छ। गरिबीले पिल्सिरहेका बाबुआमा जब छोरीको आशमा छोरा जन्माउँछन्, तब दाइजोकै डरले आफ्नै सन्तानको हत्या गरी हत्यारा कहलिन बाध्य छन्। अर्कोतर्फ जीवनभरिको मिहिनेतले जम्मा गरेको पुँजी दाइजोको रूपमा सुम्पिदा पनि छोरीको लास देख्नुपर्दा ती बाबुआमा जिउँदो लास भई बाँचिरहेको अवस्था पनि छ।

  • छाउपडी प्रथा

सुदूर र मध्यपश्चिमको पहाडी भेगमा प्रकृतिको सुन्दर उपहारस्वरूप नारीलाई आमा बनाउन योग्य बनाउने महिनावारीको प्रक्रियालाई अशुद्ध मानी यस्तो बेला घरभन्दा बाहिर गोठमा राख्ने छाउपडी प्रथा अझै पूर्ण रूपमा निर्मूल हुन सकिरहेको छैन। यसै कारण बर्सेनि कयौँ युवतीहरूको जङ्गली जनावरको टोकाइबाट मृत्यु हुने गरेको छ। यतिमा मात्र सीमित नभएर उनीहरूको बलात्कार भएका कहालीलाग्दा समाचारहरू पनि बेलाबेला आउने गरेको पाइन्छ।

यी सबै मानिसहरूले सजिलै नियाल्न सक्ने समस्याहरू हुन्। कुनै बन्द कोठाभित्र महिलाले दिनहुँ आफ्नै श्रीमान्, सासू-ससुरा वा परिवारको अन्य सदस्यहरूबाट भोग्नुपरेको घरेलु हिंसाको बारेमा त बिरलै चर्चा हुने गर्छ। विशेषतः विवाहित महिलालाई 'परिवारको इज्जत तिम्रो' र 'जस्तोसुकै परिस्थितिमा पनि घर धानेर बस्नु' भनी इज्जतको बोझ थोपरेर हिंसा सहन बाध्य बनाइन्छ। आफ्नो भाग्यलाई दोष दिई उनीहरूले पनि त्यसलाई नै आफ्नो जीवन मानिरहेका हुन्छन्। जसले यस्तो अवस्थाको विरुद्धमा बोल्ने र उभिने प्रयास गर्छ, उसलाई हाम्रो समाजले न त बोल्ने मौका दिन्छ न त उभिने ठाउँ नै। उनलाई एक्लो र गलत प्रमाणित गराउने प्रयास हुन्छ।

नेपाल प्रहरीले भर्खरै जारी गरेको तथ्याङ्क अनुसार लैङ्गिक हिंसाबाट सबैभन्दा पीडित वर्ग भनेकै महिला हुन्। त्यसैगरी आ.व. २०८०/८१ मा दायर भएको घरेलु हिंसा सम्बन्धी कसुरमा ७८ दशमलव ३ प्रतिशत महिलाविरुद्ध भएको पाइएको छ। जसमा यौनिक हिंसा पनि जोडिएको छ। सबैभन्दा बढी उजुरी कर्णाली र कम गण्डकी प्रदेशबाट सङ्कलन भएको पाइएको छ।

नेपालमा हालसम्म लैङ्गिक हिंसामा कुनै छुट्टै कानुन नभए पनि यसलाई घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अन्तर्गत नै समावेश गरिएको पाइन्छ। त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १४ मा कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसुर, परिच्छेद १८ मा करणी सम्बन्धी कसुर अन्तर्गत कसैलाई यौन दुर्व्यवहार गर्न नहुने कुरा उल्लेख गरिएको छ। तर सरकारी र गैरसरकारी निकायहरूको बारम्बार प्रयास तथा कठोर कानुनी व्यवस्थाको बाबजुद पनि लैङ्गिक हिंसा कम गर्ने मामलामा उल्लेखनीय सुधार देखिएको छैन।

यस्तो अवस्थामा राज्य आफ्नो दायित्व पुरा गर्न असफल भएको मान्न सकिन्छ। लैङ्गिक हिंसा जस्तो सामाजिक विकृतिको रूपमा रहेको समस्यालाई निर्मूल पार्न राज्यले सर्वप्रथम त यसको मूल कारण खोज्नु जरुरी छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार महिलाले आफू आर्थिक रूपमा सबल नभएको कारणले पनि हिंसा भोग्ने गर्दछन्। त्यसकारण राज्यले महिला सशक्तीकरणमा जोड दिनु जरुरी छ। उनीहरूलाई रोजगारमूलक तालिमहरू दिएर आर्थिक निर्भरताको बाटो खुलाइदिनुपर्छ। साथै यस्तो समस्यालाई जरैबाट निर्मूल पार्न स्थानीय निकायको भूमिकामा जोड दिनु पनि जरुरी देखिन्छ। त्यही अनुसार नीति नियम तर्जुमा गरेर कडा कारबाहीसहित स्थानीय निकायले पहल लिएमा अवश्य पनि सुधार देख्न सकिन्छ।

साक्षरता दरमा तुलनात्मक रूपमा सुधार देखिएता पनि दुर्गम भेग जस्तै हुम्ला, जुम्ला, रुकुम, डोटी, बाजुरा लगायतका स्थानमा रहेका धेरै महिलाहरूलाई आफ्नो अधिकार, हिंसा तथा सजायको समेत सामान्य ज्ञान पनि नभएकाले उनीहरू अन्यायलाई नियति ठान्न विवश छन्। उनीहरूलाई कर्म वा भाग्यको सहाराबाट बाहिर निकाल्न तथा आफ्नो हकको लागि लड्न सिकाउन पनि जागरणमूलक कार्यक्रम गर्नु पनि आवश्यक छ।

सारमा, आज पनि देशमा लैङ्गिक हिंसा व्याप्त छ। सहर र गाउँमा स्वरूप फरक छ, तर हिंसाको चपेटामा परेका महिलाहरूको सङ्ख्या भने कम छैन। यसका लागी राज्य, सम्बन्धित निकाय तथा सरोकारवालाहरूले थप सक्रिय र परिणाममुखी कदम चाल्न आवश्यक छ। संसार ब्रह्माण्डको विचरणमा हिँड्न थालेको युगमा देशमा आमा, दिदीबहिनीहरू महिला हिंसाको दलदलमा पिल्सिनु पक्कै पनि असह्य विषय हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रितिमा भट्ट
रितिमा भट्ट
लेखकबाट थप