शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

‘निर्वाचन संकट होइन, परिवर्तन र उत्साहको माध्यम हो’

सोमबार, ०७ पुस २०८२, २१ : २४
सोमबार, ०७ पुस २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।

साेमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचनमा ढुक्क भएर सहभागी हुन आग्रह गरिन् । उनले निर्वाचनलाई सङ्कट होइन, परिवर्तन र उत्साहको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि ८ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न राजनीतिक दलका नेता तथा दुई जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखेका थिए । छलफलमा सहभागी अधिकांशले निर्वाचन हुनुपर्ने मत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीले संविधानअनुसार प्रतिनिधिसभाको दुई अधिवेशनबिच ६ महिनाभन्दा बढी रिक्तता हुन नहुने व्यवस्थाका कारण निर्वाचन अपरिहार्य भएको बताइन् ।

उनले निर्वाचन शान्तिपूर्ण रूपमा परिवर्तन ल्याउने माध्यम भएकाले हिंसा र विद्रोहभन्दा यही बाटोबाट हुने परिवर्तन दिगो र लोकतान्त्रिक हुने धारणा राखिन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले समाज र राष्ट्रलाई परिवर्तनको आवश्यकता महसुस गराएको बताइन् ।

जेनजी र युवापुस्ताले उठाएका प्रश्नहरूको समाधान गर्ने दायित्व सबैको भएकाे भन्दै उनले परिवर्तित समयअनुसार राजनीतिक दलबाट अझ बढी सकारात्मक भूमिका अपेक्षित रहेको धारणा राखिन् ।

प्रधानमन्त्री कार्कीले सरकार आलोचना सहन तयार रहेको तर त्यो सबै मुलुकको हितका लागि हुनुपर्नेमा जोड दिइन् ।

“सरकारमाथि जेनजी र दल दुवैबाट आलोचना भइरहेको छ, हामी त्यो सहन तयार छौँ । राजनीतिक दल, नागरिक समाज, पत्रकार र कर्मचारी सबैलाई मुलुकको उन्नति र विकासका लागि सहयोग गर्न आग्रह गरिरहेका छौँ । त्यसैले बाँकी समयलाई प्रभावकारी रूपमा उपयोग गर्दै निरन्तर संवाद र काम भइरहेको छ । यसमा सबै लागौँ, तोकिएको समयमै निर्वाचन गरौँ”, उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप