बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एसएसपी लालबाबु गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मङ्गलबार, ०८ पुस २०८२, १६ : ४५
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीले नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ।
  • गिरीले भारतको बोर्डबाट नक्कली एसएलसी प्रमाणपत्र पेश गरी जागिर र बढुवा लिएको पुष्टि भएको छ।

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको तथा बढुवा लिएको आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गिरीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो।

सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा एसएसपी गिरीको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। तर, उक्त बोर्डको अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको र गिरीले पेस गरेको प्रमाणपत्रमा रोल कोड ५५०१ र रोल नम्बर ७१८ रहेको आयोगको भनाइ छ। यस आधारमा उनको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आयोगले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गिरीले सोही नक्कली एसएलसीको प्रमाणपत्र प्रयोग गरी २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङको योग्यता हासिल गरेका थिए।

उनले उक्त प्रमाणपत्रहरू पेस गरी २०५२ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा सुरु नियुक्ति लिएका थिए। सोही आधारमा बढुवा हुँदै उनी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पुगेका थिए।

झूट्टा र नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी ओहदा, लाभ र सुविधाहरू लिएको देखिएकोले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको आयोगको दाबी छ।

आयोगले गिरीलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप