निर्वाचन ऐन संशोधनमा अपाङ्गता भएका व्यक्तिको अपमान, संवैधानिक हक खोसिएको भन्दै आन्दोलनको चेतावनी
सारांश
- अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित नगरेको भन्दै सरोकारवाला संघ-संस्थाहरू आन्दोलित भएका छन्।
- प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दा समानुपातिक उम्मेदवारको समावेशी क्लस्टरबाट अपाङ्गता भएका व्यक्तिहरूलाई हटाइयो।
- अपाङ्गता भएका व्यक्तिहरूले संविधानको उल्लंघन भएको र अधिकार कुण्ठित गरेको भन्दै विरोध जनाएका छन्।
काठमाडौँ । सरकारले अध्यादेशमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित नगरेको भन्दै सरोकारवाला संघ-संस्थाहरू आन्दोलित भएका छन्। प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहँदा सरकारले ऐनको अनुसूची-१ मा हेरफेर गरी समानुपातिक उम्मेदवारको समावेशी क्लस्टरबाट अपाङ्गता भएका व्यक्तिहरूलाई हटाएपछि चौतर्फी विरोध सुरु भएको हो।
कुल जनसंख्याको २.२ प्रतिशत हिस्सा ओगट्ने समुदायलाई राज्यको मूल प्रवाहबाट बाहिर राख्न खोजिएको भन्दै उनीहरूले मंगलबार गम्भीर ध्यानाकर्षण गराएका छन्। यो कदम नेपालको संविधानको धारा ४२ (१) र धारा ८४ (३) को स्पष्ट उल्लंघन भएको दाबी गरिएको छ।
संविधानले राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिँदा अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य समेट्नुपर्ने व्यवस्था गरेको छ। नेपाल पक्ष राष्ट्र रहेको 'अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि' को मर्मविपरीत सरकारले अधिकार कुण्ठित गरेको भन्दै पीडित पक्षले आक्रोश पोखेका छन्।
२०६२/६३ को जनआन्दोलनमा समेत सक्रिय भूमिका खेलेका व्यक्तिहरूको योगदानलाई बेवास्ता गर्दै समावेशी लोकतन्त्रको उपहास गरिएको उनीहरूको तर्क छ। अपाङ्गता भएका व्यक्तिका पक्षमा काम गर्ने संस्थाहरूले उक्त विवादित अध्यादेश तत्काल सच्याउन राष्ट्रपति, सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूलाई निर्वाचित गर्ने बाध्यकारी व्यवस्था कायमै राख्न माग गर्दै उनीहरूले माग पूरा नभए कानुनी उपचार खोज्ने र देशभर शान्तिपूर्ण आन्दोलन चर्काउने चेतावनी दिएका छन्। सरकारले समावेशी क्लस्टरमा गरेको यो विभेदकारी निर्णयले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि नै प्रहार गरेको भन्दै अधिकारवादीहरूले आपत्ति जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण