बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो

बुधबार, ०९ पुस २०८२, ०१ : ३७
बुधबार, ०९ पुस २०८२

सारांश

  • भोजपुरमा आयुर्वेदिक उपचारप्रतिको आकर्षण बढ्दै गएको छ, किनभने यसले कम खर्चमा स्वास्थ्य लाभ दिन्छ ।
  • केन्द्रमा दैनिक १०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्, विभिन्न रोगका बिरामीहरु यहाँ आउँछन् ।
  • एलोपेथिक उपचारबाट निको नभएका बिरामी आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका छन् र सुधार भएको अनुभव सुनाएका छन्।

भोजपुर । भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् ।

पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरू पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा उपचारका लागि आउने बिरामीको चाप उल्लेखनीय रूपमा बढेको प्रमुख नुतन महतो बताए । केन्द्रका अनुसार हाल दैनिक रूपमा १०० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन् ।

केन्द्रमा पेट, अल्सर, नसा च्यापिएको, पायल्स, ढाड दुख्ने समस्या, जन्डिस, ग्यास्ट्रिक, दम–खोकी, हाडजोर्नी तथा महिनावारी, पिनास, रोगका बिरामी सङ्ख्या बढी आउने कार्यालय प्रमुख महतोले जानकारी दिए । विभिन्न विधिबाट स्वास्थ्यकर्मीले प्रभावकारी सेवा दिन थालेपछि आयुर्वेदिक उपचारप्रति बिरामीको विश्वास बढेको केन्द्रको भनाइ छ ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै केन्द्रमा विभिन्न आधुनिक स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । रोगको प्रकृतिअनुसार आयुर्वेदिक औषधिसँगै उपकरणको सहायताबाट उपचार पद्धति अपनाइँदै आएको कार्यालयले जनाएको छ ।

लामो समयसम्म एलोपेथिक उपचार गर्दा पनि रोग निको नभएका बिरामी आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय केशरबहादुर श्रेष्ठले लामो समयसम्म ढाडको समस्याबाट पीडित भए पनि आयुर्वेदिक उपचारपछि स्वास्थ्यमा सुधार आएको अनुभव सुनाए। “ठुला अस्पतालमा उपचार गर्दा पनि निको नभएको रोग यहाँ उपचार गराएपछि बिस्तारै ठिक हुँदै गयो”, उनले भने ।

विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीबाट मिश्रित औषधि तथा चूर्ण वितरण सुरु गरिएको थियो । हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरसहित टक्सार, दिङ्ला र ओख्रे औषधालय शाखा सञ्चालनमा छन् । साथै अरुण गाउँपालिका चम्पे, हतुवागढीको घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप