बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सडक विस्तार

डेटिकेटेड दुई लेनदेखि ६ लेनसम्मको बन्दैछ नागढुंगा-मुग्लिन सडक

बुधबार, ०९ पुस २०८२, १८ : ००
बुधबार, ०९ पुस २०८२

काठमाडौँ । नागढुंगा-मुग्लिन सडक संघीय राजधानी काठमाडौं जोड्ने मुख्य ‘लाइफलाइन’ हो । दुई लेनको यो सडक विस्तारको काम चार वर्षदेखि भइरहेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ९५ किलोमिटर लामो यो सडकखण्डलाई भौगोलिक बनावट र सवारी चापका आधारमा डेटिकेटेड २ लेनदेखि ६ लेनसम्म विस्तार गरिँदैछ ।
 
नागढुंगा-मुग्लिन सडक दुईवटा राजमार्ग अन्तर्गत पर्छन् । नागढुंगा-नौबिसे खण्ड त्रिभुवन राजपथ पर्छ भने नौबिसे-मुग्लिन खण्ड पृथ्वी राजमार्ग अन्तर्गत पर्छ । 

नागढुंगा-मुग्लिन सडक विस्तारलाई तीनवटा प्याकेजमा बाँडिएको छ । जसअनुसार नागढुंगा–नौबिसे खण्डको १२.२६ किलोमिटरलाई पहिलो प्याकेज, नौबिसे–मलेखु ४३.५२ किलोमिटरलाई दोस्रो प्याकेज र मलेखु–मुग्लिन ३८.८६ किलोमिटरलाई तेस्रो प्याकेजको रुपमा राखिएको छ । यसमध्ये पहिलो र दोस्रो प्याकेज नागढुंगा-नौबिसे पूर्वीखण्ड गजुरी धादिङ अन्तर्गत निर्माणको चरणमा छ भने तेस्रो प्याकेज नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनअन्तर्गत निर्माणाधीन छ ।

नागढुंगा-नौबिसेमा ६२ प्रतिशत इन्टरमिडिएट लेन
 
नागढुंगादेखि नौबिसेसम्मको १२.२६ किलोमिटर सडकमध्ये ६२.६४ प्रतिशत इन्टरमिडिएट लेनको हुने आयोजनाले जनाएको छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार यस प्याकेजअन्तर्गतको सडक ७.६८ किलोमिटर इन्टरमिडिएट लेन (सिंगल लेनभन्दा फराकिलो तर दुई लेन भन्दा साँघुरो) मा विस्तार गरिने भएको छ । विशेषगरी दुई लेनमा विस्तार गर्न नसकिने  जटिल खालको भूगोलमा इन्टरमिडिएट लेन निर्माण गरिन्छ । 

यस्तै यस प्याकेजमा २.४१ किलोमिटर सडक डेडिकेटेड दुई लेनमा विस्तार गरिँदैछ । २.१७ किलोमिटर सडक ४ लेनमा विस्तार भइरहेको छ । यो खण्ड १ अर्ब ३० करोड रुपैयाँ लागतमा जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते २४ महिनाभित्र स्तरोन्नति सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर डेढ वर्षपछि मात्रै विस्तार थालिएको यो सडक २०८१ जेठ २८ गते सक्नुपर्नेमा नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो । 

उक्त म्यादमा नसकिएपछि दोस्रोपटक २०८२ साउन १० गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर त्यस अवधिमा सम्पन्न हुन सकेन र आगामी फागुनसम्म म्याद थप गरिएको थियो । यो प्याकेज हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । 

नौबिसे–मलेखु खण्ड 

नौबिसेदेखि मलेखुसम्म ४३.५२ किलोमिटर सडकखण्डलाई तेस्रो प्याकेजमा छुट्याएर विस्तार भइरहेको छ । यसअन्तर्गत १९.८९ किलोमिटर सडक दुई लेनमा विस्तार भइरहेको  छ । यो ५४.३० प्रतिशत हो । यस्तै १४.८७ किलोमिटर दुई लेनको सडकमा खोचतर्फ थपिएको उकालो (क्लाइम्बिङ) लेनसहितको सडक (अर्थात् तीन लेन) रहेको छ । 

पहाडी सडकको ठाडो उकालोमा जब ठुला र भारी सवारीसाधन (जस्तै- ट्रक, बस) विस्तारै गुड्छन्, तिनीहरूले गर्दा पछाडि साना र छिटो चल्ने गाडीहरू रोकिन पुग्छन् । यस्तो अवस्थामा ढिलो चल्ने गाडीलाई गुड्न छुट्टै एउटा अतिरिक्त लेन बनाइएको हुन्छ, जसले गाडीहरूले उकालोमा पनि सजिलै ओभरटेक गर्न सक्छन् र ट्राफिक जाम हुँदैन ।

यसैगरी ६.६८ किलोमिटर चार लेन र १.९८ किलोमिटर सडक सर्भिसलेन भएको चारलेन (६ लेन) सडकमा विस्तार भइरहेको छ । यो प्याकेज विस्तारका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा जेडआईसीजी–शर्मा–लामा जेभीले २०७९ वैशाख १४ गते ३ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर त्यस अवधिमा नसकिएपछि २०८३ कत्तिकसम्म म्याद थपिएको छ । यो प्याकेजको हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको छ ।
 
मलेखु–मुग्लिनमा २५ किलोमिटर ‘डेडिकेटेड’ दुई लेन हुने

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत मुग्लिनदेखि मलेखुसम्मको सडक विस्तार कार्यलाई तीव्रता दिइएको छ । आयोजनाले सडकको भौगोलिक बनावट र सवारी चापलाई ध्यानमा राख्दै विभिन्न खण्डहरूलाई फरक–फरक लेनमा विस्तार गरिरहेको छ ।

आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर सचेन्द्र मिश्रका अनुसार मुग्लिन–मलेखु–बेनीघाट खण्डको दुई किलोमिटर सडक ६ लेनको हुनेछ । त्यस्तै, रमाइलो डाँडा, कुरिनटार, लेवाटार, मजिनटार र चरौँदी खण्डमा गरी ७ किलोमिटर सडक ४ लेनमा विस्तार गरिँदैछ ।

सडकको ग्रेड ५ प्रतिशतभन्दा बढी भएको उकालो-ओरालो भएको सडकमा ट्राफिक जाम कम गर्न र सवारीको गति सन्तुलित बनाउन तीन लेनको अवधारणा ल्याइएको छ । यस्तो तीन लेनको सडक विभिन्न ठाउँमा गरी कुल चार किलोमिटर रहेको छ । बाँकी रहेको २५.८४ किलोमिटर सडक भने ‘डेडिकेटेड’ दुई लेनको हुनेछ ।

मुग्लिन–मलेखु खण्डमा कुल ६ वटा नयाँ पुल निर्माण भइरहेका छन् । जसमध्ये चारवटा पुलको स्ल्याब ढलान सम्पन्न भइसकेको छ भने अहिले पहुँच सडक (एप्रोच रोड) निर्माणको काम भइरहेको छ । बाँकी दुईवटा पुल (हुग्दी र चरौँदी) को भने जग (फाउण्डेसन) र सब–स्ट्रक्चरको काम भइरहेको आयोजनाले जनाएको छ ।

निर्माणाधीन सबै ६ वटै पुल साढे ७ मिटर चौडाइका अर्थात् ‘डेडिकेटेड’ दुई लेनका हुनेछन् । पुलहरूमा पैदलयात्रीका लागि छुट्टै फुटपाथको समेत व्यवस्था गरिनेछ ।

२०७९ पुस १५ गते ठेक्का सम्झौता भएको यो खण्ड कुल ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा शर्मा–जेडआईसीजीले निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ भित्र सक्नुपर्ने म्याद छ । तर म्याद सकिनै लाग्दा जम्मा ३५ प्रतिशत मात्रै भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । उक्त म्यादभित्र विस्तार सम्पन्न नहुने भएपछि म्याद थपका लागि प्रक्रिया अघि बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप