कमल थापा : हारेको झोँकमा पार्टी परित्याग, हन्डर खाएर फेरि फिर्ता
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरि राप्रपामा फर्किएका छन्, फागुन २१ मा हुने निर्वाचनको मुखैमा।
- राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गर्दै थापाले ४ वर्षपछि पुरानो पार्टीमा पुनरागमन गरेका हुन्।
- पार्टी एकताको औपचारिक घोषणा आगामी पुस १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने भएको छ।
काठमाडौँ । आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरि राप्रपामा फर्किएका छन् ।
बुधबार थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गर्ने सहमति गरेसँगै गत महाधिवेशनमा 'सरप्राइज’ हारपछि चिढिएर पार्टी नै छाडेर हिँडेका थापा ४ वर्षछि पुनः आफ्नो पुरानो घर फर्किएका हुन् ।
बुधबार साँझ धुम्बाराहीस्थित राप्रपा कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । थापा उनै हुन्, जसले २०६२/०६३ सालको जनआन्दोलनपछि कठिन समयमा राप्रपा नेपाल बनाएर राजतन्त्र पुनस्र्थापनाको एजेण्डा अघि सारेका थिए । उनै थापाले पछि पशुपति शमशेर राणालगायतका राप्रपा धारलाई एकतामा ल्याएर एकीकृत राप्रपा बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।
तर २०७८ मङ्सिरमा राप्रपाको महाधिवेशन हुँदा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग उनै थापा अप्रत्याशित रूपमा पराजित भएका थिए । कमल थापाले त्यसलाई सहजै स्वीकार गर्न सकेनन् ।
उनले हारको झोँकमा निर्मल निवास र पूर्वराजाले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाए । त्यही आक्रोशमा थापाले २०७८ माघ २५ गते आफूले जीवनभर बोकेको राजतन्त्रको एजेन्डा र पार्टी दुवै परित्याग गरेको घोषणा गरे ।
पार्टी छाड्नुअघि थापाले दरबारबाट भएको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई आग्रह गरेका थिए । तर त्यसमा लिङ्देन तयार भएका थिएनन् । त्यतिबेला लिङ्देनले हारको रन्कोमा थापाले दरबारलाई अनावश्यक आरोप लगाएको टिप्पणी समेत गरेका थिए ।
राप्रपाबाट अलग भएपछि थापाले राप्रपा नेपाललाई पुनर्जागृत गरे । सो अघि नै पार्टी नफुटाउने भनेर गीताको कसम खाएकाले थापाले पार्टी परित्याग मात्रै गरेर आफ्नै किसिमले राप्रपा नेपाल बनाएका थिए । रोचक त के छ भने कुनै समय 'राजाविनाको देश कल्पना गर्न सकिन्न’ भन्ने थापाले नयाँ पार्टी बनाउँदै गणतन्त्रात्मक व्यवस्थामा पाइला चाल्न थाले । उनले राजनीतिमा टिक्नका लागि अनेक प्रयोग पनि नगरेका होइनन् । गत आम निर्वाचनमा उनले नेकपा एमालेको सूर्य चिह्न लिएर मकवानपुरबाट चुनाव समेत लडे । तर, परिणाम सोचेजस्तो भएन । एमालेको साथ पाउँदा पनि उनी पराजित भए भने उनको पार्टीले समानुपातिकतर्फ लज्जास्पद मत प्राप्त गर्यो ।
हन्डर खाएपछि पुरानै बाटोमा
राजनीतिक रूपमा एक्लिँदै गएपछि र पार्टी ’क्लब’ जस्तो मात्रै बनेपछि थापाले फेरि पुरानै एजेन्डा ब्युँताउने चलाखी गरे । बिचैमा उनले 'संवैधानिक राजसंस्थासहितको हिन्दुराष्ट्र’ लाई पुनः आफ्नो पार्टीको मूल एजेन्डा बनाए । तर एजेन्डा र अस्तित्व दुवै संकटमा परेपछि उनी अन्ततः लिङ्देनकै नेतृत्व स्विकार्ने स्थितिमा पुगेका हुन् ।
बुधबारको सहमतिमा हस्ताक्षर गरेपछि थापाले विगतका गल्ती स्वीकार गर्दै भने, 'विगतमा पार्टी टुटफुट हुँदा हामीले धेरै तीतो अनुभव र पीडा भोगेका छौं, त्यसबाट हामीले पाठ सिकेका छौं । अब यो एकता अजर, अमर र अटुट रहनेछ ।’ उनले आफू बिना सर्त पार्टीमा आएको र पार्टीले जहाँबाट भन्छ, त्यहीँबाट आगामी फागुन २१ को निर्वाचन लड्न तयार रहेको समेत बताए ।
कार्यकर्ताको दबाब र चुनावी बाध्यता
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने यो एकतालाई कार्यकर्ताको चाहना र ऐतिहासिक आवश्यकताका रूपमा व्याख्या गरे । लिङ्देनका अनुसार देशभरका शुभचिन्तक र कार्यकर्ताहरूको निरन्तरको दबाबका कारण राष्ट्रवादी शक्तिहरूलाई एउटै मञ्चमा ल्याउन यो सहमति भएको हो ।
राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले एकताका लागि हाल दुई हरफको सहमतिपत्रमा हस्ताक्षर भएको बताउँदै बाँकी कुराहरू क्रमशः मिलाउँदै लगिने बताए । पार्टी एकताको औपचारिक घोषणा सभा आगामी पुस १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने तय भएको उनको भनाइ छ ।
कुनै समय राजतन्त्रसँग ’डिभोर्स’ गरेका थापा फेरि त्यही एजेन्डा बोकेर पुरानै नेतृत्वको फेरो समात्न आइपुग्नुलाई राजनीतिक वृत्तमा उनको बाध्यकारी फिर्तीका रूपमा हेरिएको छ । तर अर्को कुरा के पनि छ भने लिङ्देनले थापालाई पार्टीमा भित्र्याउनुमा राप्रपाभित्रको आन्तरिक राजनीतिको कारण पनि भएको राप्रपाका नेताहरू बताउँछन् ।
लिङ्देन महाधिवेशन अघि कमल थापा निकट कै हुन् । महाधिवेशनमा मात्रै उनले धवल शमशेर राणालगायतको साथ पाएर थापालाई चुनौती दिएका थिए ।
महाधिवेशनबाट निर्वाचित भएपछि युवा नेतृत्वको रुपमा आफूलाई आम जनतामाझ चिनाउन सफल भएर लिङ्देनले पार्टीलाई गति पनि दिन सफल भए ।
सोही विश्वासको जगमा उनले संसदमा पार्टीको हैसियत पाँचौँ शक्तिको रुपमा दर्ज गराए । तर पछिल्लो समय पार्टीभित्र चरम गुटबन्दी छ । महाधिवेशनमा एकै प्यानलमा खडा भएका धवल शमशेरले राणालाई निरन्तर चुनौती दिइरहेका छन् ।
पार्टीभित्र विवादै विवाद रहेको र अब छिट्टै महाधिवेशन पनि गर्नुपर्ने स्थितिमा थापालाई भित्र्याएर लिङ्देनले अब राणा समूहलाई साइजमा राख्न रणनीति लिएको समेत कतिपयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण