बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

मूलधारमा फर्किन रास्वपाको स्टन्ट, पार्टी एकताको पक्षमा छैनन् कुलमान

बिहीबार, १० पुस २०८२, १८ : १७
बिहीबार, १० पुस २०८२

सारांश

  • रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच ५ घन्टा वार्ता भएको थियो, तर औपचारिक कुरा बाहिर आएको छैन।
  • रास्वपाले कुलमान घिसिङलाई वरिष्ठ उपाध्यक्ष बनाउने हल्ला फैलाएर र विवेकशील साझासँग एकता गरेर चर्चा बटुल्यो।
  • बालेन र लामिछानेको भेटघाटले रास्वपालाई वैकल्पिक राजनीतिको केन्द्रको रूपमा स्थापित गर्न मद्दत गरेको विश्लेषण छ।

काठमाडौँ । सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच पाँच घन्टा वार्ता भयो । 

मेयर बालेनका सहयोगी कुमार बेनसहित तीन जना मात्रै सहभागी उक्त वार्तामा के भयो औपचारिक रूपमा कसैले बोलेका छैनन् । तर बजारमा बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर रास्वपा नाममा चुनावमा जाने सहमति भएको हल्ला व्यापक चल्यो । त्यसरी हल्ला गर्ने अधिकांश व्यक्ति रास्वपाका कार्यकर्ताहरू नै हुन् । 

जेनजी आन्दोलनलगत्तै सरकार गठनको समयताका रास्वपाको लोकप्रियता ग्राफ ह्वातै घटेको थियो । त्यतिबेला वैकल्पिक राजनीतिको मूलधारबाट बाहिरिएको चर्चा भएको रास्वपालाई अहिले फेरि मूलधारकै मुख्य शक्तिको रूपमा हेर्न थालिएको छ ।

जेनजी आन्दोलनलगत्तै रास्वपामा कुनै ठुलो परिवर्तन भएको छैन । यो अवधिमा रास्वपाले न त आफ्नो नीतिमा परिवर्तन गरेको छ, न त नेतृत्वमै । यतिसम्म कि; रास्वपाले आफ्नो कार्यशैलीमा समेत खासै परिवर्तन गरेको छैन । तर पनि योबिचमा रास्वपाले फेरि कसरी आफूलाई मूलधारमा लैजान सफल भयो त ? यसका पछाडि रास्वपाले गरेका केही स्टन्टलाई मुख्य कारण मान्ने गरिएको छ । 

आफूलाई कमब्याक गर्न रास्वपाले गरेका ‘स्टन्ट’

नयाँ सरकार गठन र चुनावी प्रक्रियासँगै नयाँ राजनीतिक दलहरू दर्ताको क्रम चल्दै थियो । लामिछाने जेलबाट निस्किएपछि खस्किएको रास्वपाको क्रेज त्यतिबेलासम्म लगभग उस्तै थियो । त्योबिचमा रास्वपाले एउटा हल्ला (स्टन्ट) गर्‍यो– त्यो हो, कुलमानलाई वरिष्ठ उपाध्यक्षको हैसियतमा ल्याउने र प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जानेगरी सहमति । 

लामिछाने जेलमा भएको र बाहिरै भए पनि अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार हुन नसक्ने विश्लेषणबिच यो सम्भावनालाई पत्याउन सक्ने आधार प्रशस्त थियो । तर वास्तवमा यस्तो कुनै छलफल नै भएको थिएन । 

उज्यालो नेपाल पार्टीका संरक्षक रहेका कुलमान घिसिङ यही विषयलाई लिएर रास्वपासँग असन्तुष्ट छन् । ‘हामीसँग कुरा नै नगरी बजारमा हल्ला फैलाइयो, स्टन्ट गरियो । हाम्रो नाम प्रयोग गरेर आफ्नो राजनीति बचाउनेतिर लागियो,’ कुलमानले आफू निकटलाई भन्ने गरेका छन्, ‘आफ्नै दलबाट चुनाव लड्ने हो, अब रास्वपासँग पार्टी एकताको सम्भावना छैन, धेरै भए कार्यगत एकतासम्म मात्रै हो ।’

मूलधारमा ल्याउन रास्वपाले गरेको काम भनेको विवेकशील साझासँगको एकता हो । समीक्षा बास्कोटा, रञ्जु दर्शना लगायतले नेतृत्व गरिरहेको रास्वपाले सभापति लामिछाने जेलमै हुँदै एकता गरेको थियो । एकता भएको एक महिनाभन्दा धेरै हुन लागेको छ, तर अहिलेसम्म विधानले चिन्ने केन्द्रीय कमिटीमा उनीहरूलाई प्रवेश गराइएको छैन । बरु संघीय नेतृत्व मञ्च नामको विधानविपरीतको संरचना बनाएर राख्ने प्रयास गरिएको छ । 

त्यसो त रास्वपासँग एकता हुनुअघि कुलमानको टिमले विवेकशीलसँग वार्ता गरेको थियो । तर वार्ता चल्दै गर्दा विवेकशीलले रास्वपामा मिल्नेगरी सहमति गर्‍यो । यो घटनाले समेत कुलमान यतिबेला रास्वपासँग चिढिएका छन् । 

रास्वपाले गरेको अर्को स्टन्ट भनेको चर्चित कलाकारसँग लामिछानेले जेलमै गएर भेट गर्नु हो । योबिचमा रविले रामचन्द्र अधिकारी, राजाराम बर्तौला, खगेन्द्र लामिछाने, अशोक शर्मा, अनुराग कुमार, प्रकाश सुवेदी, दीपेन्द्रकुमार खनाल लगायतसँग भेट मात्रै गरेनन्, उनीहरूलाई बाहिर मिडियामा आएर ‘रविमाथि अन्याय भयो’ भन्नसमेत लगाए । यो स्टन्टले समेत रास्वपाको कमब्याकमा ठुलो सहयोग गरेको विश्लेषण गरिएको छ । 

बालेनसँगको वार्तामा पनि स्टन्ट

रास्वपाका सभापति लामिछाने र मेयर बालेन शाहबिच गत पुस ७ गते बेलुका भेट भयो । उक्त भेटका विषयमा रास्वपाले ठुलो प्रचार गर्‍यो । आगामी निर्वाचनमा मिलेर जाने र प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने प्रस्ताव सभापतिले गरेको प्रचार गरियो । 

प्रधानमन्त्रीमा अघि सार्ने विषय भेटमा प्रवेश नगरेको स्वयं सभापति लामिछानेले स्वीकार गरिसकेका छन् । बालेन र लामिछानेको भेटले रास्वपालाई माथि उठ्न थप बलियो आधार बनेको छ । बालेन पनि रास्वपाकै लाइनमा आएको सन्देश बाहिर जाँदा रास्वपा अझ बलियो र वैकल्पिक राजनीतिक दलको मुख्य केन्द्र रहेको देखाउन सफल भएको छ । 

लामिछानेसँगको भेटको तीन दिन नबित्दै बालेन ‘देश विकास पार्टी’बाट आफ्नै नेतृत्वमा राजनीतिमा अघि बढ्ने अवस्था पनि देखिएको छ । देश विकास पार्टी निर्वाचन प्रयोजनका लागि यसअघि नै दर्ता भइसकेको छ । उक्त पार्टीको निर्वाचन चिह्न ‘लौरो’ राखिएको छ, जसबाट बालेनले मेयर पदमा विजय हासिल गरेका थिए । लामिछानेसँगको भेटपछि ‘बालेन रास्वपामा प्रवेश गरे’ भन्ने प्रचार गर्न रास्वपाले भ्याइसकेको थियो । फेरि बिहीबार बालेन र लामिछानेबिच पुनः वार्ता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप