रवि-बालेन एकता : छलफलमा थिए अरू ५ दल र नेता पनि, अन्तिममा किन छुटे ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिचको सातबुँदे सम्झौताले मुलुकको राजनीति तरंगित बनेको छ । रातभरको वार्तापछि बिहान साढे ४ बजेतिर रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबिच सम्झौता भएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मर्म अनुरुप काम गर्न नयाँ पुस्ता राजनीतिक नेतृत्वमा आउनुपर्ने आम नागरिकको चाहना छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने र रवि लामिछाने पार्टी सभापति रहनेगरी सम्झौता भएको छ । २०७९ सालको निर्वाचन मार्फत वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको रास्वपा बालेन भित्रिएसँगै थप बलियो शक्ति बन्ने दाबी गर्न थालिएको छ ।
सबै वैकल्पिक राजनीतिक शक्तिहरू मिल्नुपर्ने दबाब बढ्दै गएको बेला अहिलेको प्रक्रियामा सबैभन्दा चासोको अर्को नाम कुलमान घिसिङ र उनी संरक्षकत्वको उज्यालो नेपाल पार्टी छुटेको छ । निरन्तर वार्ता भएपनि अन्तिम समयमा रवि-बालेन एकतामा कुलमान अटाएनन् ।
सम्मानजनक एकताको खोजीमा कुलमान
आइतबार बिहान रास्वपा र बालेनबिच मात्रै सम्झौता भयो । जसमा नयाँ वैकल्पिक शक्तिको रुपमा उदाउने क्रममा रहेको उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ सम्झौतामा अटाएनन् । बालेन र कुलमान लामो समयदेखि एकता गरेर जाने तयारी गरेका थिए । तर एकता गर्ने समयमा कुलमान छुटे । बालेनले कुलमान र जेनजी अभियन्ताहरूलाई सँगै लिएर जानुपर्ने सर्त राख्दै आएका थिए ।

मध्यरातसम्म एकता वार्तामा बसेर छुटेका कुलमानले रवि-बालेनको सम्झौतापछि पोखरामा पुगेर कार्यकर्ता भेलामा वैकल्पिक सबै शक्ति एक हुनुपर्ने धारणा राखे । उनले सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने दोहोर्याए ।
‘सही नेतृत्व, वैकल्पिक शक्ति सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु,’ कुलमानले भने ।
उनले उज्यालो नेपाल पार्टी सम्मान र स्वाभिमान नमेटाइकन सबैसँगै सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यसतर्फ धेरै कुराहरु भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्ट पनि आउँछ ।’
उज्यालो नेपालका प्रवक्ता डा. राजु थापाले रवि लामिछाने र कुलमान घिसिङबिच अझै संवादको ढोका खुलै रहेको बताए । ‘रवि-वालेनको सहमति भएपनि उज्यालो नेपाल पार्टीले वार्ताको ढोका बन्द गरेको छैन,’ उनले भने, ‘अझै सहमति गरेर जाने बाटो खुला नै छ । हामी निरन्तर संवाद जारी राख्ने पक्षमा छ ।’
उनले सबैको सहअस्तित्व स्थापित हुनेगरी एकता गर्ने पक्षमा सहकार्यका लागि तयार रहने पार्टीले निर्णय गरि सकेको बताए । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा उज्यालो नेपालले अब पार्टीका संरक्षक कुलमान घिसिङलाई प्रधानमन्त्री घोषणा गरेर जाने डा. थापाले बताए । यसले उज्यालो नेपाल पार्टी एकताभन्दा कार्यगत एकता र चुनावी तालमेलको पक्षमा देखिएको संकेत दिन्छ ।
एकता गर्न खोजेका तर छुटेका अन्य दल र नेता
वैकल्पिक राजनीतिक शक्तिबिच बृहत एकता गरेर जान अन्य दल र व्यक्तिले पनि प्रयास गरेका थिए । मेयर बालेनसँग मिलेर जाने धेरैले तयारी गरे तर रविले रास्वपामा लैजान सफल भए ।
कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपालका साथै हर्क साम्पाङको श्रम संस्कृति पार्टी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत पनि एकता प्रक्रियामा छुटेका छन् । किनकि दलीय राजनीति सुरुवातको तयारी बैठकमा बालेनले डा. भट्टराईलाई पनि बोलाएका थिए । डा. भट्टराई लामो समयदेखि नयाँ वैकल्पिक राजनीतिक शक्तिहरु मिलेर जानुपर्ने बताउँदै आएका छन् । तर प्रोलपा एकता गरेर जाने पक्षमा देखिएन ।

बालेनसँग छलफल र वार्तामा रहेका रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एकतामा छुटेको छ । चौधरीले रवि-बालेन सम्झौतापछि बालेनसँग आफू पनि छलफलमा रहेको संकेत गर्दै फोटो सार्वजनिक गरेका थिए । नाउपा नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सहमति गरिसकेको छ ।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि छलफलमा सहभागी थिए । उनी पनि एकतामा छुटेका छन् । अघिल्लो निर्वाचनमा जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रुपमा उदाएको थियो भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीले पनि जेनजीका माग सम्बोधन गर्न वैकल्पिक शक्तिहरु मिल्नुपर्ने बताउँदै आएको छ । तर कुन वैकल्पिक धारसँग एकता गर्ने भन्ने विषयमा अन्योल छ । त्यसैले रास्वपा-बालेन एकतामा आजपा पनि छुटेको छ ।
खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपाल पनि एकता प्रक्रियामा छुटेको छ । सुनार पनि बालेनसँगको छलफलमा सहभागी थिए । यसअघि सुनार नेतृत्वको पार्टी र उज्यालो नेपालबिच सहकार्य गर्ने भनिएपनि पछि सहमति हुन सकेन ।
त्यस्तै, नेपाली कांग्रेस छाडेर अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर सांसद बनेका डा. अमरेशकुमार सिंह पनि बालेनसँगको छलफलमा सहभागी थिए । रवि र बालेनको पक्षमा बोल्दै आएका उनी पनि एकता र सहकार्यको प्रक्रियामा भने छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण