बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्व. बुद्धिकृष्ण लामिछाने साँझमा झुमे हजारौँ दर्शक

सोमबार, १४ पुस २०८२, ०२ : ११
सोमबार, १४ पुस २०८२

सारांश

  • भक्तपुरमा बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ मा हजारौँ दर्शक झुमिए।
  • कार्यक्रममा भारतीय गायक आर्काे मुखर्जीको विशेष प्रस्तुति र विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो।
  • लामछानेको आठौँ स्मृति दिवसमा उनको योगदानको स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको थियो।

भक्तपुर। आइतबार साँझ नौ बज्दै थियो, चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा) को खुल्ला क्षेत्रमा चिसो उत्तिकै बढेको थियो । चिसोको पर्वाह नगरी हजारौँ दर्शक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ को रौनकतामा झुमिरहे ।

भारतीय चर्चित गायक आर्को मुखर्जीले ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर’ बोलको गीतलाई रिमिक्समा गाउँदा हजारौँ दर्शकहरू नाचेका थिए ।

चाँगुनारायण नगरपालिकाले आइतबार सो कार्यक्रम आयोजना गरेको थियो । चाँगुनारायण नगरपालिका–७ मा २०१५ साल साउन १ गते जन्मेका लामिछानेको २०७५ साल पुस १३ गते निधन भएको थियो । चर्चित लोक गायक लामिछानेको आठौँ स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण गर्दै नगरपालिकाले स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ आयोजना गरेको हो । 

कार्यक्रममा स्व लामिछानेको चर्चित गीतहरू ‘पिँढीमा बसेर, घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो’ लगायतका दर्जनौँ गीत विभिन्न कलाकारहरूले प्रस्तुत गरेका थिए ।

भारतीय चर्चित गायक आर्को मुखर्जीको विशेष प्रस्तुतीले दर्शकलाई तानेको थियो । कार्यक्रममा ऐक्या हामी व्याण्ड,  कोमल ओली, बिक्रम सुवाल, दोहोरी गायक सानु केसी, सविता ढुङ्गाना, कपिस कसपाल, सूर्यमणी आचार्य, सविना केसीलगायतका दर्जनौँ गायक गायिकाले स्व लामिछानेका र आफ्ना गीत गाए । 

वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कार्यक्रमको उद्घाटन गर्दै कलाकार देशको गहना भएकाले उनीहरूको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षको अवसर पारेर आफ्नै ठाउँका गायक बुद्धि कृष्ण लामिछानेको सम्झनामा आयोजित कार्यक्रमले उनको योगदानलाई जीवन्त राख्न टेवा पुग्ने बताए ।

कार्यक्रममा स्व गायक लामिछानेको जीवनी समेटेर प्रकाशित पुस्तकको समेत विमोचन गरिएको थियो ।

त्यसैगरी नगरपालिकाले स्व लामिछानेलाई मरणोपरान्त रु ५१ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । लामिछानेकी श्रीमती दुर्गादेवी लामिछानेलाई मुख्यमन्त्री बानियाँ र नगर प्रमुख खत्रीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ ५१ हजारको चेक हस्तान्तरण गरे । ३० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको सांस्कृतिक साँझमा स्थानीय उत्पादन, खानाका परिकारका स्टल राखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप