नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ९३ जना अझै फरार, भारत पसेको आशङ्का
सारांश
- बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ९३ जना अझै सम्पर्कमा आएका छैनन्, ५२ जना पक्राउ परेका छन्।
- नौबस्ता बालसुधार गृहबाट भागेका ७८ बालबन्दीमध्ये ३९ जना र डुडुवा बालसुधार गृहबाट भागेका ११५ बालबन्दीमध्ये ५७ जना अझै फरार छन्।
- फरार कैदीहरूको खोजीका लागि प्रहरीले अनुसन्धान जारी राखेको छ, र उनीहरू भारतमा लुकेको हुनसक्ने अनुमान गरिएको छ।
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट जेनजी प्रदर्शनका क्रममा फरार भएका १४७ कैदीमध्ये अझै ९३ जना सम्पर्कमा आएका छैनन् । फरारमध्ये अहिलेसम्म ५२ जनालाई मात्र नियन्त्रणमा लिइएको छ । प्रहरीले विभिन्न स्थानबाट ४२ जनालाई पक्राउ गरेको र १० जनाले अन्य कारागारमा आफैँ हाजिर भएपछि उनीहरूलाई नौबस्ता नै फर्काइएको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिएका छन् ।
कारागार प्रशासनले फरार बन्दीहरूलाई असोज २० गतेसम्म हाजिर हुन समयसीमा दिएको थियो । हाल कारागारमा बन्दीहरू फर्कने क्रम रोकिएकाले उनीहरू खुला सिमानाको फाइदा उठाउँदै भारततर्फ गएको हुन सक्ने जेलर भुसालको अनुमान छ । यस्तै, नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ बालबन्दीमध्ये पनि ३९ जना अझै फरार छन् । भदौ २४ गते राति प्रहरीसँगको भिडन्तपछि उनीहरू सुधारगृहबाट भागेका थिए ।
जिल्लाकै डुडुवास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ बालबन्दीमध्ये पनि ५७ जना अझै फेला परेका छैनन् । त्यहाँका प्रमुख किशोर शर्माका अनुसार केहीलाई प्रहरीले पक्राउ गरेको र केहीलाई अभिभावकले फिर्ता ल्याए पनि ठुलो सङ्ख्या अझै फरार नै छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं फरार बन्दी खोजी कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार भएकाहरू नेपालमा नरहेकाले पक्राउ गर्न कठिनाइ भएको बताएका छन् । अधिकांश भारतमा लुकेको हुन सक्ने भएकाले घरघरमा पत्राचार र प्रहरी परिचालन गरी खोजी तीव्र पारिएको खत्रीले बताए ।
नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीको गोली लागेर अछामका उमेश विष्ट, दाङका विनेश घर्तीमगर, बाँकेका समीर थापा, दैलेखका भूपेन्द्र खत्री र कैलालीका जगत देउवा गरी पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । प्रहरीले हाल फरारहरूको खोजीका लागि विभिन्न माध्यमबाट अनुसन्धान जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण