बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो

सोमबार, १४ पुस २०८२, १७ : ३०
सोमबार, १४ पुस २०८२

सारांश

  • कैलालीमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १२ वटा मतदान केन्द्र थप गरिएको छ।
  • मतदाताको संख्या बढेपछि निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो, जसले गर्दा केन्द्रको संख्या ६४१ पुगेको छ।
  • कैलालीमा यस वर्ष १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्, जसमा महिला, पुरुष र अन्य मतदाताहरू रहेका छन्।

कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताको सङ्ख्या बढेपछि निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो। 

अघिल्लो निर्वाचनमा ६२९ मतदान केन्द्र रहेकामा यस पटक १२ वटा थपिएर कुल ६४१ केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। जिल्लामा मतदानस्थल भने साविककै २३७ वटा नै कायम रहनेछन्।

कैलालीमा यस वर्ष १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा ५ लाख ३४ हजार ३४४ मतदाता रहेकामा यस वर्ष कुल मतदाताको सङ्ख्या ५ लाख ५१ हजार ५२ पुगेको छ। कुल मतदातामध्ये २ लाख ८० हजार २४३ महिला, २ लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य रहेका छन्। मतदाताको चाप र सुगमतालाई मध्यनजर गर्दै केन्द्रहरू थप गरिएको कार्यालयले जनाएको छ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं ४ मा सबैभन्दा बढी १ लाख १५ हजार १४३ मतदाता रहेका छन्। यस्तै, क्षेत्र नं ५ मा १ लाख १० हजार ५३९, क्षेत्र नं ३ मा १ लाख ९ हजार १२२, क्षेत्र नं १ मा १ लाख ८ हजार ४९१ र क्षेत्र नं २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप