बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
परराष्ट्र मामिला

दुई महिनालाई नियुक्त परराष्ट्र मन्त्री : ब्रिफिङ लिँदैमा बित्नेछ कार्यकाल

बुधबार, १६ पुस २०८२, १९ : ००
बुधबार, १६ पुस २०८२

सारांश

  • नागरिक सरकारले पूर्व सेनाका रथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्यो, निर्वाचनको दुई महिना अगाडि।
  • नवनियुक्त मन्त्री शर्मा बंगलादेशकी पूर्व प्रधानमन्त्रीको अन्त्येष्टिमा सहभागी भए, र दुई महिनाको कार्यकालमा प्रशासनिक काम मात्रै गर्ने देखिएको छ।
  • पूर्वराजदूतहरूका अनुसार, मन्त्रीको मुख्य कार्यभार निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउनु हुनेछ।

काठमाडौँ । जेनजी आन्दोलनको जगमा गठन भएको नागरिक सरकारले ढिलोगरी परराष्ट्रमन्त्री पायो नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन आउन दुई महिना मात्र बाँकी रहँदा शर्मा परराष्ट्र मन्त्री बनेका छन् । 

छोटो समयका लागि किन मन्त्री नियुक्त गरिएको हो भन्नेमा पनि थुप्रै प्रश्न परराष्ट्र मामिलाका जानकारहरूले उठाइरहेका छन् । 

नियुक्त भएको छैटौं दिनमा मन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिया जियाको अन्त्येष्टि समारोहमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । ८० वर्षको उमेरमा मंगलबार खालिदा जियाको निधन भएको हो । 

परराष्ट्र मन्त्रालयका कर्मचारीहरू औपचारिक कार्यक्रममा सहभागिता र मन्त्रालयका कामबारे ब्रिफिङ लिँदैमा मन्त्रीको दुई महिनाको समय बित्ने बताउँछन् । ‘दुई महिनामा उहाँले के नै गर्न सक्नुहुन्छ र ?’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘एक महिना त ब्रिफ लिँदैमा र भेटघाटमै सकिन्छ । त्यसपछि निर्वाचनको आचारसंहिता सुरु हुन्छ । त्यसपछि झन् केही गर्न सक्नुहुन्न ।’

छोटो समयका लागि मन्त्री बनेर आएका शर्माले दैनिक प्रशासनिक काम बाहेक अरू गर्न पाउनेछैनन् । दैनिक कामकाज त मन्त्रालयका कर्मचारीले नै गर्न सक्ने भएकाले मन्त्री आउँदैमा तात्विक फरक नपार्ने ती कर्मचारीको दाबी छ । 

परराष्ट्र मन्त्री शर्माले आगामी निर्वाचनका अन्तर्राष्ट्रिय समुदायको साथ सहयोग जुटाउने काममा भूमिका खेल्न सक्छन् । यो दुई महिनामा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव जुटाएर शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउनु नै परराष्ट्र मन्त्रीको मुख्य कार्यभार रहेको परराष्ट्र विज्ञ एवं पूर्वराजदूत टंक कार्की बताउँछन् । 

‘यो अन्तरिम सरकार हो, चुनावी सरकार होइन, चुनाव गराउने म्यान्डेट पाएको छ । त्यसबाहेक अरु काम गर्न पाउँदैन र अहिले गर्ने समय पनि छैन,’ उनी भन्छन् । 

प्रधानमन्त्री कार्कीले आफैं सम्हालिरहेको मन्त्रालयमा रीत पुर्‍याउन मात्रै यति छोटो समयका लागि मन्त्री नियुक्त गरिएको कार्की जिकिर गर्छन् । ‘परराष्ट्र मन्त्री शर्मा नयाँ एजेण्डामा जान सक्दैनन् । यो छोटो समयमा रीत पुर्‍याउन मात्रै नियुक्त गरिएको हो,’ उनले भने । 

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकै बेला प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिसकेकी थिइन् । नेपालमा रहेका विभिन्न देशका राजदूत र नियोगका प्रमुखहरूलाई बोलाएर उनले छलफल गरेकी थिइन् । साथै, चुनावको माहोल बनाउन अन्तर्राष्ट्रिय सहयोग र सद्भावका लागि नेपाली राजदूतावासहरूलाई निर्देशन नै दिएकी थिइन् । 

प्रधानमन्त्री कार्कीले विभिन्न देशमा रहेका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय समेत गरिन् । तर उक्त निर्णय विरूद्ध राजदूतहरु अदालत गएपछि प्रधानमन्त्री कार्कीले उनीहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर गराउने व्यवस्था मिलाइन् । ११ जना राजदूतमध्ये हालसम्म ६ जनाले राजीनामा नै दिइसकेका छन् । 

प्रधानमन्त्री कार्कीको आग्रहमा भारत, चीन लगायत मुलुकले चुनावका लागि सहयोग पनि गरिसकेका छन् । यो चुनावी सरकारले गर्ने जति काम प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रीको रुपमा गरिसकेकी छन् । परराष्ट्र मन्त्री शर्माले त्यसलाई कार्यान्वयन गराउने र थप प्रतिवद्धता ल्याउनुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्ण परराष्ट्र मन्त्रीको अहिलेको काम चुनावमा अन्तर्राष्ट्रिय साथ र समर्थन जुटाउनु नै रहेको बताउँछन् । ‘चुनावमा अन्तर्राष्ट्रिय समर्थन र साथ जरूरी हुन्छ । त्यसका लागि पनि वातावरण बनाउने काम परराष्ट्र मन्त्रीको हो,’ कर्ण भन्छन्, ‘अहिलेका परराष्ट्र मन्त्रीले नीतिगत काम गर्न भ्याउनुहुन्न ।‘ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप