कांग्रेस विवाद : महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगन र विशेष महाधिवेशन बोलाउन सक्छन् ?
सारांश
- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिका स्थगित गरेका छन्।
- महामन्त्रीद्वयले केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउन नसक्ने र विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्नुपर्ने कुरा विज्ञप्तिमा उल्लेख छ।
- विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल बुक गरिएको छ, तर महामन्त्रीद्वयले विशेष महाधिवेशन आधिकारिक नहुने बुझेका छन्।
काठमाडौँ । मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत तरिकाले पारित गरेको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको प्रक्रिया स्थगित गरेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराइन्छ ।’
योसँगै महामन्त्रीले केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उब्जिएको छ । कांग्रेस विधान अनुसार महाधिवेशन र महासमितिपछिको ठुलो र कार्यकारी निकाय केन्द्रीय समिति हो । केन्द्रीय समितिको निर्णय परिवर्तन गर्न केन्द्रीय समिति, महाधिवेशन र महासमितिले मात्रै सक्छ ।
पार्टी सहमहामन्त्री महेन्द्र यादव केन्द्रीय कार्यसमितिको निर्णय महामन्त्रीद्वयले होइन, सभापति शेरबहादुर देउवाले पनि उल्ट्याउन नसक्ने बताउँछन् । ‘केन्द्रीय कार्यसमितिको निर्णय सभापति शेरबहादुर देउवा र महामन्त्रीहरूले उल्टाउन सक्दैनन्,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने, ‘केन्द्रीय समिति बैठकको निर्णय कि केन्द्रीय समितिले उल्टाउँछ, कि त्योभन्दा माथिल्लो निकायले उल्टाउँछ ।’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नियमित महाधिवेशन स्थगित गर्ने महामन्त्रीद्वयको विज्ञप्ति संस्थागत नभई व्यक्तिगत भएको बताउँछन् । ‘यो महामन्त्रीद्वयको व्यक्तिगत निर्णय हो । संस्थागत निर्णय होइन । संस्थागत निर्णय लिन कार्यसम्पादन समिति बैठक आह्वान भएको छ,’ उनले रातोपाटीसँग भने ।
महामन्त्री पक्षका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली पनि केन्द्रीय समितिको निर्णय महामन्त्रीले विधानतः स्थगन गर्न नसक्ने बताउँछन् । यद्यपि राजनीतिक रूपमा यस्तो निर्णयको केही अर्थ होला भन्ने उनको आकलन छ ।
विशेष महाधिवेशन बोलाउने सन्दर्भमा पहिला सभापतिले, त्यो नभए कार्यवाहक सभापतिले, त्यो पनि नभए महामन्त्रीले, महामन्त्री पनि नभए केन्द्रीय सदस्यहरूले, त्यो पनि नभए महाधिवेशन प्रतिनिधि आफैँले बोलाउने स्नेहीले बताए ।
विधानमा भएको व्यवस्था अनुसार गरिएको काम भएकाले यसका कसले बोलाउने भन्नेमा बहस आवश्यक नरहेको उनको भनाइ छ ।
महामन्त्रीद्वय थापा र शर्माले विज्ञप्तिमा नियमित महाधिवेशन नभएपछि विकल्प विशेष महाधिवेशन भएको उल्लेख गरेका छन् । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो, तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले विज्ञप्तिमा विशेष महाधिवेशन यही दिन बोलाउने भन्ने उल्लेख गरेका छैनन् । यद्यपि विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुक गरेका छन् ।
महामन्त्रीद्वयले भने आफूहरूले बोलाएको विशेष महाधिवेशन आधिकारिक नहुने बुझेर नै दबाब दिनका लागि पुस १९ गते बिहानसम्म देउवाको निर्णय पर्खिने र त्यसका लागि आवश्यक प्रयत्न गर्ने रणनीति बनाएको उनीहरू निकट नेता बताउँछन् ।
मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर पुस १६ गतेका लागि वडा अधिवेशनको मिति निर्धारण गरेको थियो । त्यो प्रभावित भएको छ ।
महामन्त्रीद्वयले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन् ।
कांग्रेसमा विशेष महाधिवेशन माग्दै गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए ।
त्यो हस्ताक्षर अनुरूप विशेष महाधिवेशन बोलाउने/नबोलाउने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको संस्थापनको तर्क छ । तर विशेष महाधिवेशन पक्षधर भने ३ महिनाभित्र वास्ता नगरेकाले आफूहरूले नै विशेष महाधिवेशन बोलाउन बाध्य भएको बताउँदै आएका छन् ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण