बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आफ्नो स्वास्थ्य र उमेरबारे यसो भन्छन् डोनाल्ड ट्रम्प

शुक्रबार, १८ पुस २०८२, १० : ३१
शुक्रबार, १८ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाक्टरको सल्लाहभन्दा बढी एस्पिरिन खाने र मेकअप प्रयोग गर्ने कुरा अन्तर्वार्तामा बताए।
  • ट्रम्पले आफू व्यायाम नगर्ने र बैठकमा निदाएको कुरा स्वीकारेका छन्, तर स्वास्थ्य ठीक रहेको दाबी गरे।
  • ७९ वर्षीय ट्रम्पले सिटी स्क्यान गराएको र स्वास्थ्यबारे भइरहेको बहसप्रति असन्तुष्टि व्यक्त गरे।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य राम्रो नभएको समाचार बेला–बेला आइरहन्छ । यसैबीच ट्रम्पले एउटा अन्तर्वार्तामा आफ्नो स्वास्थ्यबारे बोलेका छन् । आफूले डाक्टरले सिफारिस गरेको भन्दा बढी एस्पिरिन खाने गरेको र हातमा देखिने नीलो दाग लुकाउन मेकअप प्रयोग गर्ने गरेको उनले बताएका छन् ।

‘म थोरै अन्धविश्वासी छु,’ ट्रम्पले भने । मानिसहरूले रगतलाई पातलो बनाउन एस्पिरिन राम्रो हुन्छ भन्ने ठान्ने गरेको उल्लेख गर्दै आफ्नो मुटुमा बाक्लो रगत नजाओस् भन्ने चाहनाले आफूले धेरै एस्पिरिन खाने गरेको उनले बताए । डाक्टरले दिनमा ८१ मिलिग्राम एस्पिरिन लिन सल्लाह दिएको भए पनि ट्रम्पले ३२५ मिलिग्राम खाने गरेका छन् ।

उनले नियमित रूपमा व्यायाम नगर्ने पनि स्वीकार गरे । व्यायाम गर्न आफूलाई दिक्क लाग्ने उनले बताए । यी सबै कुरा उनले ‘द वाल स्ट्रिट जर्नल’सँगको अन्तर्वार्तामा भनेका हुन् ।

अक्टोबरमा आफ्नो सिटी स्क्यान गराएको पनि ट्रम्पले बताए । यसअघि भने उनले झुक्किएर पत्रकारहरूसामु ‘डिटेल्ड’ एमआरआई स्क्यान गराएको बताएका थिए । ७९ वर्षीय ट्रम्प अमेरिकी इतिहासमा शपथ लिने सबैभन्दा वृद्ध राष्ट्रपति हुन् ।

उनमा बुढ्यौलीका विभिन्न लक्षण देखिने गरेको चर्चा हुँदै आएको छ । बैठकहरूका क्रममा उनी निदाएको तस्वीर र भिडियोहरू पनि सार्वजनिक भएका छन् । तर आफू धेरै सुत्ने मान्छे नभएको र आँखा चिम्म गरेर बस्दा आनन्द आउने उनले अन्तर्वार्तामा बताएका छन् । केही सन्दर्भमा उनले स्पष्ट रूपमा प्रश्न सुन्न नसकेको देखिएको छ ।

आफ्नो स्वास्थ्यबारे भइरहेको सार्वजनिक बहसप्रति ट्रम्प अन्तर्वार्तामा चिढिएको जस्तो देखिन्थे । ‘२५ औं पटक स्वास्थ्यकै कुरा फेरि गरौँ,’ उनले भने । आफ्नो स्वास्थ्य बिल्कुल ठीक रहेकोमा उनले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप