शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप २०२६ : लिटन दासको कप्तानीमा बंगलादेशको टोली घोषणा

आइतबार, २० पुस २०८२, १३ : ५०
आइतबार, २० पुस २०८२

सारांश

  • बंगलादेशले टी-२० विश्वकप २०२६ को लागि टोली घोषणा गर्‍यो, जसमा लिटन दास कप्तान छन्।
  • टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ, जसले ब्याटिङ र बलिङमा सन्तुलन मिलाएको छ।
  • बंगलादेश समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटालीसँगै छ र सुपर ८ मा पुग्न प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकपका लागि बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा टोलीको नेतृत्व ब्याट्सम्यान लिटन दासले गर्ने भएका छन् ।

बंगलादेशले अहिलेसम्म आयोजना भएका सबै टी–२० विश्वकपमा सहभागिता जनाए पनि हालसम्म सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।

बंगलादेशी टोलीले यसपटक अनुभवी र युवा खेलाडीको सन्तुलन मिलाएको छ । बलिङमा मुस्ताफिजुर रहमान र तास्किन अहमदको अनुभवी जोडीले तीव्र गतिको आक्रमण सम्हाल्नेछन् । भारत र श्रीलंकाका स्पिन उपयोगी पिचहरूमा महेदी हसन, नासुम अहमद र रिशाद हुसेन विपक्षी टोलीका लागि मुख्य चुनौती बन्न सक्छन् ।

ब्याटिङमा कप्तान लिटन दासमाथि टोली बढी निर्भर रहने देखिन्छ । यद्यपि, युवा खेलाडीहरू तन्जिद हसन र परवेज हुसेन इमोनको आक्रामक ब्याटिङले टोलीको माथिल्लो क्रमलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कठिन समूहमा बंगलादेश र नेपाल

बंगलादेशका लागि सुपर–८ सम्मको यात्रा निकै चुनौतीपूर्ण हुने देखिन्छ । बंगलादेश रहेको समूहमा इंग्ल्याण्ड र वेस्ट इन्डिजका साथै दक्षिण एसियाली प्रतिद्वन्द्वी नेपाल र इटाली रहेका छन् । यस कठिन समूहबाट शीर्ष दुई टोली मात्र सुपर–८ चरणमा प्रवेश गर्नेछन् ।

विगतका संस्करणमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बंगलादेशका लागि २०२६ को विश्वकप आफ्नो साख जोगाउने र इतिहास बदल्ने ठुलो अवसर हुनेछ ।

घोषित बंगलादेशी टोली

लिटन दास (कप्तान), तन्जिद हसन, परवेज हुसेन इमोन, सैफ हसन, तौहिद हृदोय, शमिम हुसेन, काजी नुरुल हसन सोहन, शक महेदी हसन, रिशाद हुसेन, नासुम अहमद, मुस्ताफिजुर रहमान, तन्जिम हसन साकिब, तास्किन अहमद, सैफ उदिन र शोरिफुल इस्लाम।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप