बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमालेकै बाटोमा नहिँड्न कांग्रेसलाई रक्षा बमको सुझाव

‘नियमित महाधिवेशनको पक्षमा उभिनु भनेको हालैको आन्दोलन र परिवर्तनको चाहनालाई अस्वीकार गर्नु हो’
मङ्गलबार, २२ पुस २०८२, १२ : २८
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसलाई नेकपा एमालेको बाटोमा नहिँड्न र यथास्थितिवादमा नफस्न सुझाव दिएकी छिन्।
  • उनले कांग्रेसभित्र चलिरहेको महाधिवेशन केन्द्रित बहसप्रति आफ्नो धारणा सार्वजनिक गर्दै विशेष महाधिवेशनको पक्षमा वकालत गरेकी छन्।
  • बमले यथास्थितिवादले देशलाई ‘मास डिप्रेसन’मा लैजाने खतरा औंल्याउँदै कांग्रेसलाई युवा पुस्तालाई धोका नदिन सचेत गराएकी छन्।

काठमाडौँ । जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसलाई नेकपा एमालेको बाटोमा नहिँड्न र यथास्थितिवादमा नफस्न सुझाव दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा ‘आदरणीय कांग्रेसीजन’ भन्दै एक खुल्ला पत्र लेखेर उनले कांग्रेसभित्र चलिरहेको महाधिवेशन केन्द्रित बहसप्रति आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। 

उनले नियमित महाधिवेशनको पक्षमा उभिनु भनेको हालैको आन्दोलन र परिवर्तनको चाहनालाई अस्वीकार गर्नु भएको बताएकी छन्। बमले नेपाली राजनीतिमा ‘नियमिततामा ब्रेक’ भदौ २३ गते नै लागिसकेको दाबी गरेकी छन्। 

कांग्रेसका गृहमन्त्री सम्मिलित तत्कालीन सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको घटनालाई स्मरण गराउँदै उनले राजनीति अब सामान्य अवस्थाभन्दा धेरै पर पुगिसकेको बताएकी छन्। भदौ २३ को घटना लामो समयदेखिको राज्यको बेथिति, अकर्मण्यता र निराशाको परिणाम भएको र त्यसमा कांग्रेस पनि हिस्सेदार रहेको उनको आरोप छ।

अहिले कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद भइरहेको सन्दर्भमा बमले विशेष महाधिवेशनको पक्षमा वकालत गरेकी छन्। नियमित महाधिवेशनको रटान लगाउनेहरूले आन्दोलनलाई अस्वीकार गरिरहेको उनको निष्कर्ष छ। कांग्रेसभित्रकै युवा पुस्ताले परिवर्तनको माग राख्दा नेतृत्वले उनीहरूको आवाज निस्तेज पार्न खोजेको उनले उल्लेख गरेकी छन्। परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरी मारिएको र युवा पुस्ता घाइते भएको अवस्थामा यथास्थितिवादले देशलाई ‘मास डिप्रेसन’ मा लैजाने खतरा उनले औँल्याएकी छन्।

बमले एमालेले विधान लत्त्याउँदै पुरानै नेतृत्वलाई निर्वाचित गरेर ‘मास डिप्रेसन’ बाँड्ने बाटो रोजिसकेको टिप्पणी गरेकी छन्। उनले कांग्रेस नेतृत्वलाई प्रश्न गर्दै एमालेकै बाटोमा लागेर युवा पुस्तालाई धोका दिने कि देशको भविष्य कोर्ने बगैंचा निर्माणमा साथ दिने भन्दै सचेत गराएकी छन्। असाधारण राजनीतिक सङ्कटमा असाधारण निर्णय आवश्यक पर्ने भन्दै उनले विशेष महाधिवेशन अपरिहार्य रहेको जिकिर गरेकी छन्। 

चुनाव संघारमै आइपुगेको र मतदाता परिवर्तनको पक्षमा उभिन तयार रहेको भन्दै उनले कांग्रेसको आजको निर्णयले नै भविष्य तय गर्ने बताएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप