बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इक्यान नेतृत्व चयन : अध्यक्षमा भुसाल र महासचिवमा हुमागाईंको उम्मेदवारी घोषणा

बुधबार, २३ पुस २०८२, १३ : ४९
बुधबार, २३ पुस २०८२

सारांश

  • दीपकराज भुसालले पुस २८ गते हुने इक्यान निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरे।
  • भुसालले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन २६ बुँदे एजेन्डा सार्वजनिक गरे र टिमको प्रतिबद्धता जनाए।
  • भवनाथ हुमागाईंले महासचिव पदका लागि उम्मेदवारी दिए, उनले संघको सुदृढीकरणमा भूमिका निर्वाह गरेका थिए।

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पुस २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा दीपकराज भुसालले  उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने लक्ष्यसहित भुसालले २६ बुँदे ठोस एजेन्डा सार्वजनिक गर्दै नयाँ नेतृत्वको दाबी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारी घोषणासँगै भुसालले आफ्नो टिमलाई सक्षम, सबल र इमानदार समूहका रूपमा चित्रण गर्दै सदस्यहरूको साझा भविष्य निर्माणका लागि एकताबद्ध अभियान अघि बढाउने प्रतिबद्धता जनाए । 'इक्यानलाई सेवामुखी, व्यावसायिक रूपमा प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा गरिमामय प्लेटफर्मका रूपमा स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो,' उनले भने ।

उनका अनुसार सदस्य सेवा, व्यावसायिक प्रतिष्ठा, नेतृत्व क्षमता र संस्थागत स्थिरता उनको समूहका प्रमुख आधार स्तम्भ हुन् । ७०० भन्दा बढी इक्यान सदस्यहरूको व्यावसायिक विश्वसनीयता बढाउँदै विश्वस्तरमा प्लेटफर्म निर्माण गर्नु नै आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता हुने भुसालले बताए ।

भुसालकै टिमबाट महासचिव पदमा भवनाथ हुमागाईंले उम्मेदवारी दिएका छन् । हाल इक्यान सचिवका रूपमा कार्यरत हुमागाईंले लामो समयदेखि शैक्षिक परामर्श व्यवसायको नवीकरण, नियमन र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

हुमागाईंले संघको केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय, एकीकृत कार्यप्रणाली स्थापना तथा शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गराउन नेतृत्वदायी भूमिका खेलेका थिए । उम्मेदवारी घोषणा गर्दै उनले भने, 'इक्यानलाई अब रणनीतिक सोच, निर्णय गर्न सक्ने निर्णायक नेतृत्व र सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम अभिभावकत्व चाहिएको छ, त्यो क्षमता हाम्रो टिमसँग छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप