शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विचार

चाओ एनलाई माओबाट किन प्रताडित भए ?

बिहीबार, २४ पुस २०८२, ०७ : ५०
बिहीबार, २४ पुस २०८२

सारांश

  • लेखमा माओत्से तुङको सेवा गर्दा पनि चाओ एनलाईलाई माओले किन शत्रुतापूर्ण व्यवहार गरे भन्ने बारेमा चर्चा गरिएको छ।
  • चाओ एनलाईको क्यान्सरको उपचार नगर्ने माओको निर्णय र यसका पछाडिका कारणहरू प्रस्तुत गरिएको छ।
  • चाओको मृत्युपश्चात माओ र 'चण्डाल चौकडी' माथि चाओको विजय र देङ शियाओ पिङको उदयबारे उल्लेख छ।

यो लेख जीवनभरि माओत्से तुङको सेवा गर्दा पनि किन माओले चाओलाई सधैं शत्रुतापूर्ण व्यवहार गरे भन्ने विषयमा केन्द्रित छ । मुख्य रूपमा‘चाओ एनलाई : अ लाइफ’, ‘द प्राइवेट लाइफ अफ चेयरम्यान माओ’,‘माओ : द अननोन स्टोरी’, ‘द चेयरम्यान्स् न्यु क्लाथ्स्’, ‘चाइनाज् वाटरगेट’  आदि पुस्तकहरूमायो लेख आधारित छ । 

आज ८ जनवरी । आज चीनका तत्कालीन प्रधानमन्त्री चाओ एनलाईको ५०औं पुण्यतिथि हो । आजकै दिन सन् १९७६ मा चीनका प्रधानमन्त्री चाओ एनलाईको ७७ वर्षको उमेरमा राजधानी बेइजिङको सरकारी अस्पतालमा निधन भएको थियो ।चिकित्सकहरूले १२ मे १९७२ मा चाओको  पेटमा क्यान्सर भएको पत्ता लगाएका थिए ।१ अक्टोबर १९४९ देखि उनी निरन्तर प्रधानमन्त्री पदमा थिए । पार्टीका अध्यक्ष माओपछि उनी दोस्रो वरीयतामा थिए । 

माओ कुनै पनि राजकीय पदमा थिएनन्, तर उनी चीनका सर्वोच्च र सर्वशक्तिमान नेता थिए । चाओको पेटमा क्यान्सर भएको सूचना माओ र माओवादीहरूका लागि सुखद खबर थियो । चाओको स्वास्थ्यवस्थाको जानकारी नियमानुसार सर्वप्रथम माओलाई गराइयो । माओले यो जानकारी सार्वजनिक नगर्न आदेश गरे । उनलाई र उनको परिवारसमेतलाई यो जानकारी गराइएन । त्यसबखत् ७९ वर्षको उमेरमा टेकेका माओ आफै पनि शारीरिक रूपमा निकै कमजोर भएका थिए । उनको बोली लर्बराउन थालेको थियो । उनकी निजी सचिव झाङ युफेङले मात्र उनले बोलेको बुझ्न र अथ्र्याउन सक्थिन् । पक्षाघातलेबोली लर्बराए पनि र हिँड्डुल गर्न समस्या भए पनि मानसिक रूपमा भने माओसक्रिय नै थिए । उनलाई आफ्नो मृत्युपछि के होला भन्ने चिन्ता थियो । उनको भित्रीइच्छा थियो कि चाओको मृत्यु आफूभन्दा पहिले होस् । सायद त्यसै कारणले गर्दा उनी चाहन्थे– चाओको क्यान्सरको उपचार नहोस् ।चाओभन्दा पहिले माओको मृत्यु भएको अवस्थामा दोस्रो वरीयताका चाओ नै पार्टीका अध्यक्ष बन्ने र राज्यका सबै अंगहरूमा उनको वर्चस्व कायम हुने पक्का थियो । उनी त्यसकालागि अन्य सबै हिसाबले समेत योग्य थिए ।

चाओ  सर्वोच्च पदमा पुग्दा‘चण्डाल चौकडी’का खराब दिनहरूसुरु हुने थिए । उनीहरू  चाओलाई‘बुर्जुवा’ र ‘दक्षिणपन्थी’ साबित गर्न ज्यान छाडेर लागेका थिए । राष्ट्रपतिलिऊ शाओचिलाई जस्तै चाओलाई पनि आजीवन जेलमा सडाउने ‘चण्डाल चौकडी’को योजना थियो । चाओको क्यान्सरको उपचार नगराउनुका पछाडि माओको तर्क थियो– एक, क्यान्सर रोग उपचार गरेपनि निको हुने रोग होइन,दुई, सर्जरी गरे पनि क्यान्सर रोग झन् शरीरमा फैलिन्छ । तीन, चीनको घरेलु उपचार पद्धति प्रभावकारीहुन सक्छ । चाओलाई क्यान्सरले बढी नै च्यापेपछि जब माओसमक्ष  अपरेशनका लागि पुनः उपयुक्त च्यालनबाट अनुरोध पठाइयो, माओले भने,‘अब मर्न लागेको ७८ वर्षको यति सारो बुढो मान्छेको के अपरेशन गर्नु?क्यान्सरलाई लामोसमयसम्म दबाउनुको परिणाम यो भयो कि; जनवरी १९७३ मा चाओको पिसाबमा रगत देखिन थाल्यो, क्यान्सर फैलिसकेको थियो । 

चाओ चीनमा निकै लोकप्रिय थिए । राज्यका सबै निकाय र कर्मचारीतन्त्रमा उनको राम्रो पकड थियो ।लिन पियाओको मृत्युपछि जनमुक्ति सेनासमेतको निष्ठा प्रधानमन्त्री चाओ रउपप्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष देङशियाओ पिङमाथि थियो । माओ र माओ समर्थक अन्य चारपदाधिकारीबाहेक (चण्डाल चौकडी)पार्टीको उच्चतहमा सबै चाओ र तेङ शियाओ पिङका पक्षमा थिए । अन्तर्राष्ट्रिय जगतमासमेत अब्बल दर्जाका कूटनीतिज्ञका रूपमाचाओछाएका थिए । चाओको प्रयासले चीन र अमेरिकाको सम्बन्ध राम्रो भइरहेको थियो ।चीनमा कम्युनिस्टहरूले सन् १९४९ मा सत्ता हातमा लिएपछि सर्वप्रथमजुलाई १९७१ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर र त्यसपछि फेब्रुअरी १९७२मा राष्ट्रपति निक्सनले चीनको यात्रा गरेका थिए ।

अमेरिकाले तचाओ एनलाईको क्यान्सरको अपरेसनका लागि चिकित्सकहरू पठाउने प्रस्तावसमेत गरेको थियो । तर माओले यसको अनुमति दिएका थिएनन् । माओको तर्क थियो– चाओको अपरेसन गर्दा विदेशी पाहुनाहरूसँग उनका भेटघाटहरू प्रभावित हुन्छन् । महिनौंको प्रयासपछि मात्र क्यान्सरको अपरेशन गर्ने अनुमति माओबाट प्राप्त भएको थियो । चाओको निधन हुनुभन्दा एक महिना पहिलेपनि उनको एउटा अपरेसन गरिएको थियो । भनिन्छ,त्यसबेला अपरेसन गर्नशाङ्घाईबाट एकजना चिकित्सकलाई बेइजिङ बोलाइएको थियो । ‘मास्कले अनुहार छोपिएको बिरामीलाई ह्विलचेयरमा ल्याइएको थियो ।’ माओवादीहरूलाई डर थियो कि, चाओ बिरामी भएको खबर सार्वजनिक भयो भने उनीप्रति सहानुभूति र जनसमर्थन झनै बढ्ने छ ।

सन् १९७१ मा लिन पियाओको हवाई दुर्घटनामा मृत्युपछि माओ र ‘चण्डाल चौकडी’ले ‘लिन पियाओ र कन्फुसियस विरोधी’ अभियान चलाएका थिए ।त्यो अभियानदेखावटी रूपमा मात्र  कन्फुसियस र लिन पियाओविरुद्ध थियो । वास्तवमा त्यो अभियान चाओ एनलाईविरुद्ध केन्द्रित थियो । चाओलाई सत्ताबाट हटाउने र माओ जीवित छँदै झाङ युङकियाओ (‘चण्डाल चौकडी’का एक जना सदस्य) लाई प्रधानमन्त्री बनाएरदोस्रो वरीयतामा पु¥याउने, माओको मृत्युपछि उनकी पत्नी चियाङ चिङलाई पार्टी अध्यक्ष बनाउनेडिजाइनमा त्यो अभियान आधारित थियो । 

एकातिर चाओ क्यान्सरविरुद्ध लड्दै आफ्नो राजकीय जिम्मेवारी कुशलतापूर्वक निभाइरहेका थिए, अर्कोतिर ‘चण्डाल चौकडी’ उनलाई पदच्युत गर्न‘लिनपियाओ र कन्फुसियस विरोधी अभियान’ चलाइरहेको थियो । चाओ अविचलित रूपमाक्यान्सरसित लडिरहे र राजकीय जिम्मेवारीमा पनि डटिरहे । तर मृत्युपर्यन्त चाओलाई कदम कदममा‘चण्डाल चौकडी’ले निरन्तर घेराबन्दी गरिरह्यो । यसक्रममा उनलाई तीन–तीन पटकसम्म माओवादी लाइनविपरीत काम गरेको आरोप लगाएर‘आत्मालोचना’ गर्न बाध्य बनाइएको थियो । उनी थलापरेर अस्पतालको विस्तारामै दिशापिशाब गर्ने अवस्थामा पुग्दासम्म पनि ‘चण्डाल चौकडी’को पूरै कब्जामा रहेको सञ्चारमाध्यमले उनीविरुद्धको निन्दा अभियान जारी राखेको थियो । 

उनी मृत्युशैयामा हुँदासमेत उनले जुलाई १९७६ मा संस्मरण कोरिरहेका थिए, जसमा उनले ‘माओले आफूलाई जीवनभरिअनेकौं शिक्षाहरू दिएको, आफूले त्यो आत्मसात गर्न नसकेर ‘अपराध’ गरेको’उल्लेख गरेका थिए । क्यान्सरबाट थला परिरहेको अवस्थामा समेत चण्डाल चौकडीले (माओले) उनलाई आफ्ना गल्तीहरू विरुद्ध पश्चाताप गर्ने वा दण्डित हुने दुई विकल्पमध्ये एउटा विकल्प रोज्न निर्देशन दिएको थियो । उनीसायद ‘पश्चाताप’ गर्ने विकल्प रोज्न बाध्य भएका थिए । चाओले देखेका थिए कि, कसरी माओको कोपभाजन बनेका रक्षामन्त्री पेङ तेहुई र त्यसपछि राष्ट्रपति लिउ शाओचिलाई दक्षिणपन्थी र संशोधनवादीको आरोपमा जेलमा तड्पाएर मारियो । उनी माओको कोपभाजन बन्ने त्रास लिएर जीवनभरि बाँचिरहे । सायद उनी अर्को पेङ तेहुई वा लिउ शाओचि बन्न चाहन्नथे । माओ र ‘चण्डाल चौकडी’को आतंकका साथसाथ उनी क्यान्सरको आतंक झेल्न पनि अभिशप्त थिए । 

चाओले जीवनभरि नै माओलाई गुन लगाएका थिए ।सन् १९३५ को चुनई सम्मेलनमा माओलाई नेतृत्वमा पु¥याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । भनिन्छ, माओ र चियाङ चिङको चौथो विवाहकालागि प्रस्ताव राख्दा सिंगो पार्टीको नेतृत्वको टोली विवाहको पक्षमा थिएन, तर चाओ त्यसबखत माओको पक्षमा उभिएका थिए । माओको जीवनका हरेक अप्ठेरा मोडहरूमा चाओ  सधैँभरि माओका पक्षमा उभिएता पनि माओले उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको वरिष्ठ र आफ्नो समकक्षी नेता होइन, आफ्नो आज्ञाकारी ‘शिष्य’का रूपमा व्यवहार गरेको देखिन्छ । 

चाओ जीवनभरि माओप्रति बफादार रहे । अर्को शब्दमा भन्न सकिन्छ,उनी माओको ‘दास’ बनिरहे ।उनी माओले अगाडि सारेका हरेक योजना र अभियानका प्रबल समर्थक थिए । चाहे त्यो ‘महान अग्रगामी छलाङ’ होस् वा‘समाजवादी शिक्षा आन्दोलन’ होस् । सन् १९६६ देखि आरम्भ गरिएको ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’को कार्यान्वयनका लागि उनी सदैव अग्रमोर्चामा खटिएका थिए । सन् १९६६ देखि १९७६ सम्मको उथलपुथलकारी अवधिमा उनी माओविरुद्ध कहिल्यै पनि उभिएनन् । उनी माओप्रति कतिसम्मबफादार थिए भन्ने पुष्टि यसबाट पनि हुन्छ कि, सन् १९४५ मा कोमिन्ताङसंग चिनिया कम्युनिस्ट पार्टीको वार्ता हुँदा आयोजित गरिएको भोजमा माओलाईटक्राइएकोमदिरामा विष भए नभएको चाओले मदिरा चाखेर जाँचेका थिए । माओका लागि सार्वजनिक कार्यक्रमहरू हुँदा उनी बस्ने कुर्ची सुरक्षित भए÷नभएको, उनी चढ्ने लिफ्ट सुरक्षित भए नभएको, उनी हिँड्नका लागि बिछाइएको कार्पेट सुरक्षित भए नभएको सबैकुरा चाओले जाँचेपछि मात्र माओले प्रयोग गर्ने गर्दथे । माओले खाने गरेको औषधि होस् वा उनको आँखामा राख्ने औषधि होस्, सबैभन्दा पहिले सुरक्षित भए÷नभएको जाँच चाओले आफै प्रयोग गरेर गर्ने गर्दथे । 

 तर विडम्बना, जीवनका अन्तिम वर्षहरूमा समेत क्यान्सरबाट थलापरेका तिनै चाओमाओबाटनिरन्तरप्रताडित भए ।उनको मृत्युपछि पार्टीले आयोजना गरेकोचाओको अन्तिम संस्कारमा समेत माओले आफ्नो उपस्थिति जनाउन आवश्यक ठानेनन्, न त शोक वक्तव्य नै निकाले । यसका पछाडिको मुख्यकारण यो थियो कि, यसो गर्दा चाओ एनलाईले माओको उत्तराधिकारीका रूपमा वैधता प्राप्त गर्दथे, जो माओ चाहन्नथे ।

 लगभग अढाई दशकसम्म माओको निजी चिकित्सक रहेका डा. लि झुसुई यस सन्दर्भमा लेख्छन् –

‘माओको उपचार गर्ने चिकित्सकहरूको दलका अनेकौं सदस्यहरूले चाओको पनि उपचार गरेका थिए । उनीहरू चाओप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नचाओको पार्थिक शरीर राखिएको ‘३०५ अस्पताल’ जान चाहन्थे । मैले उनीहरूको अनुरोधलाई झाङ याओसीसमक्ष राखेँ । झाङको जवाफ रुखो थियो । झाङले भने कि,चिकित्सकहरूलाई अस्पताल जाने अनुमति छैन, न त पाखुरामा कालो पट्टी बाँधेर शोक मनाउने अनुमति छ । जब मैंले यो निर्णयबारे प्रश्न उठाएँ, झाङ रिसाए । उनले भने,‘उनले आदेश पालन गरिरहेका छन्। त्यसका पछाडिको कारण उनलाई थाहा छैन ।’ उनले डक्टरहरूलाई भने कि यदि फेरि यसबारे सोधखोज गरेको खण्डमा तपाईंहरू समस्यामा पर्नुहुनेछ ।’ 

चीनमा अप्रिल ५ लाई मृतकहरूको सम्मान दिवसका रूपमा मनाइन्छ ।सो दिनचाओ एनलाईको सम्मानमाफूलमाला, पोस्टर, ब्यानरसहित बेइजिङकोतियानमेन चोकमा लाखौं आमनागरिक स्वःस्फूर्त जम्मा भएका थिए । चीनमा कम्युनिस्टहरूले सत्ता लिएपछि आमजनताको यो पहिलो स्वःस्फूर्त जमघट थियो । पार्टीको निर्णयअनुसार भिडलाई हटाउन सेना परिचालन गरियो ।  चढाएका पुष्पगुच्छाहरू, ब्यानर, पोस्टरहरूहटाएर फोहोरमा मिल्काइयो । चाओका सहयोगी र बफादार तेङ शियाओ पिङलाई ५ अप्रिलमा दङ्गा भड्काएको आरोपमा उपप्रधानमन्त्रीको पदबाद तेस्रोपटक बर्खास्त गरियो । 

चाओको मृत्युभएको ९ महिनापछि माओको पनि सेप्टेम्बर १९७६ मा मृत्यु भयो । ‘चण्डाल चौकडी’का कसैलाई पनि माओले आफ्नो उत्तराधिकारी बनाएका थिएनन् । एकजना गुमनाम जुनिअर नेता हुवा कोफेङ माओका उत्तराधिकारी बनेका थिए । ‘चण्डाल चौकडी’का चारैजनालाई माओको मृत्युको एक महिना पनि नपुग्दै ६ अक्टोबर १९७६ नवनियुक्त अध्यक्षहुवा कोफेङको आदेशमागिरफ्तार गरेर आजीवन कारावासमा पठाइयो । यसप्रकार चाओ एनलाई क्यान्सरसंगको लडाइँ हारे पनि आफ्नो मृत्युपछिमाओ र चण्डाल चौकडीमाथि विजय हासिल गरेर अमर बने । देङ शियाओ पिङको कार्यकालमामाओ र ‘चण्डाल चौकडी’ले जेल पठाएका वा अन्य तरिकाले दण्डित गरिएका सबै प्रमुख नेताहरू पेङ ते हुई, लिउ शाओ चि, चाओ एनलाई, चु तेह मृत्युपरान्त बहाल र  सम्मानित भएका छन् । चीन लिउ शाओ चि, चाओ एन लाई र देङ शियाओ पिङको मार्गमा द्रुत गतिले अगाडि बढेको छ । माओ चीनको नोटहरूमा मात्र सीमित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप