बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुसी तेल खरिदमा कडाइ गर्दै अमेरिकाले ल्यायो विधेयक

बिहीबार, २४ पुस २०८२, १० : ३२
बिहीबार, २४ पुस २०८२

सारांश

  • राष्ट्रपति ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेका छन्।
  • विधेयकले भारत, चीन र ब्राजिल जस्ता देशहरूलाई रुसी तेल खरिद गर्न रोक्न दबाब दिनेछ।
  • यस विधेयकले रुसबाट अमेरिकामा आयात हुने सामान र सेवाहरूमा भन्सार कर लगाउनेछ।

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने एउटा विधेयकलाई अनुमोदन गरेका छन् । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले बिहीबार बताएको भन्दै बीबीसीले समाचार छापेको छ । विधेयकले भारत, चीन र ब्राजिल जस्ता देशहरूलाई रुसी तेल खरिद गर्न रोक्न दबाब दिन मद्दत गर्ने ग्राहमले बताएका छन् ।

यो कदम युक्रेनमा जारी शान्ति वार्ताको बीचमा आएको र अर्को हप्ता कांग्रेसमा यसमाथि द्विदलीय मतदान हुने अपेक्षा गरिएको माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा ग्राहमले लेखेका छन् ।

‘आज राष्ट्रपति ट्रम्पसँग धेरै मुद्दामा एउटा उपयोगी बैठक भयो । उनले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेका छन्,’ उनले लेखेका छन् । यस विधेयकमा आफूले सिनेटर ब्लुमेन्थल र अन्य सांसदहरूसँग धेरै महिनादेखि काम गरिरहेको पनि उनले भनेका छन् । यसलाई ग्राहमले समयसापेक्ष विधेयक भनेका छन् । अमेरिकाले युक्रेन शान्ति वार्ता सफल बनाउन निकै छूट दिइरहेको भएपनि रुसले कुरा मात्रै गरिरहेको र निर्दोष मानिसहरूको हत्या जारी राखेको उनी भन्छन् ।

यस विधेयकले राष्ट्रपति ट्रम्पलाई सस्तो रुसी तेल किनेर रूसको युद्धलाई आर्थिक सहयोग गर्ने देशलाई कारबाही गर्न अधिकार दिने बताइएको छ । यसले भारत, चीन र ब्राजिल जस्ता देशहरूलाई रुसी तेल खरिद गर्न रोक्न दबाब दिने ग्राहमको भनाइ छ । अमेरिकी कांग्रेसको आधिकारिक वेबसाइटका अनुसार, विधेयकलाई ‘सैन्क्शनिङ्ग अफ रसिया एक्ट, २०२५’ भनिएको छ । यसले रुसबाट अमेरिकामा आयात हुने सबै सामान र सेवाहरूमा कम्तीमा ५०० प्रतिशतको भन्सार कर लगाउने व्यवस्था गरेको छ । यसले रुससँग सम्बन्धित व्यक्ति र संस्थाहरूमाथि कडा प्रतिबन्ध लगाउनेछ ।

यसअघि बुधबार, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक तरिकाहरूबारे छलफल गर्न अमेरिकी प्रतिनिधिमण्डलका सदस्य स्टीव विटकफ र जारेड कुशनरसँग भेट गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसी तेल खरिद बन्द नगरेर अमेरिकाले भारतमाथि लगाएको उच्च भन्सार करबाट असन्तुष्ट रहेको यसअघि ट्रम्पले दाबी गरेका थिए । अमेरिकाले भारतमा कुल ५० प्रतिशत भन्सार कर लगाएको छ, जसमध्ये २५ प्रतिशत रुसी तेलको खरिद गरेबापतको दन्डात्मक कर हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप