बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

सुदूरपश्चिममा कांग्रेसबाट १०२ जना उम्मेदवार सिफारिस, देउवा र बडु मात्रै एकल

बिहीबार, २४ पुस २०८२, १८ : १६
बिहीबार, २४ पुस २०८२

धनगढी । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र उम्मेदवार बन्नेको लर्को लागेको छ । प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि उम्मेदवार बन्न धेरै जना आकांक्षी देखिएका हुन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले केन्द्रमा पठाएको विवरण अनुसार १६ वटा सिटका लागि कुल १०२ जना नेताहरूले प्रत्यक्षतर्फको टिकटमा दाबी गरेका छन् । औसतमा एक सिटका लागि ६ जनाभन्दा बढीको दाबी परेको यो सूचीमा पार्टी सभापति शेरबहादुर देउवा र नेता दिलेन्द्रप्रसाद बडु बाहेक अन्य कुनै पनि नेता एकल सिफारिस हुन सकेनन् ।

टिकटका लागि भएको रस्साकस्सीबिच सुदूरपश्चिमका दुई शीर्ष नेता भने ढुक्कको अवस्थामा देखिएका छन् । पाँच दशकभन्दा लामो समयदेखि संसदीय राजनीतिमा एकछत्र राज गर्दै आएका पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस भएका छन् । गृह जिल्ला डडेल्धुराले देउवाको विकल्प नखोजी एकल नाम पठाएको छ ।

यस्तै, दार्चुलाबाट पनि दिलेन्द्रप्रसाद बडुको नाम एकल सिफारिस भएको छ । यी दुई नेता बाहेक सुदूरपश्चिमका अन्य १४ वटा निर्वाचन क्षेत्रमा भने कुनै पनि नेता सर्वसम्मत हुन सकेनन् । बाँकी १४ सिटका लागि १०० जना नेताहरूको भिड लागेको छ ।

तराईका जिल्ला कैलाली र कञ्चनपुरमा चर्चित अनुहार आकांक्षी धेरै छन् । केन्द्रीय सदस्य डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ बाट सिफारिसको पहिलो नम्बरमा छिन् । उक्त क्षेत्रमा उनीसहित नरनारायण शाह (मनु), डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वड सिफारिस भएका छन् । 

त्यस्तै, कैलाली–४ बाट समेत सिफारिस भएका नेता वीरबहादुर बलायरको नाम डोटीबाट पनि सिफारिस भएको छ । कञ्चनपुरमा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद क्षेत्र नम्बर २ र पार्टीका प्रमुख सचेतक रमेश लेखक क्षेत्र नम्बर ३ को नाम पनि एकल जान सकेन ।

प्रदेश प्रवक्ता सुरतबहादुर रावत डोटेली कान्छाका अनुसार जिल्ला र क्षेत्रबाट आएका सिफारिसलाई जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । 

नौ जिल्लामा कांग्रेसबाट को-को भए सिफारिस ? 

डडेल्धुरामा सभापति शेरबहादुर देउवाको एकल नाम सिफारिस भएको छ । दार्चुलामा पनि  दिलेन्द्र प्रसाद बडु एकल सिफारिस भएका छन् । कैलालीमा सबैभन्दा धेरै रस्साकस्सी देखिएको छ । क्षेत्र नं. १ मा ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल, रामजनम चौधरी सिफारिस भएका छन् । यस्तै क्षेत्र नम्बर २ मा कृष्णराज पाण्डेय, गोपाल बम, घनश्याम जोशी, डा. जितेन्द्र उपाध्याय, नमराज उपाध्याय, विजयबहादुर स्वाँर, वीरबहादुर थारु, ललिता भट्ट, हिमबहादुर रावल सिफारिस भएका छन् । 

यसैगरी कैलाली क्षेत्र नम्बर ३ मा खेमराज डंगौरा थारु, अविनाश चौधरी, भीमबहादुर बडुवाल, झंकरबहादुर शाह सिफारिस भएका छन् । क्षेत्र नम्बर ४ मा वीरबहादुर बलायर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, प्रदीप जोशी (टेकराज), नैनसिंह महर, लोकराज पाण्डेय (आगो), भुवन महरा सिफारिस भएका छन् । यस्तै क्षेत्र नम्बर ५ मा डा. आरजु राणा देउवा, नरनारायण शाह (मनु), डिल्लीराज पन्त, नृपबहादुर वड सिफारिस भएका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा गोपीप्रसाद उपाध्याय, भरतबहादुर विष्ट, मीरा चन्द सिफारिस भएका छन् । क्षेत्र नम्बर २ मा नारायणप्रकाश साउद (एनपी), हरिप्रसाद बोहरा र दलबहादुर बोहरा सिफारिस भएका छन् । क्षेत्र नम्बर ३ मा रमेश लेखक, प्रेमबहादुर विष्ट र शंकरबहादुर चन्द सिफारिस भएका छन् ।

डोटीमा एक मात्र प्रतिनिधिसभा सिटका लागि १७ जनाको नाम सिफारिस भएको छ । जुन संख्यात्मक रूपमा सबैभन्दा बढी हो । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा गोरखबहादुर विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा र हर्कबहादुर देउवा सिफारिस भएका छन् ।

अछाममा पनि आकांक्षीको भिड छ । क्षेत्र नम्बर २ मा पुरुष र महिलाको छुट्टाछुट्टै सूची बनाएर पठाइएको छ । क्षेत्र नम्बर १ मा भरतकुमार स्वाँर, राजन कुँवर, भक्तबहादुर ठकुल्ला, राजेन्द्रबहादुर शाह, भगवती खनाल, टीकाराम खनाल, डा. डम्बरबहादुर सुनार, गोविन्दबहादुर शाह र दुर्गाप्रसाद तिमिल्सिना सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ पुरुषतर्फ पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट, पदमराज अधिकारी, रामबहादुर विष्ट, अक्कलबहादुर विष्ट, रामबहादुर शाही, मानबहादुर शाही, देवराज देवकोटा, वेदप्रकाश तिमिल्सिना, जनकबहादुर धामी, सुशील भण्डारी, डा. सन्तोष उपाध्याय, बलराम विष्ट र पुष्पराज शर्मा सिफारिस भएका छन् । क्षेत्र नम्बर २ (महिला) मा अम्बिका चलाउने, भूमिशरण ढकाल बजगाईंको नाम सिफारिस भएको छ ।

बझाङमा १० जना आकांक्षी देखिएका छन् । डा. सुरेश मल्ल, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, प्रकाश स्नेही रसाइली, अभिषेकबहादुर सिंह, दीपेन्द्रराज जोशी, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल सिफारिस भएका छन् ।

बाजुरामा रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजंग बम, गुरुदेव केसी र योगेन्द्र रावल सिफारिस भएका छन् । बैतडीमा चतुरबहादुर चन्द, विष्णुदत्त जोशी र जानकी भट्ट सिफारिस भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप