शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निजी क्षेत्रमा कर्जा प्रवाह १.९ प्रतिशतले वृद्धि, सबैभन्दा बढी हायर पर्चेज कर्जा

शुक्रबार, २५ पुस २०८२, १५ : २०
शुक्रबार, २५ पुस २०८२

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना साउनदेखि मंसिरसम्मको अवधिमा निजी क्षेत्रमा १.९ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार यसअवधिमा १ खर्ब २ अर्ब २४ करोड थप कर्जा प्रवाह भएको छ । योसँगै कुल कर्जा झण्डै ५६ खर्ब पुगेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत (१०२ अर्ब २४ करोड) ले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २.० प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । सोही अवधिमा अघिल्लो वर्ष धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.१ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०८२–८३ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ । 

निक्षेप पनि ३.९ प्रतिशतले वृद्धि

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत (२ खर्ब ८१ अर्ब ८९ करोड) ले वृद्धि भएको छ । ३.९ प्रतिशतले वृद्धि भई ७५ खर्ब ४५ अर्ब ७७ करोड पुगेको राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.७ प्रतिशत (१ खर्ब ७२ अर्ब ३२ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.९ प्रतिशतले बढेको छ ।

मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३९.९ प्रतिशत र ४४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.१ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ । सोही अवधिमा अघिल्लो वर्ष यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप