कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच वार्ताको प्रयास
सारांश
- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग, पुस २७ र २८ गते भृकुटीमण्डपमा आयोजनाको तयारी।
- केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै पार्टी विभाजन हुनसक्ने चेतावनी दियो।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाएका छन्, वार्ताको प्रयास जारी।
काठमाडौँ । नेपाली कांग्रेसभित्र २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशन मागकर्ताहरूकै चासोमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी छ ।
विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र बोलाउनु पर्ने व्यवस्था विधानमा भए पनि केन्द्रीय समितिले नबोलाएको भन्दै उनीहरूले पुस २३ गते आफैँ विशेष महाधिवेशन आह्वान गरेका हुन् । उनीहरूको आह्वानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाएका छन् ।
पुस १८ र २४ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नियमित १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरेको थियो । संवेदनशील अवस्थामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनेतर्फ पनि बैठकले सचेत गराएको छ । ‘वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा छैन । यस कार्यले पार्टीलाई विभाजन तर्फ लैजान सक्छ’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ ।
कार्यसम्पादन समितिले अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन नसक्ने बताएको छ । ‘मिति २०८२ मंसिर १५ गतेको महाधिवेशनको कार्यतालिका २०८२ पौष १८ गतेको कार्यसम्पादन समितिको बैठकले संशोधन गरी १५औँ महाधिवेशन मिति (वैशाख २८–३१, २०८३) तोकिसकेको छ । तसर्थ, पार्टीको विधान अनुसार १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम नियमित महाधिवेशनको आवश्यक प्रक्रिया अघि वढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन,’ बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
तर, कार्यसम्पादन समिति बैठकमै विशेष महाधिवेशनका पक्षधर महामन्त्री थापाले नियमित महाधिवेशन घोषणा भएपछि विशेष महाधिवेशन हुन्न भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु भएको बताएका थिए । उनले भनेका थिए, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’
महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यसूची आए पनि विशेष महाधिवेशनको औचित्य समाप्त नहुने दाबी गरे । ‘पार्टी विधानको व्यवस्था हेर्दा नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त हुँदैन,’ थापाले भने ।
कार्यसम्पादन समितिको अपिल नसुनेर थापासहित विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको तयारी तीव्र बनाएपछि संस्थापनका तर्फबाट शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने तय भयो । अन्तिम समयमा आएर कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन स्थगित गरेर सहमति खोज्ने प्रयासमा संस्थापन पक्षीय नेताहरू लागिरहेका छन् ।
संस्थापन पक्षकै नेता रमेश लेखकले साँझसम्म वार्ता र संवादबाट निकास निकाल्ने प्रयास भइरहेको जानकारी दिए । ‘पार्टीभित्रको आन्तरिक विषय हो । पत्राचार गर्ने, औपचारिक वार्ता सामिति गठन गरेर होइन, नेताहरू टेलिफोनमा कुरा गरी वार्ताको प्रयास भइरहेको छ,’ लेखकले रातोपाटीसँग भने, ‘साँझसम्म निकास निकाल्ने प्रयासमा छौँ । अनौपचारिक छलफल भइरहेको छ ।’
अर्कोतर्फका नेताहरू भने विशेष महाधिवेशनलाई ऐक्यबद्धता जनाएका महामन्त्रीहरूले विष पिएर भए पनि पार्टी नफुटाउने बताइरहँदा संस्थापनले वार्ता गर्न नबोलाएको बताउँछन् । महामन्त्री थापा निकट केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले संस्थापन र पार्टी नेतृत्वले चाहेमा वार्तामा बस्न सबै तयार रहेको बताए ।
‘महामन्त्रीहरूले त संयुक्त वक्तव्यमा र आफ्नो धारणा व्यक्त गर्दै बरु विष पिउने तर पार्टी फुट्न नदिने सार्वजनिक रूपमा भनिरहनु भएको छ,’ रसाइलीले रातोपाटीसँग भने, ‘संस्थापनबाट हामी पार्टी फुट्न दिँदैनौँ । वार्ता र संवादका लागि तयार छौँ भनेको खोइ ? सभापति वा कार्यवाहक सभापतिले महामन्त्रीले जस्तै सार्वजनिक रूपमा भन्नु पर्दैन ? उहाँहरूले वार्ता गर्न बोलाएमा त पार्टीका साथीहरू सभापतिसँग वार्ता गर्न नजाने कुरै हुँदैन ।’
युवा नेता प्रदीप पौडेलले सहमतिका लागि दोस्रो, तेस्रो तहका नेताहरूबिच वार्ता भइरहेको बताए । ‘सहमतिका लागि प्रयास भइरहेको छ,’ उनले भने, ‘अहिले दोस्रो, तेस्रो तहका नेताहरूबिच विभिन्न चरणमा छलफल भइरहेको छ, त्यसपछि शीर्ष तहमा पनि छलफल हुन सक्छ ।’
सहमतिका लागि दुवै पक्षबिच ‘विन–विन’ हुने गरी उपाय खोज्नुपर्ने उनको तर्क छ ।
बिहीबार इतर समूहका नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई निवासमै पुगेर भेट्दै वार्ता र संवादबाट पार्टीभित्र देखिएको समस्या सुल्झाउन सुझाएका थिए ।
शुक्रबार नै संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यहरूले अपिल जारी गर्दै पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् । शुक्रबार बिहान ललितपुरमा बैठक बसेर उनीहरूले अपिल जारी गरेका थिए ।
त्यस्तै १७ भ्रातृसंस्थाले पनि हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आह्वान गरेका छन् ।
यी सबै दबाबपछि सभापति देउवा र कार्यवाहक सभापति खड्का महाधिवेशन पक्षधर र महामन्त्रीसँग वार्ता गर्न तयार भए पनि कहाँ र कतिबेला वार्ता हुने भन्नेबारे दुवै पक्षले खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण