कांग्रेसको विशेष महाधिवेशनले नीति मात्रै बदल्छ कि नेतृत्व पनि ?
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे पार्टीभित्रै दुई धार देखिएको छ, नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्नेमा छलफल भइरहेको छ।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच महाधिवेशनको एजेन्डा र नेतृत्वबारे फरक मत रहेको छ।
- विशेष महाधिवेशनबाट पार्टीको विधान संशोधन, नेताहरूको बहिर्गमन र प्रवेशको व्यवस्थापन लगायतका विषयमा निर्णय हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले स्वीकार नगरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन हुने निश्चित भएको छ ।
आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा तय भएको विशेष महाधिवेशनले पार्टी नेतृत्व नै तय गर्दै कि नीतिमात्रै बदल्ने निर्णय गर्छ त्यो भने एकिन भइसकेको छैन । यसमा महाधिवेशन आह्वान २ हजार ४८८ महाधिवेशन प्रतिनिधि तथा नेतृत्व लिने महामन्त्रीद्वय थापा र शर्माबिच अझै मतैक्यता भइसकेको छैन ।
विशेष महाधिवेशनबाट विधान संशोधन, पार्टीबाट नेताहरूको बहिर्गमन र प्रवेशको व्यवस्था, दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई फेरि प्रधानमन्त्रीमा अघि नसार्ने, एक पटकभन्दा बढी समानुपातिक प्रणालीबाट सांसद्को सुविधा नदिने, एउटै व्यक्ति कति पटकसम्म मन्त्री हुन पाउनेलगायत विषयमा निर्णय गर्ने एजेन्डा तय भइसकेका छन्, तर नेतृत्वको विषयमा निश्चित भइसकेको छैन ।
महाधिवेशनको नेतृत्वकर्ताका रूपमा देखिएका महामन्त्री थापाले नेतृत्व परिवर्तन गर्ने कि नगर्ने विषय हलबाटै स्पष्ट हुने पत्रकारहरूले गरेका प्रश्नमा बताउने गरेका छन् । ‘हलले जे निर्णय गर्छ, त्यही हो विशेष महाधिवेशनको गन्तव्य,’ थापाले भन्ने गरेका छन्, ‘जिन्दावाद भन्दै हलले नेतृत्व नै चयन गर्यो भने मैले मान्दिनँ भन्न मिल्छ ? त्यो त मान्नुपर्यो नि ।’
तर आफ्नो राय भने विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै बदल्नुपर्ने रहँदै आएको थापाले बताउँदै आएका छन् ।
अर्का महामन्त्री शर्माको धारणा भने थापाभन्दा केही फरक देखिँदै आएको छ । विशेष महाधिवेशनलाई संकल्प सम्मेलनमा टुंग्याउनुपर्ने शर्माको धारणा रहेको उनीसँग छलफलमा रहेका नेताहरू बताउँछन् । उनले बाहिर यसबारे धारणा नराखे पनि नीति परिवर्तन गरेर वैशाखमा तय भएको महाधिवेशनबाट अनुमोदन गर्दा उपयुक्त हुने राय आन्तरिक बैठकहरूमा राख्दै आएका नेताहरू बताउँछन् ।
शर्माले विशेष महाधिवेशन हुने पार्टी विभाजन नहुने दाबी गरिरहेका छन् । ‘पार्टी एकता जोगाउन विष पिउन तयार’ (महामन्त्री गगन थापा) र ‘विभाजन हुन लागे हलबाट बाहिरिने’ (आफू)ले भन्नूको अर्थ विशेष महाधिवेशन हुने, पार्टी विभाजन नहुने भएको शर्माले पत्रकारहरूसँग पटक–पटक बताउँदै आएका छन् । पार्टी फुट्ने भय र भ्रम नराख्न शर्माले आग्रह गर्दै आएका छन् ।
गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउने कार्यको नेतृत्व गरेका नेताद्वय गुरुराज घिमिरे र देवराज चालिसे भने नेतृत्व परिवर्तन आफूहरूको मुख्य एजेन्डा रहेको बताउने गरेका छन् । केही दिनअघि घिमिरेले रातोपाटीसँग भनेका थिए, ‘विशेष महाधिवेशन मागकर्ताको नाताले मैले नेतृत्व परिवर्तनलाई उच्च प्राथमिकतामा राखेर उठाएको छु । मैले यो मुद्दा छाडेर विशेष महाधिवेशन गर्नुको औचित्य पनि छैन ।’
विशेष महाधिवेशनको पक्षमा वकालत गरिरहेका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारी र निवर्तमान सांसद् डा. सुनिल शर्माले पनि नीतिगत वा संंकल्प महाधिवेशनमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै भण्डारी र शर्माले नेतृत्व परिवर्तन विशेष महाधिवेशनबाट गर्न नहुने बताएका हुन् ।
‘विशेष महाधिवेशनलाई नीतिगत वा संकल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको नियमित महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने हो,’ भण्डारीले पत्रकार सम्मेलनमा भने । विशेष महाधिवेशनका कारण पार्टी फुट्छ कि भन्ने शंका रहेको तर आफूहरूले त्यो हुने नदिने बताए । ‘यतिबेला कांग्रेस फुट्छ कि भन्नेछ, तर हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ, तर हामी पार्टी विभाजन हुन दिदैनौँ,’ भण्डारीले भने ।
निवर्तमान सांसद शर्माले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा बदल्नुपर्ने बताए । यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका कार्यवाहक सभापति खड्काको हुने उनको भनाइ छ । ‘विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा बदल्नुपर्छ । यसमा कार्यवहाक सभापति पूर्णबहादुर खड्काको भूमिका रहन्छ । कार्यवहाक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई ‘सौतेनी व्यवाहार’ गर्न हुँदैन,’ शर्माले पत्रकार सम्मेलनमा भने ।
विशेष महाधिवेशनको स्वामित्व केन्द्रीय कार्यसमितिले नलिएकाले बहुमत प्रतिनिधि सहभागी भएर नेतृत्व परिवर्तन भए पनि त्यसपछि कानुनी जटिलता निश्चित छ । त्यसको निकास कसरी हुन्छ र आफ्नो पक्षमा कानुनी फैसला आउँछ कि आउँदैन भन्नेमा विशेष महाधिवेशन पक्षधर अलमलमा छन् ।
महाधिवेशन पक्षधरबिच सन्निकट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय रहेकाले त्योभन्दा अगाडि निर्वाचन आयोग र अदालतले आफूहरूको निवेदनको छिनोफानो गर्छ कि गर्दैन भन्नेबारे पनि छलफल भएको नेताहरू बताउँछन् । निर्वाचनका अरू महत्त्वपूर्ण काम छोडेर समय अभाव भएकाले बेलामा आफनो मुद्दा टुंग्याउन ध्यान नदिने हो कि भन्नेमा नेताहरू देखिएको स्रोत बताउँछ । यसले नेतृत्व चयन प्रक्रियामा अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय महामन्त्रीद्वय थापा र शर्माले गर्न सकेका छैनन् ।
संस्थापन पक्षले स्वामित्व नलिए पनि प्रतिनिधिहरूको बहुमत जुटेपछि हलले नयाँ नेतृत्व चयन गरेर जाने तयारी छ । तर त्यसपछि सुरु हुने आधिकारिकताको विवादको छिनोफानो एक साताभित्रै नभए कांग्रेस थप अप्ठेरोमा पर्ने देखिन्छ ।
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले माघ ६ गते समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण