बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दलविशेषको घरझगडा देखाएर चुनाव सार्ने काम भए प्रतिकार हुन्छ – प्रभु साह

शनिबार, २६ पुस २०८२, १६ : २१
शनिबार, २६ पुस २०८२

सारांश

  • आजपा अध्यक्ष प्रभु साहले कांग्रेसको आन्तरिक विवादको कारण देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाए।
  • उनले प्रधानमन्त्रीलाई चुनाव सार्ने षड्यन्त्र नगर्न चेतावनी दिँदै, यसो गरे इतिहासमा कलंक लाग्ने बताए।
  • साहले जेनजी जनविद्रोहको विषयमा टिप्पणी गर्दै सरकार र केपी ओलीबीचको सम्बन्धलाई लिएर आलोचना गरे।

बनेपा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादको कारण देखाएर २१ फागुनको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका गरेका छन् ।

आज (शनिबार) काभ्रे जिल्लाको बनेपामा आयोजित आजपाको काभ्रे क्षेत्र नं २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देश र जनता चुनावको मुडमा रहेको भन्दै अब बहानावाजी गरेर चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिए । 

‘म यहीँबाट प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु–देश र जनताले चुनाव चाहेका छन्, अहिले मुलुक विषम परिस्थितिमा गुज्रिएको छ, यस्तो बेलामा तोकिएकै समयमा निर्वाचन गराउनु हामी सबैको दायित्व हो, तर कुनै एक दलको आन्तरिक कलह, घरझगडा र महाधिवेशनको विवादलाई बहाना बनाएर चुनाव सार्ने काम भयो भने तपाईंको नाम इतिहासले कंलकको रुपमा बुझ्नेछ । नो इफ, नो बट, ईलेक्शन अन टाईम ईज द बेष्ट सोलुसन, यो कुरा याद गर्नुहोस,’ आजपा अध्यक्ष साहले भने । 

भदौ २३ गते कलिला युवाहरूमाथि ताकी–ताकी गोली हानेर हत्या गर्नेहरूसँगै नै वर्तमान सरकार र यसको नेतृत्वले साँठगाँठ गर्नु जेनजी जनविद्रोहको नै उपहास भएको टिप्पणी साहले गरे । उनले जेनजी जनविद्रोहमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा बोलाएर सुशीला कार्कीले गरेको सुलहले पनि जेनजी सहिद परिवारलाई चोट पुगेको बताए ।

जेनजी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तवरले देशको नेतृत्व गर्न पुगेकी सुशीला कार्कीलाई आन्दोलनको हाईज्याकरको संज्ञा दिएका छन् । यस्तै जेनजी आन्दोलनमा बल प्रयोग गर्ने कांग्रेस र एमालेलाई भने उनले दमनकारीको संज्ञा दिएका छन् । अहिले आन्दोलनको हाईज्याकर र दमनकारीबिच अस्वाभाविक उठबसले जेनजी जनविद्रोहलाई समेत गिज्याएको उनको आरोप छ ।

चुनाव गराउने सरकारले बालुवाटारमा दमनकारी केपी ओलीलाई बोलाएर घण्टौं बहस गर्नु र न्यानो आतिथ्यता प्रदान गर्नु जेनजी सहिदहरूप्रतिको अपमान भएको साहको गुनासो छ । अहिले नेपाली कांग्रेसको महाधिवेशन विशेष कि नियमित भन्ने विवादलाई लिएर चुनाव सार्ने षड्यन्त्र हुन थालेको र त्यो षड्यन्त्रको तानाबाना बालुवाटारमा बुन्न खोजिएको आभाष भएको भन्दै साहले त्यस्तो दुस्साहस नगर्न पनि चेतावनी दिए ।

कुनैपनि बहानामा निर्वाचन सार्ने काम भयो भने सुशीला सरकारको औचित्य त्यही दिन समाप्त हुने उनको टिप्पणी छ । 

फरक प्रसंगमा उनले देश अन्यन्तै जटिल मोडमा उभिएको र भू–राजनीतिक चलखेलसमेत बढ्दो अवस्थामा रहेको खतरा औंल्याएका छन् । उनले अब देशभक्त र परिवर्तन चाहने शक्तिहरुबिच एकताको खाँचो रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप