बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सन्दर्भ : पृथ्वी जयन्ती

‘चार जात छत्तिस वर्ण’को अभिप्राय : सहअस्तित्व र सद्भाव

आइतबार, २७ पुस २०८२, ०७ : ४६
आइतबार, २७ पुस २०८२

सारांश

  • पृथ्वी जयन्ती मनाउने परम्परा र यसको महत्वबारे चर्चा गरिएको छ, साथै यसमा राजनीतिक परिवर्तन आएको उल्लेख छ।
  • पृथ्वी जयन्तीलाई नेपाल एकीकरण दिवस र राष्ट्रिय एकता दिवसका रूपमा मनाइन्छ, र यसको सार्वजनिक बिदा दिने नीतिमा अस्थिरता रहेको छ।
  • लेखमा 'चार वर्ण र ३६ जात' को अवधारणा र यसको राष्ट्रिय एकतामा परेको प्रभावबारे विश्लेषण गरिएको छ।

नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते पृथ्वी जयन्तीको रूपमा मनाउने परम्परा विक्रम संवत् ००४ मा प्रारम्भ भयो र आजपर्यन्त अटूट रूपमा चल्दै आएको छ। यद्यपि यसमा राजनीतिक कारणले केही क्रमभंगता देखापर्‍यो, तर देशवासी राष्ट्रनिर्माताप्रतिको आफ्नो निष्ठाबाट विचलित भएनन्।

पृथ्वी जयन्ती, नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवसका रूपमा पनि रहेको छ। पृथ्वी जयन्ती नयाँ नेपाल हुँदाको पहिलो राजा पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो।

गोरखा राज्यको स्थापना वि.सं. १६१६ मा लमजुङका राजा यशोब्रह्म शाहका दोस्रो छोरा राजकुमार द्रव्य शाहले गरेका थिए। राजा द्रव्य शाहले मगर राजा मानसिंह खड्का मगरलाई प्रतिस्थापन गरेका थिए, जसले पहिले यस क्षेत्रमा शासन गर्ने गर्थे। १८औँ शताब्दीको मध्यतिर उनै द्रव्यशाहका वंशज राजा पृथ्वीनारायण शाहले आफ्ना छेउछाउका स–साना राज्यका राजाहरूलाई युद्धमा पराजित गरेर एकीकृत विशाल नेपालको निर्माण गर्ने आधारशिला राखेका थिए, वर्तमान नेपाल त्यसै प्रारम्भको जगमा उभिएको छ।

पृथ्वी जयन्तीको अवसरमा नेपाली जनताले बडामहाराजाधिराजको सालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्ने गर्छन्। वि.सं. ००४ देखि वि.सं. ०६२ सम्म पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइँदै आएको थियो। विक्रम संवत् ०६२/०६३ मा राजतन्त्रको विरोधमा भएको गणतन्त्र र संघीयताको आन्दोलनपश्चात् नेपालका संस्थापक राजाप्रति पनि क्षणिक रोष उत्पन्न भयो, तर विस्तारै त्यो रोष मेटिँदै गयो, किनभने राष्ट्र निर्माणको गौरव राजतन्त्रको दोषभन्दा ठूलो कुरा थियो।

पृथ्वी जयन्ती मनाउन सार्वजनिक बिदा दिने परम्परामा स्थिर नीतिको अभाव देखिन्छ। गोरखा र नुवाकोट जिल्लाका स्थानीय तहमा दिइने सार्वजनिक बिदाको परम्परामा भने निरन्तरता देखिन्छ। राष्ट्रिय स्तरमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदामा स्थिरता आवश्यक छ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणको आधारशिला राखे, त्यसैले उनी राष्ट्र निर्माता अवश्य पनि हुन्। तर, उनले राष्ट्रवासीलाई चित्रण गर्दा प्रयोग गरेका शब्दावलीप्रति आजपर्यन्त कायम रहेको अस्पष्टताले उनी राष्ट्रिय एकताका प्रतीक पनि हुन् भन्ने मान्न कतिपय पक्ष हिच्किएको प्रतीत हुन्छ। राष्ट्रको इतिहासप्रति स्वयं राज्यकै यस्तो अलमलले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको सन्दर्भलाई नै अराजक तुल्याउन सक्ने हुन्छ। यसरी हेर्दा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको विषयमा यो देश, देशवासी र सरकारको धारणा पूर्णतया स्पष्ट हुनु जरुरी छ।


नेपाल वर्तमान समयमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राज्य कायम भएको अवस्थामा ‘चार वर्ण र ३६ जात’ को कुरा स्वतः असान्दर्भिक भएका बावजूद त्यसलाई अनर्गल तरिकाले परिभाषित गर्ने रूढीवादी विचारको प्रचार–प्रसारले राष्ट्रिय एकताको सन्दर्भलाई आघात पुर्‍याएको छ।


राष्ट्र निर्माणको अर्थ राष्ट्रको भौगोलिक अस्तित्वको निर्माणसँगै कायापलट हुने गरी राष्ट्रको उन्नति र प्रगति पनि हो। देशको रीति–नीति र आचार–व्यवहारको सुनिश्चितता पनि हो। बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफ्नो अन्त्य कालमा भनेका थिए– ‘राष्ट्रको रीति–थिति बाँधी जाउँला’ तर त्यतिको कार्य गर्नेसम्म उनी बाँचेनन्।

उनले रीति–थिति बनाउन सकेको भए उनको वैचारिक पक्ष पूर्णतः स्पष्ट हुने थियो। उनले आफ्नो अन्त्य आएको अनुभव गरेपछि आफ्ना सखा–सन्तान, भाइ–भारदारलाई बोलाएर दिएका आफ्नो अन्तिम सन्देश, जसलाई नेपाली इतिहासकारले ‘दिव्योपदेश’ भनेका छन्, त्यस सन्देशमा उनले मुलुकलाई चार वर्ण ३६ जातको फूलबारी भनेका छन्। तर ती चार वर्ण वा ३६ जात भनेका को–को हुन् भन्ने उनले प्रष्ट्याएनन्।

राष्ट्रनिर्माता बडामहाराजाधिराजले राष्ट्रलाई राष्ट्रवासीको धरोहर सुम्पिनुको ठूलो अर्थ छ, किनभने त्यसपछिको शासनले त्यसै कुरालाई शासकीय मन्त्र बनाएर अघि बढेका कारणले राष्ट्रमा विभेदको विजारोपण मात्र भएन, बल्कि राष्ट्रिय एकताको जरो कमजोर हुन पुग्यो र त्यसले मुलुकको सामाजिक पहिचानमाथि नै प्रश्न उत्पन्न गर्न पुग्यो।

बडामहाराजाधिराजले हासिल गरेको नेपाली भूमि वा क्षेत्रमा आदिकालदेखिका स्ववासीसँगै र उनको शेषपछि उनका सन्ततिले आर्जेको भूमि वा क्षेत्रका स्ववासीको सामाजिक पहिचानको फेहरिस्त बढेर जानु स्वाभाविक थियो। तर त्यो परिवर्तित राष्ट्रिय पहिचानलाई नजरअन्दाज गरेर दिव्योपदेशको कुरालाई संकीर्ण अर्थमा प्रासंगिक बनाई राख्न नियोजित रूपमा हुँदै आएको दुष्प्रयासले नेपाली राष्ट्रिय एकतालाई विवादित तुल्यायो र त्यसैको कारणले पुस २७ को सन्दर्भलाई न्यूनीकरणको चपेटामा पुर्‍यायो भनी भन्दा कसैले आपत्ति मान्नुपर्ने होइन।

नेपाल वर्तमान समयमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राज्य कायम भएको अवस्थामा ‘चार वर्ण र ३६ जात’ को कुरा स्वतः असान्दर्भिक भएका बावजूद त्यसलाई अनर्गल तरिकाले परिभाषित गर्ने रूढीवादी विचारको प्रचार–प्रसारले राष्ट्रिय एकताको सन्दर्भलाई आघात पुर्‍याएको छ।

छत्तीस वर्णचाहिँ ती जात व्यवस्थाभन्दा बाहिरका अनेकौँ समुदाय, वर्ण आदि। छत्तीसले यहाँ संख्या जनाउँदैन धेरै भन्ने जनाउँछ।

डा. गाउँले बलदेव, फित्कौलीमा लेख्छन्, ‘गणतन्त्र आउने बित्तिकै कीर्तिपुरका महागुरुहरूले कीर्तिपुरेको नाक काटिदिने राजाको नामै काटिदिए।’ त्यसपछि कुरा आयो, ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो’ नभनेर पृथ्वीनारायण शाहले ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो’ किन भने? ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्ण हुन्। यसकारण यो तर्क सही हो। वास्तवमा चार जातको अर्थ उद्भिज (जमिनबाट जन्मने बोट बिरुवा आदि प्राणी), स्वेदज (पसिना आदि विकारबाट जन्मने प्राणी), अण्डज (अण्डबाट जन्मने चरा आदि प्राणी) तथा जरायुज (सालनालबाट जन्मने प्राणी) यी चार जात हुन्। छत्तीस वर्ण भनेर ‘क’देखि ‘ज्ञ’सम्मका छत्तीस वटा व्यञ्जन वर्णलाई भनिएको हो।

त्यसैले उनको यो भनाइ साङ्केतिक हो। लेख्य नेपाली भाषाले नै नेपाल जोगाउँछ भन्ने विश्वास उनलाई थियो। पृथ्वीनारायण शाह मूर्ख राजा थिए भन्नेमा एक मत म पनि थपिदिउँला। तर पृथ्वीनारायण शाह विद्वान्को सल्लाहले मात्र बोल्थे। बहुलाएर बोल्दैनथे। उनीप्रतिको विश्वास फेर्न चाहिँ मेरो आत्माले मानेको छैन। चार जात छत्तीस वर्ण भनाइ असावधानीवश गलत भनिएको हो। चार वर्ण छत्तीस जात भन्नु सही हो भन्नेहरू पनि नभएका हैनन्। सनातनलाई वैदिक जोडेर त्यसको व्यापकता कम गर्न पनि यस्तै सोच लागिपरेको देखिन्छ।

हिन्दूमा सनातन सङ्कुचन गर्दा चार जात होइन वर्ण नै हो, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। अनि छत्तीस जातचाहिँ ती चारभित्रका थरहरू। तर त्यो सङ्कुचनबाट बाहिर निक्लने बित्तिकै चार वर्णले गुरुत्व गुमाउँछ, चार जात ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। जात व्यवस्थाभित्र पर्ने यी चार र तिनीहरूअन्तर्गतका थर गोत्र आदि सबै चार जातको व्यवस्थाभित्रका हुन्।

‘चार जात र छत्तीस वर्ण भन्ने धारणा हिन्दू धर्म र समाजको परम्परागत सामाजिक संरचना अन्तर्गत उल्लेख गरिएको छ। यो विभाजन मानव समाजका विभिन्न वर्ग र समुदायलाई समेट्नको लागि गरिएको मानिन्छ।’

छत्तीस वर्णचाहिँ ती जात व्यवस्थाभन्दा बाहिरका अनेकौँ समुदाय, वर्ण आदि। छत्तीसले यहाँ संख्या जनाउँदैन धेरै भन्ने जनाउँछ। डा. गाउँले बलदेवको उपरोक्त कथनको अभिप्राय के हो भन्ने कुरा ठम्याउन कठिन छ। तर स्वयं बडामहाराजाधिराजले दिव्योपदेशका केही अन्य प्रसंगहरूमा उल्लेख कुरा जस्तै– ‘पूर्वपश्चिमका षस–बाहुनलाई दरबारमा पैठ हुन नदिनु’ अथवा ‘पाँडेको ढाल बस्न्यातको तरवार’ आदि उक्तिहरूका अगाडि यिनको कथन फिका भएर जान्छ।

यसैगरी घटना र विचारमा शम्भुनाथ कार्की लेख्छन्– आधुनिक नेपालका निर्माताले यो मुुलुक पहिलेका मल्ल, सेन, शाह आदिले जस्तै आफ्नो सम्पत्ति मानेनन्। त्यसैले उनले क्रमभङ्ग गरे, ‘मुलुक राजाको वा शासकको अंश लाग्ने सम्पत्ति होइन, यो त जनता समेत सबैको साझा सम्पत्ति हो’ भने। त्यसै क्रममा ‘नेपाल सबैको, वर्ण व्यवस्थामा रहेका र नरहेका सबैको साझा हो’ भन्ने मान्यता कायम गरे।

चार जात छत्तीस वर्णको अवधारणा यही हो। नेपाल वैदिक कर्मकाण्डीको पनि हो र प्राकृत परम्परा मान्ने अवैदिकको पनि उत्तिकै हक लाग्ने गरेर साझा हो। यसलाई चार वर्ण छत्तीस जात भन्नेबित्तिकै त्यो विशालता, त्यो व्यापकता खुम्चिन जान्छ। र, वर्तमानमा त्यही व्यापकता खुम्च्याउने प्रयत्न कतैबाट भइरहेको छ। त्यसमा अनजानमै त्यो शाहवंश मान्नेहरूबाटै सहयोग भइरहेको छ।

यसैगरी वैदिक ज्ञान मञ्च फेसबुकमा हरिभक्त शर्माको एउटा पोस्ट देखिन्छ। पोस्टमा भनिएको छ– ‘चार जात र छत्तीस वर्ण भन्ने धारणा हिन्दू धर्म र समाजको परम्परागत सामाजिक संरचना अन्तर्गत उल्लेख गरिएको छ। यो विभाजन मानव समाजका विभिन्न वर्ग र समुदायलाई समेट्नको लागि गरिएको मानिन्छ।’

यस प्रकार विद्वान्हरूको इतिहासमा दफन भएर जाने कुरालाई पटक–पटक जगाइदिने, कुतर्कहरूद्वारा अझै सान्दर्भिक भन्ने, ‘चार वर्ण र छत्तीस जात’ कि ‘चार जात र छत्तीस वर्ण’ भन्नेमा दिग्भ्रमित तुल्याउने, सामाजिक व्यवहारमा बोलिएका कुरामाथि जबरजस्ती दार्शनिक लेप चढाउने कार्यले एउटा ऐतिहासिक कालखण्डलाई नै धूमिल तुल्याउने कार्य भएको देखिन्छ।

यस्तै दिव्योपदेशकै अनुसार पृथ्वीनारायण शाहले कुन जातका सिपाहीलाई अगाडि बढाए युद्ध जितिएला भनी आफ्ना मामासँग सुझाव माग्छन्– ‘मेरा साथमा चार जात (बाहुन, खस, मगर र ठकुरी) का सिपाही छन्। यिनमा कसको सवार गरे चाँडो काम फत्ते होला?’ मामा भन्छन्– ‘बाहुनको सवार भन्याको बयल हो, पातक् लाग्छ। ठकुरीको सवार भन्याको सिंह हो पछाडि दगा हुन्छ। मगरको सवार भन्याको टागन घोडा हो ढिलो हुन्छ। षसको सवार भन्याको ताजि तुर्कि घोडा हो। षसको सवार गर्या चाँडो होला भन्या जस्तो लाग्छ।’

सम्भवतः बडामहाराजाधिराजले जुन सामाजिक धरातलमा आफ्ना शब्दहरू व्यक्त गरे, त्यस धरातललाई छाडेर विषयान्तर गर्नु उचित होइन। उनले वर्ण र जात भनेर सम्पूर्ण राष्ट्रलाई समेट्न खोजेका थिए। उनको अभिव्यक्तिलाई राष्ट्रिय एकताको पर्यायको रूपमा प्रकट गर्दा त्यसमा आज पनि सम्पूर्ण राष्ट्र अटाउन सक्छ र राष्ट्रिय एकताको प्रतिकात्मक नारा बन्न सक्छ।

तर त्यस वाक्यांशमा प्रवेश गरेर अन्यथा चिरफार गर्न खोज्दा त्यसले आफ्नै स्वरूपलाई मात्र विकृत तुल्याउने होइन, बल्कि महान ऐतिहासिक घटना र त्यसका नायकको छविमाथि समेत प्रश्न उठाउने स्थिति उत्पन्न गर्छ। ‘चार जात र ३६ वर्ण’ सामाजिक गणित होइन, राष्ट्रिय एकताको पर्याय हो भन्ने कुरामा पुग्नुको विकल्प छैन। इतिहासलाई विवादको विषय तुल्याउनु सही कार्य होइन।

‘यो फूलबारीका छोटा–बडा चारै जात् छत्तिस वर्ण सबै मिलेर असल हिन्दुराष्ट्र हो, कुलधर्म नछोड्नु’ भन्ने उनको शब्द र भावलाई उनकै स्वभाव र परिस्थितिको आधारमा विवेचन गर्नु उचित हुन्छ। यो देश एउटा फूलबारी हो भने फूलबारीका सबै फूलको समान अस्तित्व छ। सबै जातजाति मिलेर नेपाललाई उन्नत राष्ट्र बनाउनुपर्छ भन्ने उनको सन्देश हो।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा रुचि राख्छन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप