शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आजपाद्वारा दुई दलसँग एकैदिन पार्टी एकीकरण

मङ्गलबार, २९ पुस २०८२, २२ : १६
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • आम जनता पार्टी (आजपा) ले दुई राजनीतिक दलसँग एकीकरण गर्दै संगठन विस्तार गरेको छ।
  • धनुषामा आयोजित कार्यक्रममा नेपाल सदभावना पार्टीसँग पार्टी एकीकरणको घोषणा गरियो, जसमा सयौँ नेता र कार्यकर्ता प्रवेश गरे।
  • आजपाले जन अधिकार पार्टी नेपालसँग पनि एकीकरण गर्‍यो र आगामी निर्वाचनमा संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने सहमति भयो।

काठाडौँ । आम जनता पार्टी (आजपा) ले मंगलबार एकैदिन दुई राजनीतिक दलसँग पार्टी एकीकरण गर्दै आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र इमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसँग औपचारिक रूपमा एकीकरण गर्दै आजपाले विभिन्न दलबाट आएका सयौँ नेता, कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको हो ।

धनुषाको महेन्द्रनगरमा आयोजित आजपा धनुषा क्षेत्र नं. ४ को विशेष क्षेत्रीय भेलामार्फत ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउने’ संकल्पसहित कार्यक्रम सम्पन्न गरिएको थियो। सोही भेलामा आजपाले रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टीसँग पार्टी एकीकरणको औपचारिक घोषणा गरेको हो ।

उक्त अवसरमा धनुषा मिथिला नगरपालिका निवासी रामजीवन महतो पनि आजपामा प्रवेश गरेका छन् । उनी पर्यावरण शहीद स्वर्गीय दिलीप महतोका पिता हुन् । साथै विभिन्न राजनीतिक दलमा आबद्ध सयौँ नेता, युवा तथा समाजसेवीहरूले आजपामा प्रवेश गरेका छन् । धनुषाका विभिन्न पालिकाका निर्वाचित वडा अध्यक्षहरू समेत आजपामा प्रवेश गरेको पार्टी प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिएका छन् ।

यसअघि मंगलबार बिहान वीरगञ्जमा आजपाले इमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसँग पार्टी एकीकरण गरेको थियो । पार्टी एकीकरणसँगै नेपाल सदभावना पार्टी र जन अधिकार पार्टी नेपालको सम्पूर्ण केन्द्रीय समिति आजपामा समाहित भएको छ। साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोबाइल’ चुनाव चिह्नबाट संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै दलसँग एकीकरण तथा पार्टी प्रवेश गर्ने सम्पूर्ण नेता–कार्यकर्तालाई स्वागत गर्दै उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे। पार्टी एकीकरण र प्रवेशको लहरले आजपा थप सशक्त र बलियो बन्दै गएको उल्लेख गर्दै उनले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिँदै मुलुक र जनताको हितमा प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

यसअघि आजपाले जनादेश पार्टी, लघुवित्त पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्षरत समितिहरूसँग चुनावी सहमति तथा गठबन्धन गरिसकेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप