देउवा चुनाव लड्ने–नलड्ने विवादले फुट्यो कांग्रेस
सारांश
- एउटै विषयमा सहमति नजुट्दा नेपाली कांग्रेस फुट्यो, जसमा देउवाको उम्मेदवारी मुख्य कारक रह्यो।
- देउवा फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने वा नबन्ने भन्ने विषयमा सहमति जुट्न सकेन।
- विशेष महाधिवेशन पक्षधरले राखेका आठ बुँदामा सहमति भएपनि देउवाको उम्मेदवारीको विषय पेचिलो बन्यो।
काठमाडौँ । एउटै विषयमा सहमति नजुट्दा नेपाली कांग्रेस फुटेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कार्यसम्पादन समितिको बैठकबाट वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेका सभापति शेरबहादुर देउवा पक्षधर र डा. शेखर कोइराला नेतृत्वको इतर समूहबिच एउटा विषयमा मात्रै कुरा नमिल्दा पार्टी फुटेको कांग्रेस नेताहरू बताउँछन् ।
त्यो विषय हो–सभापति शेरबहादुर देउवा फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने कि नबन्ने ? संस्थापन र डा. शेखर कोइराला समूहले पार्टीको जिम्मेवारी नलिएपछि निर्वाचन लड्न पाउनुपर्ने अडान राखिरहेका छन् ।
तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा त्यो प्रस्ताव मान्न तयार नभएपछि पार्टी विभाजनको अवस्था आएको हो । यसबारे संस्थापन समूहले केन्द्रीय कार्यसमितिको बैठकबाट आफूहरूलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेपछि भृकुटीमण्डपको हलमा धारणा राख्ने क्रममा थापाले केही कुरा सार्वजनिक गरेका थिए ।
थापाले जेनजी आन्दोलनको म्यान्डेटअनुसार देउवाले सबै राजनीतिक जिम्मेवारीबाट निष्क्रिय हुनुपर्ने माग आफूहरूले राखेको तर त्यस विषयमा सहमति नजुटेको बताए । उनका अनुसार त्यसबाहेकका अन्य सबै विषयमा सहमति भइसकेको थियो भन्ने वार्ता समितिमा रहेका नेताहरूको भनाइ छ ।
यो विवाद समाधान गर्न संस्थापन र डा. शेखर कोइराला समूहबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी थिए । महामन्त्रीद्वयको तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेल र मधु आचार्य तथा नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे सदस्य थिए ।
वार्ता समितिले मंगलबार तीन चरणमा छलफल गरेको थियो । ती छलफलमा प्रायः सबै विषयमा सहमति जुटेको थियो । तर सभापति देउवाको उम्मेदवारीसम्बन्धी विषय पेचिलो बनेपछि बुधबार बिहान देउवा निवास महाराजगन्जमा सभापति देउवा र महामन्त्रीद्वय थापा–शर्माबिच पुनः वार्ता भएको थियो । सो वार्तामा पनि यही विषयमा सहमति जुट्न सकेन ।
यो विषय बाहेक विशेष महाधिवेशन पक्षधरले राखेका आठ बुँदामा सहमति भएको थियो । दुवै पक्षका नेताहरूसँगको कुराकानीका आधारमा सहमति भएका भनिएका आठ बुँदा यस प्रकार छन्–
१. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२.परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने
३.सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने र उम्मेदवारी पत्रमा हस्ताक्षर नगर्ने
४.उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६.कुनै पनि दलसँग गठबन्धन नगरी नेपाली कांग्रेसले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने
७. नेपाली कांग्रेसको तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८.यी सबै कार्यको समन्वय र कार्यान्वयनका लागि पाँच सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेता रहने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण