झापा–५ बाट ओली लड्ने, मोरङ र सुनसरीका केही क्षेत्रको निर्णय अध्यक्षको हातमा
सारांश
- नेकपा एमालेले कोशी प्रदेशका १४ वटै जिल्लाका लागि उम्मेदवारहरूको सूची तयार पारेको छ, जसमा केपी शर्मा ओलीसहितका नेताहरूको टिकट पक्का भएको छ।
- झापा, मोरङ र सुनसरीका केही क्षेत्रको निर्णय अध्यक्ष ओलीले गर्ने भएका छन्, जसमा केही नयाँ अनुहारहरूलाई टिकट दिइएको छ।
- एमालेको उम्मेदवार सूचीमा पुराना र 'हेभीवेट' नेताहरूलाई दोहोर्याउने रणनीति लिएको छ, भने महिला उम्मेदवारहरूलाई पनि प्रत्यक्ष तर्फको जिम्मेवारी दिइएको छ।
विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशका १४ वटै जिल्लाका उम्मेदवारहरूको सूची तयार पारेको छ।
एमालेको बलियो जनाधार मानिने कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वमुख्यमन्त्री र प्रभावशाली नेताहरूको टिकट पक्का भएको छ भने तराईका झापा, मोरङ र सुनसरीका केही क्षेत्रहरूको निर्णय अध्यक्ष ओलीकै जिम्मामा छोडिएको छ।
विवरण अनुसार झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष ओली नै चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । झापाका अन्य क्षेत्रहरूमध्ये क्षेत्र नम्बर १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे र ४ मा मनोज ताम्लीको नाम टुंगो लागेको छ भने क्षेत्र नम्बर ३ को निर्णय अध्यक्षले गर्नेछन् । क्षेत्र नम्बर ३ मा एमालेले यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउँदै आएको थियो । यस पटक पनि अध्यक्ष ओलीले आफू झापा ५ मा सुरक्षित रहन राप्रपासँग सहकार्य गर्न त्यसो गरिएको हुनसक्ने जनाइएको छ ।
एमालेले झापा २ का आकांक्षी नेता अग्नी खरेललाई यस पटक पनि टिकटबाट वञ्चित गरेका छन् । एमालेले झापामा टिकट दिएकामध्ये उप्रेती र ताम्ली नयाँ अनुहार हुन् ।
प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङ जिल्लामा पनि एमालेले ५ र ६ नम्बर क्षेत्रबाहेक अन्यमा उम्मेदवारको टुंगो लगाएको छ । मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा दिलीप राई र ४ मा जीवन घिमिरेले एमालेको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। खतिवडा एमाले प्रदेश अध्यक्ष हुन् । उनी यो क्षेत्रबाट ४८ सालयता लगातार प्रतिस्पर्धा गरिरहेका छन् । उता २ नम्बरका उम्मेदवार बगडिया रंगेली नगरपालिकाका प्रमुख हुन् । सो क्षेत्रमा एमाले नेता ऋषिकेश पोखरेलले चुनाव लड्दै आएका थिए । यस पटक उनको नाम काटेर बगडियालाई अघि सारिएको हो ।
क्षेत्र नम्बर ३ का उम्मेदवार दिलिप राई र ४ का जीवन घिमिरे यसअघि प्रदेशसभामा पराजित बनेका थिए । प्रतिनिधिसभामा उनीहरूको प्रतिस्पर्धा पहिलो हुनेछ ।
मोरङको क्षेत्र नम्बर ५ र ६ मा भने उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । यी दुवै क्षेत्रको निर्णय अध्यक्षले गर्ने गरी खाली राखिएको छ। क्षेत्र नम्बर ५ मा एमालेले राष्ट्रिय उर्जाशिल पार्टीका संयोजक योगि मण्डललाई सहयोग गर्न सक्ने अनुमान छ ।
उता सुनसरीमा क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक र ४ बाट भगवती चौधरीको नाम पक्का भएको छ । सुनसरीको क्षेत्र नम्बर २ र ३ को हकमा जगदीश कुसियातको नाम चर्चामा रहे पनि एउटा क्षेत्र अध्यक्षले नै टुङ्गाउने गरी व्यवस्थापन गर्न खोजिएको देखिन्छ । १ का उम्मेद्वार पन्दाक नयाँ अनुहार हुन् । ४ कि उम्मेदवार चौधरी भने यसअघि ३ बाट विजयी बनेकी थिइन् । ३ नं. क्षेत्रमा काङ्ग्रेसका नेता विजय गच्छदार चुनाव लड्ने तयारीमा छन् भने ४ मन काङ्ग्रेसबाट ज्ञानेन्द्र कार्की चुनाव लड्नेछन् ।
पहाडी तथा हिमाली जिल्लाहरूमा एमालेले पुराना र ‘हेभीवेट’ नेताहरूलाई नै दोहोर्याउने रणनीति लिएको छ । भोजपुरबाट कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, धनकुटाबाट प्रभावशाली नेता राजेन्द्र राई र तेह्रथुमबाट पूर्वमन्त्री भानुभक्त ढकाललाई टिकट दिइएको छ । राईद्वयको यसअघि कै क्षेत्र हो भने ढकाल यसअघि मोरङ ३ बाट लड्दै आएका थिए । गएको निर्वाचनमा काङ्ग्रेसका सुनिल शर्मासँग पराजित बनेपछि उनी तेह्रथुम सिफ्ट भएका हुन् ।
इलामको दुई क्षेत्रमा क्रमशः काजिमान कागते र युवा नेता सुहाङ नेम्वाङलाई अघि सारिएको छ । स्व सुवास नेम्वाङका छोरा नेम्वाङ यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। कागते भने यसअघि सूर्योदय नगरपालिकाको प्रमुखमा पराजित भएका थिए ।
त्यस्तै पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, संखुवासभामा डा। अर्जुन कार्की र खोटाङमा देवविक्रम राईको नाम सूचीमा छ । उदयपुर जिल्लामा दुर्गा थापा स्वोती र अमर रायमाझीले टिकट पाउने भएका छन्। यी सबै नयाँ अनुहार हुन् ।
एमालेले कोशी प्रदेशमा महिला उम्मेदवारहरूलाई पनि प्रत्यक्ष तर्फको जिम्मेवारी सुम्पेको छ। सुनसरीमा भगवती चौधरी र उदयपुरमा दुर्गा थापा स्वोती बाहेक सोलुखुम्बुमा कल्पना राई र ओखलढुंगामा अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ। उनीहरू पनि नयाँ हुन् ।
ताप्लेजुङको उम्मेदवार छान्ने जिम्मा भने अध्यक्ष ओलीलाई नै दिइएको छ। यसअघि सो क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन जित्दै आएका थिए । ताप्लेजुङबाट भट्टराईसहित क्षितिज थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको नाम सिफारिस भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण