बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दोलखामा नेकपाबाट खड्का चुनाव लड्ने

आइतबार, ०४ माघ २०८२, १२ : २३
आइतबार, ०४ माघ २०८२

सारांश

  • दोलखाबाट नेकपाले विशाल खड्कालाई प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनाएको छ।
  • खड्कासहित ५ जनाको नाम सिफारिसमा परेको थियो भने २०७९ मा गंगा कार्कीले चुनाव जितेका थिए।
  • खड्का २०७४ मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य जितेर मन्त्री बनेका थिए, र यसपटक एमालेबाट पार्वत गुरुङ र कांग्रेसबाट कुन्दनराज काफ्ले उम्मेदवार बन्ने सम्भावना छ।

दोलखा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विशाल खड्कालाई उम्मेदवार बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई उम्मेदवारको टिकट प्रदान गरेका हुन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा निर्वाचन लड्न खड्कासहित ५ जनाको नाम सिफारिसमा परेको थियो । निर्वाचनका लागि खड्कासहित गोपाल न्यौपाने, नरबहादुर पाख्रिन, जेविन सर्वहारा र रुरल एमलाई सिफारिस गरिएको थियो । सो क्षेत्रबाट २०७९ मा गंगा कार्कीले चुनाव जितेका थिए ।

सो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले कांग्रेससंगको गठबन्धनबाट चुनाव लडेको थियो । जसमा प्रतिनिधिसभा माओवादी केन्द्रबाट कार्कीले टिकट पाउँदा प्रदेश तर्फको २ क्षेत्रमा कांग्रेसका कुन्दराज काफ्ले र बर्मा लामाले टिकट पाएका थिए । सोही कारण उम्मेदवारको चर्चा चले पनि खड्काले २०७९ मा उठ्ने अवसर पाएका थिएनन् ।

२०७४ मा साे क्षेत्रबाट एमाले र तत्कालीन माओवादी केन्द्रको गठबन्धनबाट पार्वत गुरुङले चुनाव जितेका थिए भने प्रदेशतर्फ १ (क)बाट खड्का उम्मेदवार थिए भने १ (ख) मा पशुपति चौँलागाई उम्मेदवार थिए । उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट दोलखा १ (क) बाट बागमती प्रदेशसभामा जितेर २०७८ मा प्रदेशको वन तथा वातावरण मन्त्री बनेका थिए ।

१४ महिना मन्त्री बनेका उनी २०५४ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ताका रूपमा जनयुद्धमा होमिएका थिए । सो क्रममा उनले १६ वर्ष कै कलिलो उमेरमा १८ वटा राज्य विरुद्द्को मुद्दा खेप्नु परेको थियो ।

खड्काविरुद्ध एमालेबाट पार्वत गुरुङ उम्मेदवार हुनेछन् भने कांग्रेसबाट कुन्दनराज काफ्ले, अजयबाबु सिवाकोटी लगायतको नाम सिफारिसमा रहेको छ । पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य रहेका काफ्ले पदबाट राजीनामा गरेर दोलखाबाट कुनै पनि अवस्थामा उम्मेदवार बन्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप