शक्ति बस्नेतले टिकट पाएपछि आचार्यको असन्तुष्टिका १० बुँदा, ‘भिख मागेको होइन, सगौरव दाबी गरेको हुँ’
सारांश
- जाजरकोटमा शक्ति बस्नेतलाई नेकपाले पुनः टिकट दिएपछि विवाद सुरु भएको छ।
- पार्टीका नेता गणेशप्रसाद सिंहले पार्टी परित्याग गरे भने रामदीप आचार्यले असन्तुष्टि जनाएका छन्।
- आचार्यले टिकट वितरणमा असन्तुष्टि जनाउँदै सामूहिक छलफलको माग गरेका छन्।
सुर्खेत । पटक–पटक जिल्लाका नेताहरूसँग चुनाव नलड्ने बताएका शक्ति बस्नेतले नै पुनः टिकट पाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटमा विवाद सिर्जना भएको छ।
आइतबार उम्मेदवारका आकाङ्क्षी रहेका नेकपा केन्द्रीय सदस्य तथा साबिक माओवादी जाजरकोटका इन्चार्ज गणेशप्रसाद सिंहले पार्टी नै परित्याग गरेका छन्।
यस्तै अर्का आकाङ्क्षी रामदीप आचार्यले असन्तुष्टिका १० बुँदा सार्वजनिक गरेका छन्। पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका आचार्यले आफूले कुनै भिख नमागेको तर सगौरव टिकट माग गरेको बताएका छन्।
‘अरूले दाबी गर्दा समाजवादका लागि र मैले दाबी गर्दा अवसरवाद हुँदैन होला,’ शक्ति बस्नेततर्फ सङ्केत गर्दै उनले भनेका छन्, ‘भिख मागेको होइन, सगौरव दाबी गरेको हुँ, म कमरेडद्वेषी र मत्स्यन्यायको विपक्षमा छु।’
जिल्लाबाट सिफारिस भएका कमरेडहरूको बिचमा एकपटक मात्रै पनि सामूहिक छलफल गरेको भए जिल्ला इन्चार्जले नै पार्टीबाट राजीनामा दिनुपर्ने अवस्था नआउने उनले बताए।
जाजरकोटमा शक्ति बस्नेत २०६४ पछि लगातार चुनाव लड्दै आएका छन्। यद्यपि यो पटक आफूले नै चुनाव नलड्ने बताए पनि अन्तिममा पार्टी केन्द्रले उनैलाई टिकट थमाएपछि विवाद भएको हो।
आचार्यका १० बुँदा जस्ताको तस्तै :
१. प्रतिनिधि सभा निर्वाचन जाजरकोट उम्मेदवार छनोट सम्बन्धी उठेका सवालहरूलाई गम्भीरतापूर्वक लिएको छु। शुभेच्छा, अपेक्षा र विश्वास गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, तपाईंहरूको भरोसा निरन्तर कायम राख्नेछु।
२. पार्टीभित्र मात्रै सुनिने गरी बोल्दा ‘दास र लास’ हुने र पार्टीबाहिर जनताले पनि सुन्ने गरी बोल्दा ‘अराजक’ हुने अवस्थाप्रति सचेत छु।
३. आउँदो फागुन २१ गते हुने निर्वाचन सहज प्रक्रियाको उपज होइन। दर्जनौँ युवाहरूको लासको चाङ र न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकासहित खर्बौं सम्पत्तिहरूको खरानीको थुप्रोमाथि यो चुनाव हुँदैछ। जनता, कार्यकर्ता र देशले हारिरहने तर हामी नेताहरूले जितिरहने अवस्थाले सङ्कट पैदा भएको हामीले भुल्नु हुँदैन। सङ्कट टरेको छैन, सरेको पनि छैन, हाम्रो शिरमाथि मडारिरहेको छ।
४. समयको माग र आत्मगत चाहनाको मेलको रूपमा मैले उम्मेदवारी दाबी गरेको हुँ। म पार्टीको आम कार्यकर्ता हुँ, न म विलक्षण प्रतिभाशाली हुँ न युगनायक नै। नायकहरू र वीरहरूले होइन जनताले इतिहास बनाउँछन् भन्ने दर्शन र सिद्धान्तमाथि म विश्वास गर्दछु।
५. नेपाली विशेषताको समाजवाद नेता, कार्यकर्ता र जनताको सामूहिक मिहिनेतको प्रतिफल भएपछि मात्रै प्राप्त हुनेछ, टिक्नेछ र फैलिनेछ।
६. म टिकट वितरण हुँदैछ भन्ने हल्ला सुनेर यो पार्टीमा प्रवेश गरेको होइन। सामान्य राजनीतिक चेत भएदेखि अनवरत यही पार्टीमा छु। अवसरको खोजीमा होइन न्यायको खोजीमा पार्टीमा सामेल भएको हुँ। यो पार्टीमा पूर्णकालीन कार्यकर्ता हुँदा नजन्मेका कमरेडहरू केन्द्रीय समितिमा पुग्दा पनि तलै ‘कार्यकर्ता’ भएर बसेका दर्जनौँ कमरेडहरूको धैर्यता पनि देखिरहेको छु। हिरासतमा कुटीकुटी मारिँदा बाँचेर बाहिर जाने कमरेडहरूले लालसलाम सुनाइदिनु भनेर सुनाएको भर्खरै जस्तो लाग्छ। प्रिय कमरेडहरू र आफन्त कमरेडहरूले बलिदान गरेर खडा गरेको पार्टीमा निजी स्वार्थका लागि नीचता प्रदर्शन गर्ने छैन, मेरो वाचा हो।
७. अरूले दाबी गर्दा समाजवादका लागि र मैले दाबी गर्दा अवसरवाद हुँदैन होला। भिख मागेको होइन, सगौरव दाबी गरेको हुँ। कमरेडद्वेषी र मत्स्यन्यायको विपक्षमा छु। जिल्लाबाट सिफारिस भएका कमरेडहरूको बिचमा एकपटक मात्रै पनि सामूहिक छलफल गरेको भए जिल्ला इन्चार्जको राजीनामा सार्वजनिक रूपमा आउँदैनथ्यो कि?
८. पार्टीले माग गरेमा म जुनसुकै त्याग गर्न तयार छु। चुनावी आन्दोलनमा जीवन नै दिनु पर्दैन होला। राजनीतिक पार्टीको संसारकै सबैभन्दा ठुलो केन्द्रीय समितिको रूपमा गिनिज बुकमा रेकर्ड राख्न मिल्ने केन्द्रीय सदस्य पद त्याग गर्दा समाजवाद अझै नजिक आउँछ भने म त्यो पनि त्याग गर्न तयार छु।
९. अन्त्यमा, स्वस्थ र जीवन्त छलफलसहित पार्टी निर्णय कार्यान्वयनमा लाग्न सबै पार्टी पङ्क्तिलाई हार्दिक अपिल गर्दछु। पार्टी केन्द्रले टिकट उपलब्ध गराएको कमरेड शक्तिबहादुर बस्नेतलाई चौथो पटक पनि जितको शुभकामना व्यक्त गर्दछु। तारा चिह्नमा मतदान गर्नुहुन सबै कमरेडहरू र जनसमुदायलाई हार्दिक अपिल गर्दछु।
१०. चुनावी घोषणापत्रमा एउटा मात्रै सङ्कल्प र प्रतिबद्धता राख्न सुझाव पेस गर्दछु। आउने पाँच वर्षमा भूकम्पले क्षतिग्रस्त सवा एक लाख मतदाताका सुरक्षित घर बनाउनेछौँ। सुरक्षित आवासमा बस्न पाउनु नागरिकको मौलिक हक हो। घर बनाउनु राज्यको दायित्व हो। जुन घरमा बाटो पुगेको होस्, बिजुली जोडिएको होस्, विद्यालय नजिक र गुणस्तरीय बनोस्, स्वास्थ्य बिमासहितको अस्पताल होस्, काम खोज्दै संसारभर भौँतारिनु नपरोस्। जुन घरमा सामाजिक न्याय होस्। घर घरजस्तो होस्, घर मृत्युको धराप नबनोस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण