बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश समाचार

जाजरकोटमा प्रचण्डले फेरि शक्ति बस्नेतलाई टिकट दिएपछि गणेश सिंहको विद्रोह, पार्टी परित्याग

आइतबार, ०४ माघ २०८२, १५ : ४४
आइतबार, ०४ माघ २०८२

सारांश

  • जाजरकोटमा नेकपाले शक्ति बस्नेतलाई उम्मेदवार बनाएपछि पार्टीभित्र विवाद सुरु भएको छ।
  • पार्टी नेता गणेशप्रसाद सिंहले टिकट वितरणमा असहमति जनाउँदै पार्टी केन्द्रमा पत्र बुझाएका छन्।
  • सिंहले बस्नेतले निर्वाचनमा उम्मेदवार नबन्ने प्रतिबद्धता जनाए पनि पार्टीले उनलाई नै टिकट दिएको आरोप लगाएका छन्।

सुर्खेत । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शक्ति बस्नेतलाई नै पुनः उम्मेदवार बनाएपछि पार्टीभित्र विवाद सुरु भएको छ । सो पार्टीका अर्का नेता गणेशप्रसाद सिंहले टिकट वितरणमा गम्भीर असहमति जनाएका हुन् ।

सिंहले असहमतिपत्र आफूले पार्टी केन्द्रमा बुझाइसकेको जानकारी दिए । उनी अहिले नेकपाको केन्द्रीय सदस्य तथा साविक माओवादी जाजरकोटको इन्चार्जसमेत हुन् । उनी ०७४ मा प्रदेश सांसद भएर कर्णालीको ऊर्जा तथा जलस्रोतमन्त्री समेत भइसकेका नेता हुन् ।

उनले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको असहमतिपत्रमा फागुन २१ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवार बन्दिनँ भनेर शक्ति बस्नेतले जिल्लाका नेताहरूलाई पटक–पटक झुक्याएको उल्लेख छ ।

‘पुस १० गते सम्पन्न बैठकमा शक्ति बस्नेतले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने भएकाले तपाईंहरू सल्लाह र तयारी गर्नुहोस्, म यो पटक पार्टी चलाएर बस्छु भन्नुभयो,’ सिंहले भनेका छन्, ‘त्यसपछि जिल्लाबाट सम्मानका रूपमा बस्नेतलगायत रामदीप आचार्य, मेरो, कृष्ण बिसी, पार्वती थापा र महेश अधिकारीको नाम सिफारिस गरियो ।’

काठमाडौँमा बस्नेतको निवासमा भएको भेटघाट तथा छलफलमा पनि बस्नेतले आफू उठ्ने भए जिल्लाको बैठकमा जान्थेँ, म यो पटक उम्मेदवार नहुने मानसिकता बनाएकाले नै बैठकमा नगएको भनेर नेताहरूलाई जानकारी गराएको सिंहले उल्लेख गरे ।

त्यसपछि सिंह र रामदीप आचार्यबिच छलफल भयो । ‘आचार्यले शक्ति बस्नेतसँग सल्लाह गरौँ भन्दा बस्नेतको समय मिलेन,’ सिंहले भनेका छन्, ‘रामदीपले पनि शक्ति बस्नेत रिजर्भ नभएर स्पष्ट बोल्नुपर्छ भन्नुभयो, तर शक्ति सरसँग छलफलका लागि उहाँको समय मिलेन ।’

त्यसपछि माघ १ गते अध्यक्ष प्रचण्डलाई भेटेर शक्ति र रामदीपसँग भएका छलफलका विषय जानकारी गराएको सिंहले बताए । सिंहले यसपटक आफ्नो दाबी रहेको पनि प्रचण्डसमक्ष बताए ।

सिंहका अनुसार प्रचण्डले शक्ति बस्नेतसँग छलफल गरेर जानकारी गराउने बचन दिएका थिए ।

माघ ३ गते शक्ति बस्नेतसँग भेट भएको सिंहले जनाएका छन् । त्यस दिन बस्नेतले ‘अहिले भर्खर अध्यक्षको फोन आयो, तपाईं उठ्नुपर्छ भन्नुभयो’ भनेर आफूलाई सुनाएको उनको भनाइ छ । यद्यपि आफूले साथीहरूलाई ‘म उठ्दिनँ भनिसकेको’ भनेर प्रचण्डलाई जानकारी गराएको पनि शक्ति बस्नेतले आफूलाई सुनाएको उनले बताए ।

सिंहले भने, ‘तर पार्टीले जाजरकोटबाट शक्ति बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।’

शक्ति बस्नेतलाई निर्वाचनमा उठ्न टीका लगाएर आदेश दिनु, एउटै व्यक्तिले अध्यक्षस्तरबाट निरन्तर दबाब सिर्जना गर्नु, म उठ्ने मन छैन भन्दाभन्दै पनि जबर्जस्ती निर्णय लादिनु विधान विपरीत कार्य भएको सिंहको भनाइ छ ।

‘यी सबै कार्य गम्भीर रूपमा आपत्तिजनक छन्,’ उनले असहमतिपत्रमा लेखेका छन्, ‘यस्तो स्वेच्छाचारी, मालिक मुखिया प्रवृत्तिका निर्णयहरूले कार्यकर्ताहरूलाई रैती र दाससरह बनाउने प्रयास गरिएको छ, जुन पार्टीको विधान, सिद्धान्त र सामूहिक नेतृत्वको मर्मविपरीत छ ।’

यी सबै कारणले गर्दा आफू नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय आयोजक समिति सदस्यसहित पार्टीको साधारण सदस्यसमेत नरहेको पनि उनले असहमतिपत्रमार्फत नै जानकारी गराएका छन् ।

1-patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप