बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फागुन १ मा थपिए ‘बिगुल’ र ‘श्री बुकुरो’

मङ्गलबार, ०६ माघ २०८२, १० : ३९
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • आगामी फागुनमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक भएको छ, जसमा 'लालीबजार', 'कल्ली', 'शिवांश' जस्ता फिल्महरू छन्।
  • 'श्री बुकुरो' र 'बिगुल' फिल्महरू पनि फागुनको पहिलो साता प्रदर्शन हुने भएका छन्, जसले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
  • 'श्री बुकुरो' पारिवारिक कथामा आधारित छ भने 'बिगुल' ले देशको राजनीतिक कथालाई प्रस्तुत गर्नेछ।

काठमाडौँ । आगामी फागुनको पहिलो साता प्रदर्शनमा आउने फिल्मको थुप्रो लागेको छ । ३ गते महाशिवरात्रि, ६ गते ग्याल्पो ल्होछार र ७ गते प्रजातन्त्र दिवसको बिदा परेको यो साता शनिबार सहित ४ दिन सार्वजनिक बिदा पर्छ । त्यसैले यो मितिका लागि पहिले नै तीन फिल्म ‘लालीबजार’, ‘कल्ली’, ‘शिवांश’ले प्रदर्शन मिति तोकेर बसेका छन् । यो मितिमा अब दुई नयाँ फिल्म थपिएको छ । फिल्म हुन् ‘बिगुल’ र ‘श्री बुकुरो’ । यी थपिएका दुई फिल्मले सोमबार मात्र यो मितिमा प्रदर्शन हुने घोषणा गरेका हुन् ।

‘श्री बुकुरो’ले एक स्केच पेन्टिङ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पारिवारिक कथाको संकेत गर्ने पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ ।

फिल्म सुदीप भुपाल सिंहले निर्देशन गरेका हुन् । पछिल्लो समय सामाजिक पारिवारिक फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेकाले ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई पनि दर्शकले रुचाउने निर्माण पक्षको बिश्वास रहेको छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रश्मी भट्ट लगायतको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

‘बिगुल’ आगामी ९ गते शुक्रबारबाट सरेर फागुन १ मा पुगेको हो । फिल्म यही मितिमा देशब्यापी प्रदर्शनमा आउने कथाकार तथा निर्माता दिनेश कोइरालाले बताए ।

रमेश कोइरालाको निर्देशन रहेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डितको पनि मुख्य भूमिका छ । फिल्मले देशको वर्तमान राजनैतिक कथा उठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप