मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ–३ मा कुलमानको ‘अग्निपरीक्षा’ : रास्वपासँगको सम्बन्ध तोड्दै मैदानमा

मङ्गलबार, ०६ माघ २०८२, २० : १०
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । ‘जेनजी विद्रोह’ पछि उत्पन्न विषम परिस्थितिका बिच आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ चर्चाको केन्द्रमा छ। पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दिएसँगै यस क्षेत्रमा सबैको चासो ह्वात्तै बढेको हो।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख समेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता सम्झौता तोडेर पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले गत पुस २३ गते नै पदबाट राजीनामा दिएका थिए। उच्च राजनीतिक महत्त्वाकाङ्क्षा बोकेर प्रतिस्पर्धामा उत्रिएका घिसिङलाई यो चुनाव जित्नै पर्ने बाध्यता छ।

विगतको अङ्कगणित हेर्दा, वि.सं. २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका सन्तोष चालिसे १५ हजार १५१ मत ल्याएर विजयी भएका थिए भने एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत प्राप्त गरेका थिए। सोही चुनावमा रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत पाएका थिए।

यसपटकको निर्वाचनमा नेकपा एमालेले रामेश्वर फुयाँल, नेकपाले नीरज लामा तथा रमेश अर्याल र रास्वपाले राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ। भौगोलिक रूपमा काठमाडौँ महानगरपालिकाको वडा नं. ६, गोकर्णेश्वर नगरपालिकाका सबै वडा र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. १, २ र ३ यस निर्वाचन क्षेत्रभित्र समेटिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप