मकवानपुर–२ ‘बालेन’का दूतलाई ‘बालेन’कै भर
सारांश
- मकवानपुर क्षेत्र नम्बर २ मा विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
- यहाँ नेकपाका लवशेर विष्ट र कांग्रेसका बुद्ध लामाबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
- रास्वपाबाट प्रशान्त उप्रेती र उज्यालो नेपाल पार्टीका प्रवीण कुमार स्याङ्तानले पनि उम्मेदवारी दिएका छन्।
हेटौँडा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–२ बाट नेकपाका लवशेर विष्ट, कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, प्रलोपाका सन्तोष विष्टले मनोनयन दर्ता गरेका छन् ।
यो क्षेत्रबाट श्रम संस्कृति पार्टीका युनिश लामा, उज्यालो नेपाली पार्टीका प्रवीण कुमार स्याङ्तान, रास्वपाका प्रशान्त उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका हिरालाल स्याङतान, नेशनल रिपब्लिक नेपालका सूर्य तामाङ बल, आम जनता पार्टीका सूर्य राई, नेमकिपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टीका शुभराज प्रजा, नेकपा माओवादीका राम घलान, राप्रपाका रामबहादुर थोकर, जसपाका छविलाल वाइवा, जनमोर्चाका निरबहादुर सिन्तानले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्रबाट अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।
भौगोलिक विकटता रहेको यहाँ मा तामाङ, चेपाङ समुदायको बाहुल्य छ । पर्यटकीय नगरी थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका तथा मकवानपुरगढीका उत्तरतर्फका ४ वटा वडासहित गाँजाको उर्वरभूमि कैलाश, राक्सिराङ, भीमफेदी र मनहरी गाउँपालिका पर्छन् । यस क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाअन्तर्गत उत्तर पश्चिम अवस्थित १, ३, ११ र १९ नम्बर वडाहरू पर्छन् ।
२०४८ देखि हालसम्म कम्युनिस्टको गढका रूपमा रहेको यहाँ एमालेको उपस्थिति राम्रो छ । गत २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार बर्तौलाले आफ्ना गुरु मानिएका पूर्वएमालेका विरोध खतिवडालाई हराएका थिए । चौथो पटक यहीँबाट एमालेका उम्मेदवार बनेका विरोध गत निर्वाचनमा पराजित भएपछि आगामी निर्वाचनमा नउठ्ने घोषणा गरे । हाल नेकपामा आबद्ध विरोधको घोषणासँगै पार्टीले यस ठाउँमा नयाँ उम्मेदवार दिएको छ । एमालेका महेश मात्र यहाँका पुरानै उम्मेदवार हुन् । उनी दोस्रो पटक यहाँ चुनाव लड्दै गर्दा कांग्रेस र नेकपाले नयाँ उम्मेदवार पठाएका छन् ।

दोस्रो पटक संसद् छिर्ने दाउमा यस क्षेत्रमा चुनाव लड्दै गरेका बर्तौलालाई आगामी चुनाव सहज भने छैन । बलियो संगठनको भरमा चुनावमा होमिएका उनीविरुद्ध नेकपाका लवशेर विष्ट र कांग्रेसबाट मकवानपुर सभापति बुद्ध लामा उम्मेदवार छन् । एमालेको प्रमुख सचेतक भइसकेका बर्तौलालाई कांग्रेसका लामा र नेकपाका विष्ट बलियो प्रतिस्पर्धी हुन् । जनजातिको बाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई उम्मेदवार बनाएर जातीय मत आकर्षित गर्ने रणनीतिमा छ ।
नेकपाका विष्ट थाहा नगरपालिकाका पूर्वमेयर हुन् । उनले आफ्नो कार्यकालमा गरेका कामको अझै पनि चर्चा हुने गर्दछ । ‘रुदाने’का अनुयायी विष्ट पारदर्शिता र सुशासनको पर्यायका रूपमा आफूलाई उभ्याउन खोजेको बताउँछन् । निर्माण व्यवसायमा आबद्ध रहेका विष्ट मेयर हुँदा सबै कम्पनी बन्द गरेर जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा थाहा नगरपालिकालाई चर्चामा राखे । उनको कार्यकालमा थाहा नगरपालिका बेरुजु फछ्र्योट, कार्यसम्पादन मूल्यांकनमा अब्बल बनेको थियो । विकास निर्माण, सामाजिक रूपान्तरण, शिक्षा तथा स्वास्थ्य, पर्यटन र कृषिमा उनले ल्याएका योजनाको विषयमा अझै यहाँका नागरिकमा गहिरो छाप छोडेका छन् ।
यस निर्वाचन क्षेत्रका मनहरी, कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ । यी पालिकाहरूमा नेकपाका उपाध्यक्ष छन् । कांग्रेसले थाहा नगरपालिकाको उपमेयर, भीमफेदीको उपाध्यक्ष जित्दा नेकपाले थाहा नगरपालिकाको मेयर मात्र पाएको छ । इन्द्रसरोवरको अध्यक्ष, उपाध्यक्ष र भीमफेदीको अध्यक्ष एमालेको छ ।
एमालेका बर्तौलालाई जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाले प्रभाव पार्ने देखिन्छ भने नेकपा र कांग्रेसका उम्मेदवारले मत काट्ने चुनौती कायमै छ । त्यसो त बर्तौला आफैँ यहाँका हरेक नागरिकसँग जोडिने प्रयासले उनीमाथिको चुनौती कम गरेको देखिन्छ । बर्तौलामाथिको अर्को चुनौती हो, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ । मकवानपुर–२ (ख)बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री छन् । बानियाँका विश्वासपात्र हुन्, कांग्रेस उम्मेदवार लामा । बानियाँको चुनावी रणनीतिमा मै हुँ भन्ने खेलाडीसमेत फेल खान्छ भन्ने भनाइ जिल्लामा प्रख्यात छ ।
आफ्नै क्षेत्रमा आफ्नै क्याम्पबाट टिकट पाएका लामालाई जिताउन हरसम्भव अस्त्र प्रयोग गर्ने बानियाँको कदम हुनेछ । उम्मेदवारलाई विश्वासमा लिएर समर्थन गराउन सक्ने खुबी बानियाँमा राम्रो छ भने यस क्षेत्रमा बानियाँले गरेका कामको प्रभाव पनि कांग्रेस उम्मेदवार लामालाई प्राप्त हुने निश्चित छ, जसले बर्तौलामाथिको मत सुरक्षाको जोखिम बढाउने देखिन्छ ।
बालेनका ‘दूत’लाई बालेनकै भर
मकवानपुर–२ मा रास्वपाबाट प्रशान्त उप्रेती उम्मेदवार छन् । उमेरले २५ ननाघेका उप्रेती यस क्षेत्रका लागि पूर्णतः नयाँ उम्मेदवार हुन् । रास्वपाको क्रेजलाई उपयोग गर्न पनि यस क्षेत्रमा उप्रेतीले काम गर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाका निवर्तनमा मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह टिमका एक पात्र उप्रेतीले रास्वपाबाट एकाएक टिकट ल्याएर उम्मेदवार बनेका थिए । यस क्षेत्रमा रास्वपा मकवानपुरका सभापति भरत पराजुली उम्मेदवार बन्ने तयारी थियो । टिकट लिन काठमाडौँ ‘घण्टीघर’को ढोका कुरेर बसेका सभापति पराजुलीलाई पत्तो नदिई बालेनका ‘दूत’ उप्रेतीले टिकट फुत्काएका थिए ।
जिल्ला र केन्द्रमा समेत नदेखिएका उप्रेतीले एकाएक टिकट फुत्काएपछि रास्वपा सभापति पराजुलीसहित नेता कार्यकर्ता चकित बनेका थिए । आईटी फिल्डमा आबद्ध उप्रेती बालेनको ‘किचन क्याबिनेट’ सदस्य रहेको बताइन्छ । सामाजिक सञ्जाल र आईटीका माध्यमबाट बालेनका काममा सारथी बनेका उप्रेतीलाई यहाँको भूगोल र बस्ती तथा अवस्थितिबारे समेत ज्ञान नभएको रास्वपाका नेता/कार्यकर्ता नै बताउँछन् । ग्रामीण परिवेशमा चुनाव लड्न आएका उप्रेतीलाई आगामी चुनावमा जित निकाल्न सहज देखिँदैन ।
सामान्य अवस्थाको संगठनको बलमा यहाँको मत संकलन गर्नु उनको लागि ठुलै परीक्षा हो । यस क्षेत्रमा रास्वपा सभापति रवि लामिछानेको प्रभाव पनि त्यति छैन । बरु रास्वपा नेता विराजभक्त श्रेष्ठले यहाँ केही प्रभाव बनाएका छन् । उप्रेतीका लागि यस क्षेत्रमा चुनाव जित्न प्रविधिको प्रयोग पनि कठिन हुने देखिन्छ । पहाडी विकट क्षेत्र रहेको यहाँ प्रविधिको माध्यमबाट नागरिकको चेतनास्तरमा पुग्न पनि नेटवर्क बाधक बन्ने देखिन्छ । इन्टरनेट सेवा प्रदायकको न्यून उपस्थिति र कमजोर नेटवर्क प्रणालीले गर्दा प्रविधिको प्रयोग उनका लागि चुनौतीपूर्ण हुन्छ । उप्रेतीलाई यस क्षेत्रमा चुनाव जित्न रास्वपाका वरिष्ठ नेता बालेनकै भर हुनेछ । बालेसहित शीर्ष नेतृत्व यस क्षेत्रका अधिक स्थानमा उतारेको खण्डमा उनलाई केही सहजता हुनेछ । एकएक मत संकलन गरेर जित्न सक्ने मत प्राप्त गर्न बालेनको क्रेज हरेक नागरिकको पहुँचमा पुर्याउनु उप्रेतीको प्रमुख जिम्मेवारी हुनेछ ।
गत निर्वाचनमा यस क्षेत्रमा चुनाव लडेका सभापति पराजुलीले १२ हजार बढी मत पाएका थिए । सो मत रास्वपाको संगठित मात्र नभई असन्तुष्ट कांग्रेसीको मत हो । कांग्रेस त्यागेर रास्वपा गएका उनले कांग्रेसभित्रको द्वन्द्वका कारण सो मत पाएका थिए । उक्त मतलाई कायम राख्दै रास्वपाको विवाद मत्थर गरेर चुनावी नतिजाका लागि लाग्नु उप्रेतीका लागि कठिन यात्रा रहनेछ ।
यता यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका प्रवीण कुमार स्याङ्तान उम्मेदवार छन् । विद्युतीकरणको क्रममा कुलमान घिसिङ राक्सिराङमा पटक–पटक आएका छन् । मनहरी, हेटौंडा र कैलाश तथा थाहा नगरपालिकाको विद्युतीकरणको काममा भूमिका खेलेका कुलमानको मत उज्यालो नेपाल पार्टीका स्याङ्तानले प्राप्त गर्नेछन्, जसले ठुला दलसहित रास्वपा उम्मेदवारलाई पनि प्रभावित बनाउने छ ।
यता यस क्षेत्रमा प्रलोपाका सन्तोष विष्ट उम्मेदवार छन् । उनी पनि नयाँ र युवा उम्मेदवार रहेकाले आगामी निर्वाचन निकै रोचक हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण