बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

‘गगन थापाको हस्ताक्षरमा चुनाव लड्दिनँ भन्नु विधि मान्नेको लक्षण होइन’

‘ओली र बालेनको द्वन्द्वले झापा-५ मा कांग्रेसलाई फाइदा हुनसक्छ’

बिहीबार, ०८ माघ २०८२, १८ : २५
बिहीबार, ०८ माघ २०८२

काठमाडौं । गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस हाँकिरहेका बेला केन्द्रीय कार्यालयका मुख्यसचिव थिए शोभाकर पराजुली। सुशील कोइराला सभापति हुँदा पनि उनै मुख्यसचिव थिए । पछि संविधानसभा सदस्य र दलको सचेतक पनि बने। 

दुवै कोइराला सभापति हुँदा निर्वाचनमा टिकट वितरण गर्दाका साक्षी पनि हुन् पराजुली। २०३३ देखि ०३९ सालसम्म बीपी कोइरालाको समीपमा बसेर काम पनि गरे उनले। समूहमा यति इमानदार देखिन्छन् कि ०३३ सालदेखि कोइरालाको समीपमा रहेका उनी ४९ वर्षपछि पनि कोइराला समूहमै छन्। अर्थात् अहिले उनी शेखर कोइरालाको सचिवालयमै बसेर काम गर्छन्। 

उनी सार्वजनिक प्रशासनका विद्यावारिधि हुन्। कांग्रेसका धेरै उतार–चढावका साक्षी डा. पराजुली अहिले पनि टिकट वितरणमा आर्थिक चलखेल भएको, वितरण अपारदर्शी र पूर्वाग्रही रहेको दाबी गर्छन्। कांग्रेसको विशेष महाधिवेशन, चुनावलगायत विषयमा रातोपाटीको ‘वारपार’मा डा. पराजुलीसँग कुराकानी गरेको छ। प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (पूरा अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ) :

कांग्रेसको दोस्रो विशेष महाधिवेशन भइरहँदाखेरि नेपाली कांग्रेस मूलतः तीनवटा समूहमा विभाजित थियो। एउटा शेरबहादुर देउवाजी, जहाँ पूर्णबहादुर खड्काजी पनि हुनुहुन्थ्यो। अर्को शेखर कोइराला समूह र अर्कोचाहिँ गगन थापा समूह। तपाईं कुन समूहमा हुनुहुन्थ्यो?

मूलतः कुनै गुट विशेषलाई प्राथमिकता नदिईकन पार्टीमा पहिल्यैदेखि कार्यरत छु। तथापि, अहिले डाक्टर शेखर कोइरालाको सचिवालयको सहयोगीको रूपमा म कार्यरत छु। म स्पष्ट नै भन्न चाहन्छु।

Shobhakar Parajuli1

शेखर समूहमा बसेर हेर्दा नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई तपाईंले कसरी हेर्नुभयो?

निर्वाचन आयोगले मान्यता दिइसक्यो। सर्वोच्च अदालतले पनि परमादेश जारी गर्न अस्वीकार गर्‍यो। संवैधानिक निकाय र अदालतको निर्णय स्विकार्नुपर्ने नै हुन्छ। अरू चर्चा–परिचर्चाभन्दा पनि चुनाव सुरु भइसकेको छ। अब चुनावलाई नै ध्यान केन्द्रित गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्नुपर्छ भन्ने लागिरहेको छ।

शेखर समूहलाई त विशेष महाधिवेशनको समयमा ‘पल्टुराम समूह’ भनेर आरोप लाग्यो नि?

सबैलाई समन्वय गरेर, सबैको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्दछ भन्ने जुन मध्यमार्गको धार हो, त्यो मध्यमार्गको धारमा बस्दा कहिलेकाहीँ उग्रवादीहरूको आलोचनामा पर्ने, कहिले यथास्थितिवादीहरूको आलोचनामा पर्ने हुँदा त्यस्तो देखिएको हो। वैचारिक रूपमा सामञ्जस्य मिलाउने, सहअस्तित्व स्वीकार गर्ने, विधिको शासनलाई फलो गर्ने, गुट–उपगुटलाई न्यूनीकरण गर्नुपर्दछ भन्ने सदाशयता अथवा त्यहीअनुसारको क्रियाकलाप अगाडि बढाउँदा आलोचकहरूले विभिन्न नामले बोलाउने गर्दछन्।

शेखर कोइराला किन यति धेरै अस्थिर हुनुभयो भन्ने प्रश्न पनि उठ्यो। र, उहाँका गतिविधि हेर्दा त्यस्तो देखियो पनि। उहाँ अस्थिर नेता नै हो?

उहाँ समस्याको समुचित समाधान होस् भन्ने चाहना राख्नुहुन्छ।

दुईजना तत्कालीन महामन्त्रीहरू, सभापति शेरबहादुर देउवासँगै हुनुहुन्थ्यो। तर शेखरले १७–१८ गते नै अब सरकारको औचित्य सिद्धियो, यो सरकारबाट नेपाली कांग्रेस फिर्ता हुनुपर्दछ, यो सरकारको आयु पनि धेरै छैन भनेर भविष्यवाणीसमेत गर्नुभएको थियो। त्यसकारणले उहाँ दूरदर्शी नेता पनि हो। उहाँ समस्या समाधान भइदिए हुन्थ्यो भन्ने सोचको नेता पनि हो। उहाँमा चाटुकारिता र वाक्पटुता चाहिँ छैन। मनमा जे छ त्यो कुरालाई क्लियर गर्दिनुहुन्छ।

विशेष महाधिवेशनलाई जुन शब्दावली प्रयोग गरेर गाली गर्नुभयो, त्यही महाधिवेशनबाट बनेको सभापतिको हस्ताक्षर भएको टिकट लिएर निर्वाचन लड्नु शेखर कोइराला राजनीतिक रूपमा कति नैतिक देखिनुभयो त?

निर्णय भइसकेपछि त्यसलाई मानेर जानुचाहिँ नैतिकताभित्र नै पर्दछ। पार्टी सभापति भनेर सम्पूर्ण रूपमा विधिले मानिसकेपछि त्यो गगन थापाको हस्ताक्षरमा चुनाव लडेको होइन, पार्टी सभापतिको हस्ताक्षरमा चुनाव लडेको हो।

यसको मतलब पूर्णबहादुर खड्काले चाहिँ विधि नमानेको भन्ने हो त? उहाँले लड्दिनँ भन्नुभयो।

उहाँको कुराचाहिँ उहाँलाई नै सोध्नु उपयुक्त हुन्छ। तर, गगनकुमार थापाको हस्ताक्षरमा चुनाव लड्दिनँ भन्ने विषयचाहिँ स्वाभाविक हो जस्तो मलाई लाग्दैन। वैधानिक हो जस्तो लाग्दैन। जब नियम–कानुन पालन गर्छु भन्ने मान्छेले गर्ने कुरा हो जस्तो लाग्दैन।

अहिलेको निर्वाचनमा टिकट वितरण कस्तो लाग्यो तपाईंलाई?

टिकट वितरण एकपक्षीय रूपमा भयो। विशेष महाधिवेशनको मान्यता प्राप्तिपछि अलिकति एकपक्षीय ढङ्गले बाँडियो। बारा जिल्लाकै हकमा सहमहामन्त्री फरमुल्लाह मन्सुरले आफू र आफूपक्षकै साथीहरूलाई टिकट दिलाउनुभयो।

यसपटक पैसा नतिरी टिकट पाइयो भनेको मात्र सुनिन्छ त?

जबसम्म नेपाली कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुहुन्थ्यो, उहाँको समयमा म पार्टीको मुख्य सचिव पनि, सचेतक पनि थिएँ। दुईवटा चुनावको समयमा त केन्द्रीय कार्यालयमा म नै थिएँ।

Shobhakar Parajuli2

मुख्य सचिव भएकोले टिकट वितरण गर्ने काममा प्रमुख कार्यकारी अधिकृतको हैसियतबाट मैले नै टिकट वितरण गरेँ। त्यहाँ एक पैसाको पनि चलखेल, तल–माथि थिएन। ५६ र ६४ को चुनावमा एक पैसा चलखेल भएन। म ग्यारेन्टीका साथ भन्न सक्छु। अब त्यस यताको कुरा नगरौँ।

टिकट वितरणमा यसपटक आर्थिक चलखेल भयो कि भएन त?

टिकट वितरणमा पूर्वाग्रह राखेको देखियो।

आर्थिक रूपमा पनि चलखेल देखियो?

त्यो देखियो। केही जिल्लाहरूको हकमा हेर्दाखेरि अलिअलि, थोरै–थोरै। अहिलेको वितरण पनि अछुतो छैन।

निर्वाचन परिणामको बारेमा केही आँकलन गर्न सकिन्छ?

‘रुख चिह्न कहाँ छ’ भनेर खोजेर मत दिने मौन मतदाताहरूको सङ्ख्या अत्यधिक छ। त्यसकारणले नेपाली कांग्रेस पहिलो पार्टीकै रूपमा स्थापित हुन्छ भन्ने नै मलाई लाग्दछ। पूर्ण बहुमत आउन नसक्ला।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले नेपाली कांग्रेसलाई कत्तिको झड्का दिएको छ?

राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा अहिले बजारमा छ। त्यसकारणले नेपाली कांग्रेस मात्रै होइन, एमाले र अन्य राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि उसले आकर्षित गरेको छ।

अहिले एउटा बहस चलेको छ कि नागरिक सरकार भनियो। एक मात्र म्यान्डेट चुनाव गराउने भनियो। तर त्यहाँबाट फुत्तफुत्त मन्त्रीहरू निस्किएर निर्वाचन लड्न थाले। यसमा तपाईंको केही प्रतिक्रिया छ?

अहिलेका समाज कल्याण मन्त्री श्रद्धाजीले नै मन्त्रीहरूले आफ्नो दायित्व पूरा गरेनन् भनेर भन्नुभएको छ। तर पनि यो वैयक्तिक स्वतन्त्रताको विषय हो। म स्वतन्त्रताको पक्षधर भएकाले त्यो स्वतन्त्रताको उपयोग गरेको कुरालाई मैले खासै आपत्ति भने मान्दिनँ।

कुनै पनि निकायमा निश्चित अवधिका लागि निर्वाचित भएर जान्छ। तर बिचैमा त्यो पद छाडेर अर्कै पदमा निर्वाचन लड्छ। यसलाई चाहिँ के भन्ने नि?

त्यो उपयुक्त होइन।

यसमा व्यक्तिभन्दा पनि दल दोषी होला नि त?

दलहरूले यस्तो अविवेकी, अनैतिक काम गर्नुहुन्थेन। यदि कुनै दिन म निर्णय गर्ने ठाउँमा पुगेँ भने यस्तो निर्णय गर्दिनँ। गर्न दिन्नँ।

पूर्वसभापति शेरबहादुर देउवा चुनाव किन लड्नुभएन? टिकट नदिएर कि?

त्यो मलाई अहिलेसम्म थाहा छैन। किनभने टिकट नदिएको जस्तो पनि लाग्छ, नलडेको जस्तो पनि लाग्छ।

यसले कांग्रेसलाई निर्वाचनमा घाटा पुर्‍याउँछ कि पुर्‍याउँदैन?

उहाँले अब अभिभावकको रूपमा बस्छु भनेर भनेको भए ठिकै हो। अनि उहाँले लड्ने चाहना गरेर टिकट नदिएको भए त्यो पनि ठिक होइन।

झापा–५ मा केपी ओली र बालेनमध्ये कसले जित्लान् ?

उहाँहरूको द्वन्द्वमा नेपाली कांग्रेसको उम्मेदवार आउन सक्छ कि भन्ने आशा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप