बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

शनिबार, १० माघ २०८२, ०३ : ४८
शनिबार, १० माघ २०८२

सारांश

  • बाँकेका दुर्गम स्थानहरूमा कुष्ठरोगीहरूको पहिचान भइरहेको छ।
  • अस्पतालका अनुसार, आर्थिक वर्षको छ महिनामा ८६ नयाँ कुष्ठरोगी फेला परेका छन्।
  • मधेसी समुदायमा यो रोगको प्रभाव बढी देखिएको छ।

नेपालगन्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ । चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ ।

साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा शुक्रबार यहाँ पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिए । त्यस बाहेक थारु समुदायमा पनि कुष्ठ रोगका बिरामी देखिएका छन् ।

“बाँकेमा कुष्ठरोगको प्रभाव दर उच्च रहेकाले यसको न्यूनीकरण सबैको साझा प्रयासमा मात्र सम्भव रहेको छ,” प्रमुख थारुले भने ।

बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच पाँच, अछामका तीन, दैलेखका दुई, दाङ, प्युठान, रोल्पा र सल्यानका एकएक जना र भारतीय १४ जना कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । गत वर्ष १७४ जना नयाँ कुष्ठरोगी भेटिएकोमा बाँकेका मात्र ९३ जना थिए ।

२४ शय्याको सो अस्पतालले त्यस अवधिमा नौ हजार ८३१ जनालाई वहिरङ्ग सेवासमेत प्रदान गरेको जनाएको छ । त्यसैगरी स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि अन्य प्रयोगशालाबाट १० हजार ७९५ जनाको परीक्षण गरिएको छ भने ७०४ जनाको स्नायुको कार्यक्षमता जाँच गरिएको छ । यो जाँच अपाङता शीघ्र पहिचान तथा रोकथामका लागि गर्ने गरिन्छ । त्यसैगरी अपाङगताबाट नै जोगाउन ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ ।

नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । तर, बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएको छ । आइतबार कुष्ठरोग दिवस मनाइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप